असार ३, बेझाड(पाल्पा) । रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध संकलन गरी बजारमा विक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन् ।
डेरी सञ्चालन गरी घरबाटै दूध संकलन गरी बजारमा विक्री गरिदै आएको छ । यहाँ संकलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ । सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताइन् । दूध नबिक्ने समस्याले पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरु गरेको उनको भनाइ थियो । ‘सहकारीमा आबद्ध सदस्यको घरबाट दूध संकलन गरेका छौं, सहकारीबाहेकका कृषकले उत्पादन गरेका दूध खरीद गरेर विक्री गर्ने योजना छ’, उनले भनिन् । स्थानीय बजारमा दूध कम खपत हुँदा विक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए । अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरीद–विक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताउँछिन् । ‘पहिला दूध बिकाउनै समस्या थियो बजार नजीक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ’, उनले भनिन् । उनको घरमा पाँच ओटा उन्नत जातका भैंसी छन् । दैनिक २० लिटर दूध विक्री गरी मासिक रू. ८० हजारसम्म कमाई हुने गरेको ओस्तीले बताइन् । दूध विक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ ।त्यसैगरी सोही ठाउँकै अनिता भण्डारीले पनि दूध विक्रीबाट राम्रो कमाई गर्छिन् । दैनिक १५ लिटर दूध विक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताइन् । महिलाहरुले उत्पादन गरेको दूध विक्री गर्न सहज होस् भनेर रू.२ लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले बताएको छ ।
सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । दूध विक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । डेरीबाट दुई जना स्थानीयवासीलाई रोजगार मिलेको छ ।दूध र पानीको मात्रा मापनका लागि सहकारीलाई ‘मिल्क एनालाइजर मेशिन’ प्राप्त भएको छ । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहयोगमा रू. ५ लाख ३० हजार मूल्यको मेशिन सहयोग मिलेको सहकारीले बताएको छ ।
वि.सं. २०६९ मा स्थापना भएको यस सहकारीमा ३५० जना शेयर सदस्य छन् । सहकारीले महिलाहरुलाई आर्थिक क्षेत्रमा बलियो बनाउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सहकारीको माध्यमबाट गाउँका महिलाहरुको आर्थिक स्तर उकासिँदै गएको पाइएको छ । सहकारीबाट ऋण झिकेर कृषि तथा पशुपालन क्षेत्रमा लगानी लगेर आम्दानी गर्न सफल भएका छन् । रासस