बालबालिकाको श्वास फेर्ने नली सुन्निएर साँघुरो भई श्वासप्रश्वासमा अवरोध हुनु दम हो । बुढेसकालको प्रमुख रोगका रूपमा रहेको दम बालबालिकामा पनि देखिन सक्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । खासमा दम वंशाणुगत रोग हो । वंशाणुगत यो रोगले तब दुःख दिन्छ जब वातावरण प्रतिकूल हुन्छ । बालबालिकालाई दम बढ्दा आमाबुबा बढी चिन्तित हुने गर्छन् । आमाबुबाको यही चिन्तालाई कम गर्न आर्थिक अभियान दैनिकका पूर्णभक्त दुवालले डा. अमृत घिमिरेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, भारतको गंगाराम अस्पतालबाट पेडियाटिक पल्मोनोलोजीमा फेलोसिप गरेका डा.घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :साना बच्चालाई पनि दम हुन्छ र ?
ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखापर्छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नभई दम पनि हुन सक्छ । नेपालमा बालदमले समस्या पैदा गरिरहेको छ । धेरैजसो बालदम उमेर अनुसार कम हुँदै जान्छ । सामान्यतया बालदम १ देखि २ वर्षको उमेरमा शुरू हुन्छ । बच्चामा लागेको दम वयस्क हुँदासम्म कम भइसकेको हुन्छ भने केहीमा भने बाँकी हुन्छ ।
बच्चालाई दम किन हुन्छ ?
दम भनेको वंशाणुगत रोग हो । प्रदूषित वातावरणको सम्पर्कमा आएपछि यसले दुःख दिने गर्छ । खासमा जब एलर्जी हुन्छ तब दमले सताउन थाल्छ । यद्यपि आत्तिहाल्नु भने पर्दैन । यो खासै ठूलो समस्या होइन ।
दम हुँदा के हुन्छ ?
दमले खासगरी राति र बिहान दुःख दिन्छ । त्यस बेला श्वास नली साँघुरो हुन्छ । दौडिँदा, व्यायाम गर्दा खोकी लाग्ने हुन्छ । रुँदा र हाँस्दा पनि गाह्रो हुन्छ । दम भएको र एलर्जी भएकोले नाक चलाइराख्छ । दम भएको बच्चालाई नाकको एलर्जी हुन्छ । प्रायजसो दम भएका बालबालिकामा बल्झिरहने लामो खोकी वा स्या–स्या वा श्वास फुल्ने समस्या हुन्छ ।
बालदमका कारण केके हुन् ?
बालबालिकामा दम देखिनुको प्रमुख कारण वंशाणुगत नै हो । दमले दुःख दिने तत्त्व भने वातावरण प्रदूषण हो । यसैगरी जंकफुड, केमिकलयुक्त वस्तुको अत्यधिक प्रयोग र व्यक्तिगत सरसफाइको कमीले पनि दमलाई प्रश्रय दिइरहेको हुन्छ ।
यसको रोकथामका लागि के गर्नुपर्छ ?
बालबालिकालाई प्रदूषणबाट टाढा राख्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा जंकफुड खान नदिने, धूलोधूँवाबाट टाढा राख्नुपर्छ । ढुसी र परेको ठाउँमा बच्चालाई राख्नु हुँदैन । साङ्गला हुनु हुँदैन । चुरोटको गन्धले पनि खराब गर्ने भएकाले परिवारले धूम्रपान त्याग्नुपर्छ । धूम्रपानको धूँवा सेवनकर्ताको लुगामा हुने भएकाले ५–६ घण्टापछि पनि बच्चालाई असर गर्छ । व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । कोठामा कार्पेट, राडी, कम्मलजस्ता वस्तु राख्नाले त्यसले धूलो टिप्ने तथा बालस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुन्छ । घरपालुवा पशुपक्षीबाट पनि टाढा राख्नुपर्छ ।
दम भएपछि के गर्नुपर्छ ?
दम भनेको सामान्य एलर्जीको प्रभाव हो । दमले सताउँदा इन्हेलरको प्रयोग गरी उपचार गर्नुपर्ने हुन्छ । यो प्रभावकारी पनि हुन्छ । एन्टिबायोटिकको प्रयोग कमै मात्रामा गर्नुपर्छ । उमेर बढ्दै गएपछि भने औषधि कम मात्र प्रयोग गरे पुग्छ । सानो उमेरमा रुघा लागिरहन्छ । धूलो धूँवाको प्रभावले एलर्जी पनि भइ नै रहन्छ ।
बच्चालाई दम भयो भनेर आमाबुबाले कसरी थाहा पाउने ?
