ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालबालिकामा पेट दुख्ने समस्या बढिरहेको छ

May 10, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
पेट दुख्ने समस्या धेरै बालबालिका (विशेषगरी ३ देखि १५ वर्ष उमेर समूहका)मा देखिने ठूलो समस्या हो । पेट दुख्ने र झाडापखाला लागिरहने समस्या आम बालबालिकामा देखिने गरेको छ । बालबालिकामा पेट दुखिरहने र दैनिक तीन पटकभन्दा बढी दिसा लाग्ने समस्या देखियो भने यसलाई गम्भीर रूपमा लिनुपर्दछ । यस्तो समस्या लामो समयसम्म अर्थात् ३ महीनासम्म पनि लगातार देखियो र बिरामीको दैनिक क्रियाकलापमा समेत त्यसले प्रभाव पा¥यो भने बालरोग विशेषज्ञ वा बालबालिकाको पेटरोग विशेषज्ञद्वारा केही निश्चित तर विस्तृत जाँच गराउनुपर्ने डा. विनीता जोशी बताउँछिन् । डा. जोशी पेडियाट्रिक ग्यास्ट्रोलोजिस्ट गर्ने पहिलो चिकित्सक पनि हुन् । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर आर्थिक अभियानका पूर्णभक्त दुवालले उनीसँग गरेको कुराकानीको सार : बालबालिकालाई किन पेट दुख्छ ? बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । बच्चाहरूलाई कहिले कब्जियत भएर हैरानी हुन्छ त, कहिले झाडापखालाले दुःख दिन्छ । पेट कहिले ढुस्स हुन्छ भने कहिले पातलो दिसा हुने गर्छ । खासमा खराब तथा गलत खानपानका कारण बालबालिकालाई पेटको समस्या हुने गर्छ । आन्द्राको समस्या, गहुँको एलर्जी, संक्रमण, ग्यास्ट्राइटिस, एम्पेडिसाइटलगायत कारण उनीहरूको पेट दुख्छ । पेटका साथै मिर्गौला तथा पित्तथैलीमा हुने संक्रमण र कान वा छातीको समस्याले पनि पेट दुख्ने गर्छ । कहिलेकाहीँ पेटसम्बन्धी अन्य समस्या पनि यही दुखाइको कारण हुन सक्छ । यस्तै मांसपेशीको दुखाइ, तनाव तथा माइग्रेनका कारण पनि पेट दुख्ने गर्छ । पाचनसम्बन्धी समस्याले पनि पेट दुख्छ, होइन र ? कोची–कोची खाने बानीका कारण बालबालिकालाई कहिलेकाहीँ अपच हुन्छ र पेट दुख्ने गर्छ । कुनै खानेकुरा बालबालिकाका लागि उपयुक्त हुँदैन । त्यसले पनि पेट दुख्ने हुन्छ । कतिलाई गहुँको एलर्जी हुने गर्छ । गहुँबाट उत्पादन हुने खाना पचाउन नसक्दा पनि पेट दुख्छ । जे पायो त्यही खानेकुरा खाँदा फुड पोइजनिङको समस्या निम्तने गर्छ । यस्तो अवस्थामा आमाबुबाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सरसफाइ र खानामा राम्ररी ध्यान नदिँदा पेट दुख्ने गर्छ । खानपानमा विशेष ध्यान दिन सकिएन भने उनीहरू रोगको शिकार हुन बेर लाग्दैन । त्यसैले बालबालिकाको हेरचाहमा चनाखो हुनुपर्छ । उनीहरूको हरेक क्रियाकलापमा ध्यान दिनु्र आवश्यक छ । बच्चालाई पेट दुखेको थाहा पाएपछि के गर्नुपर्छ ? पेट दुखेको थाहा हुनेबित्तिकै खानामा ध्यान पुर्‍याउनुपर्छ । काँचो र ठोस कुरा खुवाउनु हुँदैन । यसले पाचनशक्ति झन् कमजोर बनाइदिन्छ । दुखाइ कम गर्न नूनचिनी पानी खुवाउन सकिन्छ । स्तनपान गर्ने बालबालिकालाई भने दूध चुसाइरहनुपर्छ । दूधबाट बच्चालाई ब्याक्टेरिया वा भाइरससँग लड्ने शक्ति मिल्छ । छिटोभन्दा छिटो चिकित्सकसँग परामर्श गर्नुपर्छ । बच्चालाई ग्यास्ट्राइटिस किन र कसरी हुन्छ ? शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्राइटिस भनिन्छ । बोलीचालीमा यसलाई ग्यास्ट्रिक भनिन्छ । ठूला मान्छेमा हुने र ८–९ वर्षदेखिका बच्चाहरूमा हुने ग्यास्ट्राइटिस एउटै हो । तर भर्खरै जन्मेको बच्चादेखि २ वर्षसम्मको बच्चालाई भने पेटसम्बन्धी ग्यास्ट्राइटिस हुँदैन । उनीहरूलाई इसोफेजाइटिस हुन्छ । खाना खाने नली र पेटको भागमा भएको मसल्स लुज भएर त्यसको टोन कम भयो भने इसेफेजाइटिस हुन्छ । ग्यास्ट्राइटिस एच प्योलोरी भन्ने कीटाणुका कारण हुन्छ । ठूला मानिसहरूलाई पनि यही कीटाणुको कारण ग्यास्ट्राइटिस हुने हो । यो कीटाणुको संक्रमण बाल्यावस्थादेखि नै हुन्छ । जब बच्चाहरू बाहिरी खानेकुरातर्फ आकर्षित हुँदै जान्छन्, तब यसको संक्रमण झनै बढ्न थाल्छ । कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि ७–८ वर्ष नाघेपछि मात्रै यसका लक्षण देखापर्छन् । यसका लक्षण के के हुन् त ? – वाकवाकी लाग्ने – बिहान र साँझ पेट दुख्ने – खाना खाएपछि कसैलाई धेरै पेट दुख्ने – खाना खाएपछि कसैलाई कम हुने – लक्षण बढिसकेपछि अल्सर बढ्ने – दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने यसका साथै पेट पोल्ने र अमिलो डकार आउने जस्ता लक्षण पनि देखापर्छन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ । कतिपय अभिभावकमा बच्चाले अमिलो, चिल्लो/पिरो खानेकुरा खाँदैमा एसिडिटी हुन्छ भन्ने सोच छ । यो एकदमै गलत धारणा हो । अमिलो, चिल्लो/पिरो खाँदैमा एसिडिटी हुँदैन । त्यसले लक्षणलाई बढावा दिने मात्रै हो । कसैलाई कीटाणुले संक्रमण गरे पनि लक्षण देखापर्दैन । त्यसका लागि इन्डोस्कोपी गरेर हेर्नुपर्छ । बच्चाको इन्डोस्कोपी भन्नेबित्तिकै आमाबुबा हिचकिचाउँछन् । बच्चाको इन्डोस्कोपी गर्न डराउने अभिभावकलाई एसिडिटी कम गर्ने औषधि दिइन्छ । औषधिले सुधार भएन भने इन्डोस्कोपी गर्न ढिला गर्नुहुँदैन । एसिडिटी भएपछि खाना बार्नुपर्छ र ? धेरै अभिभावकले बच्चालाई एसिडिटी भयो भन्नेबित्तिकै खानेकुरा बार्न थाल्छन् । घरमा सामान्य तेलबाट बनाएको अन्डा, माछामासु र अन्य खानेकुरा बार्नुपर्दैन । धेरैले दूध पनि खुवाउँदैनन् । तर खुवाउँदा फरक पर्दैन । चिल्लो, प्रोटिन र कार्बोहाइड्रेटयुक्त खानेकुरा बार्नुपर्दैन । खाना बार्नेबित्तिकै बच्चाको तौल स्वतः घट्दै जान्छ । यसले झनै समस्या निम्तिन्छ । कतिपय बालबालिका ७–८ घण्टाको अन्तरमा पनि केही नखाई बस्छन् । बालबालिकाले खानेकुरामा पनि निकै ध्यान दिनुपर्छ । समय–समयमा खानेकुरा खाइरहनुपर्छ । भोको पेट बस्नुहँदैन । व्यवस्थित खानपान भयो भने यस्ता समस्या दोहोरिने सम्भावना निकै कम हुन्छ । पेट दुखाइ खासगरी कति किसिमका हुन्छन् ? बालबालिकाको पेट दुख्ने समस्यालाई मुख्यतया दुई