रुकुम । रुकुममा सडक निर्माणमा खटिएका मजदूरको बीमा गरिएको छ । पश्चिम रुकुमको बाँफीकोट गाउँपालिकाका सडक, खानेपानीलगायत सातओटा योजनामा काम गर्ने १४० मजदूरको सामूहिक दुर्घटना बीमा गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी)ले मजदूरको बीमाबापत १ लाख १० हजार ७ सय ४२ रुपैयाँ तिरिदिएको छ ।
एनसीसीएसपीको आर्थिक सहयोगमा बाँफीकोट गाउँपालिकाका २, ३ र १० नं वडामा खानेपानी आयोजना निर्माणाधीन छ । यस्तै ७, ८ र ९ नं वडामा सिँचाइ र ५ नं वडामा सडक निर्माणको काम भइरहेको छ । ढुंगा–माटोको काम गर्दा चोटपटक लाग्न सक्ने भएकाले त्यसको उपचार रक्षतिपूर्तिको समेत व्यवस्था गरिएको छ ।
जोखिमपूर्ण रूपमा काम गर्नुपर्ने आफूहरू बीमाबाट लाभान्वित हुने बाँफीकोट गाउँपालिका–२, दयाडाँडाका ३५ वर्षीय हर्कबहादुर नेपाली बताए । ‘काम गर्दै यत्रो उमेर भइसक्यो,’ उनले भने, ‘दुर्घटना बीमाले बल्ल ढुक्क भएर काम गर्ने दिन आए ।’ यसले योजनामा काम गर्दासम्म निश्चिन्त हुने अवस्था बनेको उनको भनाइ छ ।
दुर्घटना बीमामार्फत सुरक्षा तथा क्षतिपूर्तिको व्यवस्था भएको पहिलोपटक थाहा पाएको नेपालीले बताए । कामदारको सुरक्षाका लागि हरेक योजनामा यस्तो बीमा गराउनुपर्ने उनको भनाइ छ । दुर्घटना बीमासहित काम गर्दा मजदूरहरू उत्साहित भएर काम गर्ने नेटापोखरा–काँडा सडक मर्मत तथा सुधार उपभोक्ता समितिका अध्यक्ष नवराज केसीले बताए ।
काम गर्ने क्रममा दुर्घटना भएर चोटपटक लागेमा चोटको प्रकृतिअनुसार १ लाखसम्म उपचार खर्च र कामकै क्रममा मृत्यु भएमा आश्रित परिवारले १० लाख भुक्तानी पाउनेगरी कामदारको बीमा गराइएको एनसीसीएसपीका कार्यक्रम संयोजक भक्त भण्डारीले बताए । ‘काम गर्ने क्रममा मजदूरलाई चोटपटक लाग्न सक्छ, त्यसको जोखिम कम गर्न दुर्घटना बीमा गरिएको हो,’ उनले भने, ‘योजनाको काम नसकिँदासम्म उक्त बीमा लागू हुनेछ ।’
योजनामा काम गर्ने सबै मजदूरको सुरक्षामा समेत ध्यान दिइएको संयोजक भण्डारीले बताए । मजदूरलाई हेल्मेट, गमबुट, पन्जालगायत विभिन्न सुरक्षा सामग्री प्रयोग गर्न लगाइएको उनको भनाइ छ ।