रौतहट । रौतहटको वागमती नदीमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । झण्डै ५ फिट गहिराइ चाहिनेमा अहिले ३ फिटभन्दा कम भएको मोटरबोट सञ्चालक समितिका संयोजक गौतम खड्काले बताए ।
चन्द्रपुर नगरपालिका–१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नुनथरमा पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले मोटरबोट सञ्चालनमा ल्याइएको हो । यहाँ मोटरबोटबाट जलयात्रा गर्नेको संख्या बढ्दै गएको थियो । तर, अहिले मोटरबोट सञ्चालनमा समस्या आएपछि त्यस क्षेत्रमा पुगेका पर्यटक भने निराश हुने गरेका छन् ।
पर्यटकलाई टाढासम्म जलयात्रा गराउन सहज नभएको संयोजक खड्काले बताए । नदीको दक्षिणपट्टि बाँध लगाएर पानी जम्मा गरे पनि अझै कम भएको उनको भनाइ छ । उनका अनुसार प्रत्येक शनिवार १५० भन्दा बढी पर्यटक जलयात्रा गर्ने आउने गरेका छन् । जलमार्ग निर्माण तथा मोटरबोट खरीद उपभोक्ता समितिले मोटरबोट सञ्चालन गरेको हो ।
मोटरबोट सञ्चालनपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । नुनथरदेखि ७ किलोमिटर राईगाउँसम्म सञ्चालन गर्न हाललाई एउटा मात्र मोटरबोट छ । मोटरबोट खरीदका लागि तत्काल बजेट नभएकाले नारायणी नदीमा चल्ने एचएस मोटरबोट प्रालिलाई मासिक २ लाख रुपैयाँ भाडा तिर्ने शर्तमा मोटरबोट ल्याइएको हो ।
प्रतिनिधिसभाका अर्थ तथा विकास समितिका सभापति तथा नेकपाका सांसद कृष्णप्रसाद दाहालको सांसद विकास कोषको रकमले मोटरबोट सञ्चालनको परीक्षण गरिएको थियो । सो कोषको २० लाख बजेटले नदीमा रहेका अग्ला ढुंगाको अवरोध हटाउने र राईगाउँमा स्टेशन निर्माण गर्ने काम भइरहेको खड्काले जानकारी दिए ।