हुलाकी राजमार्ग : बाग्मती पुलको डिजाइन पुनर्मूल्यांकन गरिँदै
Jun 19, 2019
 
विकास
रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाहीको सिमानामा पर्ने निर्माणाधीन बाग्मती पुलको डिजाइन पुनर्मूल्यांकनको काम थालिएको छ । दुर्गा भगवती गाउँपालिका–५ वडहर्वास्थित बाग्मती नदीमा उक्त पुल निर्माण भइरहँदा नदीले धार परिवर्तन गरेपछि काम अलपत्र भएको थियो । करीब ६ वर्षपछि हुलाकी सडक निर्देशनालयको पहलमा अभियान कन्सल्टेन्ट, काठमाडौंले पुलको डिजाइन पुनर्मूल्यांकनको जिम्मा लिएको छ ।
भरपर्दो र आकर्षक पुलका लागि कन्सल्टेन्टका इन्जिनीयरले ड्रोन क्यामेराको मद्दतबाट डिजाइन रिभ्यूको काम शुरू गरेका छन् । यसअघि पुलको काम अघि बढाउन दबाब दिने उद्देश्यले स्थानीयले समिति गठन गरेका थिए । समितिका संयोजक रेवन्त झाका अनुसार तोकिएको स्थानबाट ५ सय मिटर माथिल्लो भागमा पुल निर्माण गरिएकाले समस्या आएको हुन सक्ने बताए । साविकको स्थानभन्दा पूर्वबाट नदी बग्न थालेपछि निर्माण तत्कालै रोकिएको उनको भनाइ छ ।
बाग्मती नदीले धार परिवर्तन गरेकाले कसरी पुल निर्माण गर्ने भन्नेबारे प्रतिवेदन आएपछि थाहा हुने हुलाकी सडक योजना, पर्साका योजना प्रमुख दीपेन्द्र पाण्डेले बताए । प्रतिवेदन आएपछि त्यसको आधारमा आगामी आवदेखि काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइने जानकारी उनको भनाइ छ । पुलको लुम्बिनी बिल्डर्स प्रालि, सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको भए पनि निर्माण पप्पु कन्स्ट्रक्शनले थालेको थियो । ठेक्का सकार गर्ने बेला पप्पु कन्स्ट्रक्शन कालोसूचीमा परेकाले लुम्बिनी कन्स्ट्रक्शनको नाममा ठेक्का सकार गरेर उसैले काम थालेको थियो ।
निर्माणका लागि लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ गते सम्झौता गरी २०७० जेठ ३१ गते सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै २०७० मंसिर २८ गतेदेखि पूर्ण रूपमा काम बन्द गरेको थियो । हुलाकी सडकका अनुसार पुलको काम अहिलेसम्म करीब ६० प्रतिशत सकिएको छ । सो पुल निर्माणले सर्लाही, रौतहटका बासिन्दालाई बारा हँुदै वीरगन्ज पुग्न सहज हुनेछ ।