जेठ २१,नेपालगञ्ज (अस) आर्थिक वर्ष २०७६/०७७ का लागि बाँके जिल्लाको आठ ओटा स्थानीय तहमा रू.२ करोड ९० लाख ११ हजार रकम विनियोजन भएको छ । सरकारले स्थानीय तहका लागि सम्पुरक र विषेशबाहेक वित्तिय समानीकरणतर्फ रू.१ करोड ३२ लाख २३ हजार र सशर्त अनुदानतर्फ रू.१ करोड ५७ लाख ८८ हजार विनियोजन गरेको छ ।
सरकारले ल्याएको बजेटअनुसार वित्तिय समानीकरण र सशर्त अनुदानतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा रू.६९ लाख ५६ हजार, कोहलपुर नगरपालिकामा रू.४१ लाख ३७ हजार, खजुरा गाउँपालिकामा रू. ३८ लाख ८२ हजार, जानकी गाउँपालिकामा रू.२२ लाख ७८ हजार विनियोजन भएको छ ।
त्यस्तै डुडुवा गाउँपालिकामा रू.२३ लाख ७४ हजार, नरैनापुर गाउँपालिकामा रू.२२ लाख ६८ हजार, बैजनाथ गाउँपालिकामा रू.३३ लाख ९२ हजार र राप्तीसोनारी गाउँपालिकामा रू.३७ लाख २४ हजार वित्तिय समानीकरण र सशर्त अनुदानतर्फ विनियोजन गरिएको छ ।
सरकारले प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा उल्लेख छ ।