कन्सल्ट्यान्सीको सहाराविना पनि अध्ययनका लागि विदेश जान सकिन्छ
Jun 27, 2019
 
अन्तरवार्ता
पुतलीसडकस्थित नेक्सस एजुकेशन कन्सल्ट्यान्सीले पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई सन् २००८ देखि सेवा दिँदै आएको छ । संस्थाले खासगरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र यूरोपेली मुलुकहरूमा पढ्न जाने विद्यार्थीलाई परामर्श दिनुका साथै सहजीकरण गर्दछ । प्रस्तुत छ, संस्थाका प्रबन्ध निर्देशक विष्णु खड्कासँग पढ्न विदेश जाने विद्यार्थीले जुटाउनुपर्ने कागजपत्र, तयारी, प्रक्रियालगायत विषयमा आर्थिक अभियानकी दुर्गा लामिछानेले गरेको कुराकानीको सार :विदेशमा गएर पढ्न विद्यार्थीले के कस्ता कागजात जुटाउनुपर्छ ?
देशअनुसार फरक छ । अमेरिकामा पढ्न त्यहाँको विश्वविद्यालयलाई मनाइसकेपछि शैक्षिक प्रमाणपत्र, कक्षा १२ सम्म पढेको हो भने टोफेल, आईएलटीएस, स्याट गरेको कागजात हुनुपर्छ । ब्याचलर गरेको हो भने जीआरई, जीम्याट, टोफेल, आईएलटीएस गरेको कागजात समावेश गर्नुपर्छ । अन्तरवार्ता दिएपछि आई ट्वेन्टी आउँछ । अमेरिकाका लागि आय, सम्पत्ति, बैंक ब्यालेन्स लगायतको कागजात आवश्यक पर्दैन ।
अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडाले भने अमेरिकामा बुझाउने सबै डकुमेन्टसँगै विद्यार्थीको १ वर्ष बस्ने खर्च, फी तथा ‘ट्राभलिङ एक्सपेन्सेस’ सबै कभर गर्ने बैंक ब्यालेन्स वा ऋण देखाउनुपर्छ, अथवा विद्यार्थीलाई ६ महीनापछि केही समस्या पर्यो भने बेहोर्ने बेहोरासहितको बाबु–आमाको ‘ग्यारेन्टी लेटर’ चाहिन्छ । आर्थिक क्षमताका हिसाबले बैंकमा पैसा देखाएरै जान सक्ने विद्यार्थी करीब ५ प्रतिशत मात्र हुन्छन् । बाँकी ९५ प्रतिशत भने ऋणकै प्रक्रियाबाट जानुपर्ने अवस्था छ ।
विदेशमा पढ्न जान के कसरी प्रक्रिया अघि बढाउनुपर्छ ?
पहिले त कक्षा १२ वा ब्याचलरपछि कलेजमा ‘एप्लाई’ नै गर्नुपर्छ । त्यसपछि कलेजले उक्त देशमा पढ्न चाहनुको कारण (स्टेटमेन्ट) माग्छ र चित्त बुझे ‘अफर लेटर’ पठाउँछ । अफर आएपछि शुरूमा ‘फी’ पठाउनुपर्छ । कतिपय कलेजमा भने ‘फी’ शुरूमै पठाउनुपर्छ । विश्वविद्यालयले विद्यार्थीले पढ्न सक्छ कि सक्दैन भन्ने परीक्षणका लागि आर्थिकदेखि सम्पूर्ण प्रमाणहरू माग्छन् । त्यो पूरा गरेपछि सामान्यतया अस्ट्रेलिया, न्यूजिल्यान्ड, क्यानडाले चाहिँ हामी जस्तो ‘एजेन्ट’मार्फत विद्यार्थी लैजाने प्रक्रिया गर्न खोज्छन् । त्यसैले हामी विद्यार्थीलाई सम्पत्ति कसरी देखाउने भन्ने सबै सिकाइदिन्छौं । विद्यार्थीले सम्बन्धित ठाउँबाट कागजात ल्याइसकेपछि कलेजलाई पठाइदिन्छौं । उताबाट कागजात उचित ठहर भएमा ‘फी’ पठाऊ भन्छ । ‘फी’ पठाइसकेपछि हामी ‘हाई कमिशन’मा एप्लाई गरिदिन्छौं । अनि भिसा आएपछि विद्यार्थीहरू टिकट काटेर जान्छन् ।
यो प्रक्रियामा विद्यार्थीले कलेजलाई पठाउने ‘फी’, देखाउनुपर्ने सम्पत्ति, टिकट काट्दाबाहेक कहाँ–कहाँ पैसा तिर्नुपर्छ ?