वर्गमा विभाजित गर्न सकिन्छ । ती हुन्– रोगीको शरीरको जैविक (शरीरमै खराबी, जस्तै– शारीरिक वा मानसिक विकृति) र शरीरको कुनै निश्चित अंगमा खराबी भएर हुन सक्ने कार्यात्मक गडबडी । हाम्रो जस्तो विकासशील वा अल्प विकसित देशका बालबालिका तिनको शरीरको जैविक क्षमतामै समस्या भई पेट दुख्ने कारण पीडित हुने गरेको पाइन्छ । पेट दुख्ने कारण के के छन् ? हानिकारक जीवाणुको संक्रमणका कारण पेट दुख्ने जटिल समस्या आइपर्ने हुन्छ । हाम्राजस्तो मुलुकमा वातावरणीय प्रदूषण लगायत संक्रमित वा कम गुणस्तरको पिउने पानीका कारण समेत जीवाणुको संक्रमण व्यापक रूपमा पाइन्छ । हाम्रो परिप्रेक्ष्यमा भन्नुपर्दा ‘जियार्डिया लाम्बिया’ नामक जीवाणु (जुन मानिसको आन्द्रामा अत्यधिक फैलिने सूक्ष्म परजीवी हो)ले वयस्कका साथ साथै बालबालिकालाई समस्यामा पारिरहेको हुन्छ । धेरैजसो बालबालिकाको आन्द्रामा ती सूक्ष्म जीवाणुको संक्रमण रहेको लक्षण नै नदेखिने भए तापनि त्यसखाले जीवाणुको आन्द्रामा हुने वृद्धि (वा अन्डाबाट लार्भामा परिणत हुने चरण)का कारण संक्रमणका थप जटिलता आइपर्न सक्छन् । संक्रमणका कारण पेट दुख्नुका अतिरिक्त बालबालिकालाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने र वान्ता पनि हुने, पेट फुल्ने, रक्तअल्पता हुने र शारीरिक तौल घट्ने जस्ता समस्या पनि आइपर्न सक्छन् । बालबालिकालाई किन कब्जियत हुन्छ ? हाम्रो परिप्रेक्ष्यमा बालबालिकाको पेट दुख्ने समस्या उनीहरूको स्कूले अवस्थामा बढी मात्रामा पाइएको छ । त्यसको प्रमुख कारण भनेको दिसा समयमा नहुने समस्या हो । त्यसतर्फ अभिभावकहरू त्यति चनाखो नहुनु र ती सानातिना समस्या हुन् भनी बेवास्ता गरिनु हो । यी सब हुनुका पछाडि बालबालिकाले दिसा गर्दा पेट खलास पार्नेतर्फ ध्यान नदिनु÷नचाहनु वा तिनले तिनका स्कूलमा भएका चर्पीको प्रयोग गर्न नचाहनु पनि हो । त्यसप्रकार बालबालिकाको दिसा गर्ने बानी व्यवहारमा अपेक्षाकृत नकारात्मक प्रभाव पर्न थाल्दछ, जुन तिनका अभिभावकलाई भनिएको हुँदैन । बालबालिकाको दिसा गर्ने बानीप्रति अधिकांश अभिभावक अनभिज्ञ हुन्छन्, जसकारण उनीहरूका बच्चालाई कब्जियत हुन्छ । यसको समाधानका लागि के गर्नुपर्छ त ? बालबालिकाको पेट दुख्ने समस्याको निदान तथा उपचारका लागि विभिन्न जाँचपड्ताल अर्थात् प्रयोगशाला परीक्षण गराउनुपर्ने झन्झट आइपर्छ, जब कि त्यसखाले साना–तिना समस्या बालबालिकामा विद्यमान सामान्य आनीबानीमा सुधार ल्याएर र साधारण औषधिको प्रयोगबाटै ठीक गर्न सकिन्छ । यस्ता केही औषधिले दिसा नरम पारी सजिलै पेट खलास पार्ने हुँदा पेट दुख्ने समस्या पनि कम भएर जान सक्छ । साथै बालबालिकालाई उचित तरीकाबाट चर्पीको प्रयोग गर्ने सम्बन्धमा दिइने सामान्य तालीमले समस्या न्यूनीकरणमा मद्दत पुग्छ । संक्रमण हुन नदिन के गर्ने त ? जीवाणुका संक्रमण सामान्यतया वातावरणीय स्वच्छता दिनुपर्छ । सरसफाइ एवम् शारीरिक सरसफाइमा ध्यान