जेठ २६,नेपालगञ्ज (अस) । बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । केही उद्योग थपिदै छन् भने केही उद्योग जीर्ण अवस्थामा छन् ।
भारतको रुपैडिहा सँग सिमाना जोडिएको नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० ओटा उद्योग मात्र सञ्चालनमा रहेको बेला जानकी गाउँपालिकामा स्वस्फुर्त रुपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् । राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दै गएको गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले बताए ।
उनले भने, ‘गनापुरमा स्थापना भएका ६३ मध्ये छ ओटा बन्द अवस्थामा छन्, पाँच नयाँ उद्योग सञ्चालन हुँदैछन् ।’ तर सोही गाउँपालिका अध्यक्ष रामनिवास यादवले पछिल्लो समयमा नयाँ नयाँ उद्योग थपिदै गएकाले जानकी गाउँपालिका औद्यौगिक क्षेत्र हब हुनेमा आफु ढुक्क रहेको बताए । उनले भने, ‘हामी औद्यागिक क्षेत्र हब बनाउन लागि परेका छन् । उद्योग पनि स्वस्फुर्त रुपले धमाधम सञ्चालन छन भने केही थपिदै छन् ।’
गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने उनले बताए । नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महंगो पर्ने गर्दछ । त्यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ ।जानकी गाउँपालिकाका अध्यक्ष यादवले भने, ‘त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।’
जानकी गाउँपालिकाको वडा नं ६ गनापुर नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा धेरै उद्योग सञ्चालनमा आए पनि सडक लगायतका पूर्वाधारको भने अभाव छ । उद्योगसम्म पुग्नका लागि साँघुरो सडक रहेको छ । उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष यादवले बताए ।
गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज सडक जोड्ने सात किलोमिटर सडक विस्तार गर्ने कार्य शुरु गरिएको छ । ‘अहिलेको साँघुरो सडकलाई बढाएर सात मिटर फराकिलो पक्की सडक निर्माण गरिराखेका छौं’, उनले भने ।