बच्चाहरूलाई कहिलेकाहीँ रुघाखोकी लाग्नु वा उनीहरूमा कफ जम्नु सामान्य हो । खासगरी सानै उमेरमा शिशु कक्षा वा स्कूल पठाउन थाल्दा वा मौसम परिवर्तन हुँदा ५ वर्षमुनिका बच्चालाई बेलाबेला खोकी लाग्न सक्छ । यसलाई सामान्य रूपमा नै लिनुपर्छ । तर, बारम्बार खोकी लागिरहन्छ भने त्यसको एउटा कारण दम भएको हुनसक्छ ।
बच्चाले रातिराति र बिहान पख खोक्छ भने दम हो कि भनेर शंका गर्नुपर्ने हुन्छ । दम भएको बच्चाले हाँस्दा र रुँदा पनि खोक्ने गर्छ । शारीरिक व्यायाम गर्दा पनि खोक्ने गर्छ । श्वास फेर्न गाह्रो मान्ने गर्छ । दम भएको बच्चालाई पटकपटक भाइरल संक्रमण पनि हुने गर्छ ।
दमको उपचार कसरी गरिन्छ ?
औषधि सीधै फोक्सोमा जाने गरी इन्हेलर दिनुपर्छ । यसले तुरुन्तै सजिलो बनाउँछ । यो औषधि प्रयोग गर्दा धेरै सोच्नु पर्दैन । किनकि यसको साइड इफेक्ट हुँदैन । ३ महीनासम्म दमको लक्षण देखिएन भने इन्हेल नदिए पनि हुन्छ । दमले बच्चाको जीवनमा असर गर्ने भएकाले धेरै ख्याल गर्नुपर्छ । राति खोकी लाग्छ भने दिउँसो सुत्नुपर्ने हुँदा अन्य रोग लाग्ने पनि हुन्छ ।
उपचारमा ध्यान दिएको खण्डमा बालदम पूर्ण रूपमा निको हुन्छ । यसको उपचारमा नेपालमा पनि अन्य मुलुकमा जस्तै नै विधि प्रयोग गरिन्छ । दमरोग उपचारमा दुईओटा प्रमुख लक्ष्य हुन्छन्, पहिलो, दम बढेको लक्षण तुरुन्त ठीक गर्ने । त्यसका लागि खुम्चेको श्वासमार्ग खुलाउन औषधि दिइन्छ । खोकी र बढेको श्वास कम हुन्छ । दोस्रो, दम रोगको नियमित औषधि प्रयोग गरेर नियन्त्रण गर्न तथा पटकपटक साह्रो हुने गरी दम बढ्नबाट रोकिन्छ । औषधि खाने झोल, चक्की, वाफ वा पफ (इन्हेलर)को रूपमा पाइन्छ । इन्हेलर दमको औषधि प्रयोग गर्ने सबैभन्दा प्रभावकारी तरीका हो किनकि इन्हेलर मार्फत औषधि सीधै फोक्सोमा पुग्छ ।
इन्हेलर प्रयोग नगर्ने हो भने त्यही औषधि खाने झोल वा चक्की मार्फत दश गुणा बढी डोज दिनुपर्ने हुन्छ, जुन पहिले रगतमा र त्यसपछि फोक्सोमा गएर काम गर्छ । इन्हेलरको प्रयोग नगर्ने हो भने औषधिको साइडइफेक्ट बढी हुने तर प्रभाव भने कम हुने सम्भावना भयो ।
५/६ वर्ष पुग्दा बच्चाहरू यी लक्षणबाट मुक्त हुन्छन् ?
यो सत्य हो कि धेरै बालबालिकाले ५/६ वर्ष पुगेपछि आंशिक वा पूर्ण रूपमा दमको लक्षणबाट मुक्ति पाउँछन् । तर, कस्ता बच्चाले आंशिक वा पूर्ण मुक्ति पाउँछन् र कस्ता बच्चामा लक्षण झनै बढ्छ भन्ने अनुमान गर्न अत्यन्त गाह्रो हुन्छ । त्यसैले यस्ता बच्चालाई सही समयमा सही उपचार गराउनु जरुरी हुन्छ । यसले भविष्यमा हुनसक्ने दमको जटिलताबाट बच्चालाई जोगाउन सकिन्छ । साथै दमलाई नियन्त्रणमा राखी सामान्य जीवनयापन र शारीरिक विकास गराउन सकिन्छ ।
दम बढ्न नदिन आमाबुबाको भूमिका के त ?
बच्चालाई इन्हेलर सही तरीकाले प्रयोग गर्न सिकाउनुपर्छ । सही तरीकाले प्रयोग नहुँदा बच्चामा दम राम्रोसँग नियन्त्रण नहुन सक्छ ।
दमरोग पूर्णले ठीक गर्न औषधिमात्र पर्याप्त हुँदैन । अभिभावक रोगको प्रकृति, दम बढ्न नदिन अपनाउनुपर्ने सावधानी, सही औषधिको प्रयोग र आकस्मिक कार्यको योजनामा स्पष्ट हुनु जरुरी छ । ३ वर्षभन्दा कम उमेरका बच्चामा देखिने दम लगभग पूर्णरूपले निको हुन्छ । ३ वर्ष भन्दामाथिका बच्चामा दम देखिए १०–१२ वर्ष उमेरसम्ममा धेरैजसो बच्चालाई ठीक भइसक्छ ।