दिनुपर्छ । खाना खानुअघि र दिसा गरेपछि नियमित रूपमा साबुनपानीले हात धुने, सफा र स्वस्थकर खाना मात्र खाने बानी गर्नुपर्छ । बजारका तरकारी वा फलपूmलहरू अत्यन्तै सावधानीपूर्वक राम्रोसँग पखालेर मात्र खाने बानी गर्दा कम भएर जाने निश्चित हुन्छ । संक्रमण निर्मूल पार्न उचित औषधिको उचित मात्रा अनिवार्य रूपमा सेवन गर्नुपर्ने हुन्छ । पेट दुख्नुका अन्य कारण के–के हुन् ? बालबालिकामा अत्यधिक रूपमा हुने पेट दुखाइको अर्को कारण तिनको पेट अर्थात् आन्द्रामा हुने हेलिको ब्याक्टेरियाको संक्रमण हो । यस्ता ब्याक्टेरियाको संक्रमणले कुनै कुनै बालबालिकाको पेट/आन्द्रामा घाउ (अल्सर) हुने र रक्तश्राव हुने जोखिम समेत आइपर्न सक्छ । कहिलेकाहीँ पेट दुखाइ यति असह्य हुन्छ कि, बच्चा राति निद्राबाट ब्यूँझिन्छ र रोइकराइ समेत गर्न सक्छ । बच्चाको पेट दुखाइको कारण त्यस्तो ब्याक्टेरिया हो/होइन भन्ने परीक्षण कसरी गर्ने त ? बालबालिकामा एच पाइलोरी नामक ब्याक्टेरिया रहे/नरहेको यकिन गर्न उनीहरूको पेटको इन्डोस्कोपी र बायोप्सी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । कोही कोही अभिभावकहरू आफ्नो बालबालिकाको इन्डोस्कोपी गराउन डराउने वा त्यो प्रक्रिया गर्न नचाहने पनि हुन्छन् । तर यो प्रक्रिया वयस्क बिरामीमा झैं बाल–बालिकामा पनि सरल र सुरक्षित नै हुन्छ । यदि बायोप्सी परीक्षणमा एच पाइलोरी संक्रमण भएको निश्चित भएमा बिरामीलाई निश्चित डोजमा एन्टिबायोटिक्स खुवाएर संक्रमणको उपचार गर्नुपर्ने हुन्छ । यसबाहेक बालबालिकालाई हुने पेट दुखाइका कारण के के छन् ? बालबालिकाको पेट दुख्ने अन्य कारणमा मूत्र प्रणालीमा हुने संक्रमण, अग्नाशयको सुजन (प्यान्क्रियाटाइटिस), गहुँको एलर्जी, पित्तथैलीको संक्रमण वा समस्या, पेटको दीर्घकालीन रोग (आईवीडी), ल्याक्टोज एलर्जी र पेट तथा आन्द्राका क्षयरोग आदि हुन सक्छन् । बच्चाको पेट दुख्ने अन्य कारण पनि छन् कि ? भर्खरै जन्मेका बालबालिकामा कहिलेकाहीँ गाईभैंसीको दूधको प्रोटिनले एलर्जी हुन सक्छ । बच्चालाई गाईभैंसीको दूध खुवाएमा वा आमाले गाईभैंसीको दूध खाएमा पनि यो समस्या भएको पाइन्छ । आमाले डेरीको दूध खाँदा समेत यो समस्या देखिन सक्छ । यो अवस्थामा बच्चालाई दिसा लाग्ने र रगत देखिने हुन्छ । डाइरियाले गर्दा हुने पेट दुखाइबारे पनि बताइदिनुहुन्छ कि ? भाइरल डाइरिया बालबालिकामा सबैभन्दा बढी देखिने समस्या हो । बालबालिकामा रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले पनि यसको संक्रमणले बढी आक्रमण गर्छ । प्रदूषित वातावरण, फोहोर पानी, सागसब्जी र फलफूल पखालेको दूषित पानी, रोटा भाइरसलगायत कारण यसको संक्रमण बढ्ने गर्छ । झिँगामार्फत पनि यो भाइरस सर्न सक्छ । रोटा भाइरस दिसा–पिसाबसँगै अन्य फोहोरमा रहने कीटाणु हो । पछिल्लो समय नेपालमा रोटा भाइरसको भ्याक्सिन पनि पाइन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)