रुकुम । चौरजहारी नगरपालिकाले खरीद गरी ल्याएका नगरबस कार्यालयमै थन्किएका छन् । नगरवासीलाई सुलभ दरमा सेवा प्रदान गर्ने उद्देश्यले खरीद गरेका तीनओटा नगरबस दुई महीनादेखि चौरजहारी नगरपालिकाको कार्यालयमा थन्किएको स्थानीयले गुनासो गरेका छन् । चौरजहारी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा कुँवरले ड्राइभर नभएपछि बस चलाउन ढिलाइ भएको बताइन् । ‘नगर बस चालकका लागि एसएलसी पासको प्रमाणपत्र र लाइसेन्स अनिवार्य गराएकोमा त्यस्तो चालक भेटिएको छैन,’ उनले भनिन्, ‘पुनः आवेदन खुल्ला गरेको र छिटै नगरबस सञ्चालन गरिनेछ ।’
यो पटक एसएलसी पासलाई अनिवार्य नबनाइएको उनले बताइन् । ‘लाइसेन्स भएका चालकलाई प्रयोगात्मक परीक्षामार्फत नियुक्ति गरिनेछ,’ उनले भनिन् । नगरपालिकाले गत फागुनमा रू. ९४ लाख १५ हजार रुपैयाँको लागतमा ३ ओटा नगरबस खरीद गरेको थियो । नगरपालिका क्षेत्रभित्रका चौरजहारी–खोलागाउँ–नुवाकोट रुटमा बस सेवा सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ । अबको एक हप्ताभित्र चालक नियुक्ति र भाडादर कायम लगायतका सबै काम सकेर सेवा शुरू गरिने नगरको भनाइ छ ।