ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

२०८० कात्तिक, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो । 

१२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ । 

‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।  

यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो । 

निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)