जेठ ३०,नेपालगञ्ज(अस) । पछिल्लो समय बाँकेका थारु महिलाको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । सधै जसो साहुमहाजनको खेतवारीमा काम गर्दै जिवनयापन गर्ने थारु महिलाहरुका लागि हस्तकला सिप जीवन यापन गर्ने माध्यम बनेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन महीने थारु हस्तकला सिप लिएका महिलाहरु थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गरिरहेका छन् ।थारु हस्तकलाको काम गर्न थालेपछि एक–दुई हजार रुपैयाँका लागि साँहु महाजनसँग हात थाप्न पर्ने बाध्यता हटेको नेपालगञ्ज उपमहानगरपालिका–९, की सरिता चौधरीले बताइन् । उनले भनिन्, ‘सिप नै आत्मनिर्भर रहेछ, सिप सिकेपछि हामीलाई घर खर्च चलाउन एक दुई हजार रुपियाँको कमी हुँदैन ।’
हस्तकला सिप सिकेपछि आजभोली महिलाहरुले घरमै बसेर मासिक १० हजार रुपियाँसम्म आम्दानी गरिरहेको उनको भनाइ छ । उनले थपिन, ‘कुनै कुनै महीना धेरै आम्दानी हुन्छ, जति उत्पादन भयो खपत हुने गरेकाले बजारको समस्या छैन । ’सरिता मात्र होइनन् नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्राकी भागरथी चौधरीले थारु हस्तकलाका सामान उत्पादन गरेर जहानपरिवार पाल्दै आएकी छन् ।
घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेकी छन् । उनले भनिन्, ‘ढक्की, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रे लगायतका सामान बेचेर महीनामा सात/आठ हजार कमाउने गरेको छु ।’ जंगलमा खेर गईरहेको कुश(खर) ल्याएर यस्ता सामग्री निर्माण गर्ने गरेको ती महिलाको भनाई छ ।
थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज उपमहानगरपालिका–१२ की विह्या थारुले बताइन् । महिलाले उत्पादन गर्न लागेको समय अनुसार सामानको मूल्य तोक्ने गरेका छन् । महिलाले एउटाको तीनसयदेखि पाँचसय रुपैयाँसम्म हस्तकलाका सामग्री बेच्ने गर्छन् ।
थारु महिलाको सिप विदेशमा पनि विक्री
सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगबाट तालिम लिएपछि थारु महिला हस्तकला सामग्री बनाउन खप्पिस भएका छन् । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौं, तालिम लिएपछि आधुनिक र चलन चल्तीमा रहेका प्लाष्टिक, तामा, सिसाका भाँडा जस्तै डिजाइनमा बनाउन सिकेका छौं,’ उनले भनिन् ।
महिलाले उत्पादन भएका थारु हस्तकलाका सामग्री नेपाल बाहिर पनि विक्री हुने गरेको छ । संगठित भएर थारु हस्तकलाका सामग्री उत्पादन गर्दै आएका महिलाको सामग्री डेनमार्क, अमेरिका, जापान, थाइलाइन्ड जस्ता देशमा जाने गरेको पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले बताइन् ।
उत्पादन भएका सामान काठमाडौं र पोखराका व्यापारीले पनि लैजाने गरेका छन् । व्यापारीले महिलालाई सामानको अर्डर गरेपछि बनाउने गरेको बताउँदै अर्डर नआएका बेला मेला, महोत्सव र स्थानीय बजारका लागि बनाउने गरेको उनीहरुको भनाइ छ । कतिपय महिला उद्यमी आफूले उत्पादन गरेका सामान विक्रीका लागि काठमाडौं, पोखरा, सुर्खेत, दाङसम्म पुग्ने गरेका छन् ।
घरमा विक्री नभएका सामान र आफ्नो सामानको प्रचार प्रसार गर्न मेला, महोत्सवमा पनि लैजाने गरिएको छ । महिलाको समूहले मेला, महोत्सवमा थारु खानाको समेत ब्यापार गर्दै आएका छन् । ‘यसले हामीलाई आत्मनिर्भर मात्र बनाएको छैन, आफ्नो लागि आफंै कमाउनु पर्छ भन्ने भावनाको विकास पनि गराएको छ,’ उनीहरुले भने ।