ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँमा बैंक पुगे तर वित्तीय साक्षरता अझै पुगेन

Jun 15, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३२, बाँके । बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ । हरेक वर्ष बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ ।

संघीयतापछि राष्ट्र बैंकले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य शाखा विस्तार गर्नुपर्ने नीति बनाएपछि गाउँमा बैंक त पुगे पनि बैंकप्रति स्थानीयको पूर्ण विश्वास भने अझै बढ्न सकेको देखिँदैन ।स्थानीय तहको गठनसँगै बाँकेका बैजनाथ, राप्ती सोनारी, नरैनापुर, खजुरालगायतका ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था पुग्न खोजे पनि त्यो पर्याप्त छैनन् ।

सर्वसाधारणमा वित्तीय साक्षरताको अभाव छ । ग्रामीण क्षेत्रमा बैंकप्रति अविश्वास छ भन्ने सुन्दा त झन् यस क्षेत्रमा काम गर्ने सरोकारवाला निकायलाई अनौठो लाग्छ । बाँकेको अति विकट नरैनापुर जस्ता ठाउँमा पुगेको सनराइज बैंकका प्रबन्धक खड्कप्रसाद देवकोटाले आफ्ना् अनुभव सुनाउँदै भने,‘वित्तीय साक्षरताको कुरा छाड्नुहोस् यहाँ त शुरुमा बैंकप्रति अविश्वास थियो ।’

द्वन्द्वकालको समयमा गाउँबाट बैंकहरु विस्थापित भएपछि अहिले पनि सर्वसाधारण बैंकहरु गाउँ छाडेर शहर जान्छ कि भनेर प्रश्न गर्ने गर्छन् । स्थानीयहरुलाई बैंकप्रति अझै पूर्णरुपमा विश्वास लागिरहेको छैन । प्रबन्धक देवकोटा भन्छन, ‘वित्तीय साक्षरताका विषयमा जतिसक्यो जानकारी गराएका छौं ।’ हामीले स्थानीय सेवाग्राहीलाई धेरै सिकाउन बाँकी छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि अभियान शुरु नगरेको होइन । राष्ट्र बैंक र निजीस्तरका बैंकहरु यस्ता कार्यक्रमहरु सञ्चालन पनि गरिरहेका छन् । ‘वाणिज्य बैंकलाई जुन पूर्वाधार चाहिन्छ, त्यो प्रयाप्त छैन, बिजुली, बाटो, सुरक्षा चौकी, इन्टरनेटजस्ता पूर्वाधारहरु बैंकहरुका लागि महत्वपूर्ण हुन्छन’, प्रबन्धक देवकोटा भन्छन्, ‘गाउँमा अझै पूर्वाधार अभाव छन्, यही अभावका बीचमा पनि हामीले सक्दो सेवा दिइरहेका छौं ।’ संघीयतापछि ग्रामीण क्षेत्रमा बैंकिङ सेवा अनिवार्य भए पनि बिजुली, इन्टरनेट, सडक पूर्वाधारलगायतका कारण बैंकहरुले पनि सोचेजस्तो सेवा प्रवाह गर्न सकिरहेका छैनन् । संघीयतापछि राष्ट्रियस्तरका बैंकहरु गाउँमा पुगेका छन् । गाउँमा बैंक पुगेसँगै वित्तीय साक्षरता बढ्ने विश्वास गरिए पनि सोचेअनुरुप हुन नसकेको प्रबन्धक देवकोटाको भनाइ छ । ‘बैंकिङ सेवा शहर केन्द्रित हुनु हुँदैन, ग्रामीण भेगमा पनि पुग्नुपर्छ भन्ने नेपाल राष्ट्र बैंकको धारणा छ हामी त्यसको कदर गर्दै ग्रामीण भेगका जनतालाई अभावका बीचमा पनि बैंकिङ सेवा दिन सदैव तयार छौं’, प्रबन्धक देवकोटाले भने । वित्तीय संस्थाहरु शहर केन्द्रित भएकै कारण वित्तीय साक्षरता अभियान गाउँमा पुग्न सकेको छैन । कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश रावतले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभियान चलाउन आवश्यक रहेको बताए । उनी भन्छन्, ‘यही कुराको आवश्यकता महसुस गरी हामीले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने र वित्तीय साक्षरता गाउँमा पुर्‍याउने लक्ष्य राखेका छौं ।’ वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोवारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानीजस्ता विषयमा जानकारी दिने गरेको पनि प्रयाप्त नभएको प्रमुख कार्यकारी अधिकृत रावतले बताए । उनले भने, ‘साक्षरता अभियानमा सबै बैंकहरुले हातेमालो गर्दै अघि बढ्नुपर्छ,सेवाग्राहीलाई पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण जस्ता विषयमा सिकाउन जरुरी छ ।’

‘अबको साक्षरता वित्तीय पहुँच विस्तार गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्व कायम गर्ने, प्रविधिमैत्री र समावेशी वित्तीय क्षेत्रतर्फ पनि जोड दिनुपर्ने हुन्छ’, उनले भने, ‘वित्तीय साक्षरता वित्तीय क्षेत्रको क, ख पढाउने मात्रै हुनुहुँदैन ।’ नेपाल राष्ट्र बैंकको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७४/७५ सम्म बाँकेमा बैंक तथा वित्तीय संस्थाको शाखा १६२ पुगेको छ । ती शाखाहरु नेपालगञ्ज र कोहलपुरजस्ता शहरमा मात्रै केन्द्रित छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको आकर्षण बढाउन ‘वित्तीय साक्षरता’ अभियान सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको देखिँदैन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकमैत्री सेवाका लागि पहल गरेका छैनन् । राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानबारे सेवाग्राहीहरु पनि जानकार छैनन् । नेपालगञ्जको न्यूरोडस्थित वेष्ट्रन डेभलप्मेन्ट बैंकमा खाता खोल्न पुगेका दीपक बर्माले आफूलाई वित्तीय साक्षरताका बारेमा जानकारी नभएको बताए ।

उनले भने, ‘मलाई अहिलेसम्म यस विषयमा केही जानकारी छैन, दुई/तीन ओटा बैंकमा खाता खोलेको छु, रकम जम्मा गर्न र निकाल्न जाने गरेको छु, अरु केही थाहा छैन ।’ त्यसो त कतिपय बैंकका सञ्चालकलाई समेत सामान्य बैंकिङ र लघुवित्तको बारेमा समेत जानकारी छैन । बैंकका धेरै सञ्चालकलाई नै वित्तीय साक्षरताका बारेमा जानकारी रहेको पाइँदैन ।

उहाँका अनुसार बैंकको सञ्चालक भएर पनि आधारभूत बैंकिङको बारेमा थाहा छैन । सामान्य मानिसलाई चाहिनेभन्दा बैंकका सञ्चालकलाई अलि माथिल्लोस्तरको वित्तीय साक्षरता जरुरी रहेको उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)