ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : जलविद्युतमा निजीक्षेत्रको आकर्षण

May 29, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला बझाङ र दार्चुलामा निजीक्षेत्रले ठूलो लगानी गरी जलविद्युत् निर्माणलाई तीव्रता दिएका छन् । अपी पावर कम्पनीले दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगाड साना जलविद्युत् आयोजना निर्माण गर्दै छ । यस्तै बझाङमा ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत् आयोजना, १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना र १० मेगावाटको अपर कालंगा जलविद्युत् आयोजनाको ड्यामसाइटको निर्माण अन्तिम चरणमा पुगेको कालंगा हाइड्रो प्रालिका सञ्चालक खगेश्वर बोहराले बताए । प्रदेशका १५ स्थानीय तहमा विद्युत् पहुँच शून्य देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणले सुदूरपश्चिमका १५ स्थानीय तहमा विद्युत् पहुँच शून्य देखाएको हो । प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिकामा विद्युत् पहुँच नपुगेको सर्वेक्षणमा उल्लेख छ । यो प्रदेशभित्र विद्युत् पहुँच ५७ प्रतिशत पुगेको छ । २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता देखाइएको यो प्रदेशमा विद्युत् उत्पादन शून्यप्रायः छ । प्रदेश सरकारले जलविद्युत्को सम्भाव्यता अध्ययन गरिरहेको बताउँदै आएको छ । प्रदेश सरकारले २ देखि ५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ । आर्थिक वर्ष २०७४/७५ को बाँकी ३ महीनाका लागि प्रस्तुत कुल रू. १ अर्ब २ करोड ५ लाख बजेटमध्ये सम्भाव्यता अध्ययनमा ३० लाख खर्च गरिएको छ । जलविद्युत् उत्पादनका लागि १० करोड बजेट खर्चेर सम्भाव्यता अध्ययन भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बताएको छ । त्यसका लागि विद्युत् विकास बोर्ड गठनमा भएको ढिलाइले विद्युत् उत्पादन र निर्माणमा समस्या देखिएको मन्त्रालयको भनाइ छ । निजीक्षेत्रको सक्रियतामा दार्चुलामा यसअघि अपी पावर कम्पनीले ८ मेगावाट विद्युत् उत्पादन गरेसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकिएको छ । यस्तै ८ मेगावाटको अपर नौगाडको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त कम्पनीले ४० मेगावाट क्षमताको माथिलो चमेलिया जलविद्युत् आयोजनाको निर्माण गर्ने तयारीसमेत अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशमा कुल विद्युत् उत्पादन क्षमताको शून्य दशमलव २५ प्रतिशत मात्रै उत्पादन भएको पाइएको छ । प्रदेश सरकारले विद्युत् उत्पादनका लागि डँडेलधुराको महाभारतबाट निस्कने शीर्षगाडको कटाल जाने नहरबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन गरेको छ । उक्त नहरको विकास गरेर गाडको सबै पानी सदुपयोग गर्न सके ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । डोटीको बीपीनगरस्थित ठूलीगाडबाट ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ । बैतडीको सुर्नयागाडमा ५४० किलोवाट विद्युत्् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा रहेको भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले बताए । हाल प्रदेशभित्र सरकारी स्तरबाट निर्माण सम्पन्न ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आव २०७४/७५ मा चमेलिया र सुर्नयागाडको सम्भाव्यता अध्ययनका लागि ५÷५ लाख छुट्ट्याएको थियो । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययनका लागि १० करोड र लगानी बोर्ड स्थापना गर्न २० करोड विनियोजन गरिए पनि खासै उपलब्धि हुन नसकेको ऊर्जाविद्हरू बताउँछन् । प्रदेश सरकारले २ मेगावाटभन्दा माथिका जलविद्युत्् आयोजनामा लगानी गर्ने बताएको छ । प्रदेश सरकारले छिट्टै विद्युत् विकास बोर्ड गठन गरी बोर्डमार्फत सम्भाव्यता अध्ययन, डीपीआर, ईआईएलगायत काम अघि बढाउने तयारी गरेको मन्त्री बोहराले बताए । बझाङमा निर्माणाधीन १ मेगावाट विद्युत् क्षमताको जेउलीगाड सञ्चालनमा आएपछि विद्युत् समस्या केही हदसम्म समाधान हुने रंगुनखोला हाइड्रो प्रालिका सञ्चालक वीरेन्द्र मल्लले बताए । तीनवटा आयोजनामध्ये कालंगा हाइड्रोमा ३ दशमलव ८ किमी, अपर कालंगामा ८ दशमलव २ किमी र सानीगाडमा २ दशमलव १ किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सरकारी स्तरबाट शून्यप्रायः लगानी रहेको जलविद्युत् विकासमा निजीक्षेत्रको आकर्षण भने पछिल्लो समय बढ्दै गएको सञ्चालक मल्लले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)