जेठ १९, पोखरा । पोखरालाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस(बिटुबी) व्यवसायीक छलफल आइतवार यहाँ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत समग्र नेपालमा पर्यटनको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक टीकाराम सापकोटाले आगामी वर्ष पोखरा ट्राभल मार्ट आयोजना गर्नमा यो व्यावसायिक छलफल सहयोगी हुने बताउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको जानकारी दिए । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्ता कार्यक्रमको माध्यमबाट पर्यटकको आगमनमा व्यापक वृद्धि हुने विश्वास सहभागीहरुले व्यक्त गरेका थिए । रासस