सम्पत्तिको मूल्यांकन गर्दा स्थानीय तहमा निश्चित शुल्क तिर्नुपर्छ । कसैले कुल देखाइएको सम्पत्तिको शून्य दशमलव १ प्रतिशत त कसैले शून्य दशमलव २ प्रतिशत लिन्छन् । कतैबाट प्राप्त हुने तलब पनि सम्पत्तिमा देखाउने हो भने स्थानीय तहमा त्यसको पनि प्रमाणित गराउनुपर्छ । यो शुल्क स्थानीय तहैपिच्छे फरक फरक छ । ऋण लियो भने बैंकले आफ्नै किसिमले शुल्क लिन्छ । शिक्षा मन्त्रालयको एनओसी डिपार्टमेन्टले विद्यार्थीले यहाँ पढेको विषय र उता गएर पढ्न चाहेको विषय सम्बन्धित कलेजमा छ/छैन, जान लागेको शैक्षिक संस्था वास्तविक हो/होइन परीक्षण गरेर ठीक छ भने ‘नो अब्जेक्शन लेटर– एनओसी’ दिन्छ । त्यसका लागि पनि शुल्क लाग्छ । त्यो लेटर भएपछि बैंकबाट पैसा बाहिर पठाउन पाइन्छ । र, उक्त पैसा (फी) पठाउँदा पनि बैंकले शुल्क लिन्छ ।
त्यसपछिका प्रक्रिया के के हुन्छन् ?
पैसा पठाइसकेपछि उताबाट ‘कन्फर्मेशन अफ इन्रोल्मेन्ट– सीओई’ आउँछ । त्यो आइसकेपछि बल्ल विद्यार्थीले हाई कमिशनमा ‘एप्लाई’ गर्नुपर्छ । अस्ट्रेलियाको हकमा ‘एप्लाई’ गरेको ३० दिनभित्र, अरू देशमा कार्यालय खुल्ने १५ दिनभित्र निर्णय आउँछ ।
अमेरिकाको हकमा नि ?
अमेरिकाको आई ट्वेन्टी आउँछ । एउटा साधारण फर्म भरेपछि अन्तरवार्ताको मिति पाइन्छ । त्यसपछि विद्यार्थीले २ सय अमेरिकी डलर र रू. १८ हजार ४ सय अमेरिकी राजदूतावासलाई बुझाएपछि दूतावासले अन्तरवार्ता लिन्छ । अन्तरवार्ता पास भयो भने अर्को २ सय अमेरिकी डलर दूतावासलाई बुझाउनुपर्छ । भएन भने अगाडि बुझाएका सबै पैसा जान्छ ।
कन्सल्ट्यान्सीको सहारा नलिई विद्यार्थी बाहिर पढ्न जान सक्छन् कि सक्दैनन् ?
सक्छन् । यसमा काठमाडौंभित्रका विद्यार्थीको संख्या अलि बढी छ । तर खासगरी बाहिरका विद्यार्थीका हकमा उचित सूचना र मार्गदर्शनको अभावमा धेरैको भिसा ‘रिजेक्ट’ हुने गरेका छन् । अस्ट्रेलियाले विशेषगरी ‘एजेन्ट’ नै खोज्छ ।
विद्यार्थीले कुन कुन देशमा के कस्तो ‘स्कलरशिप’ प्राप्त गर्न सक्छन् ?
अमेरिकामा १०० प्रतिशतसम्म पनि स्कलरशिप छ । क्यानडामा एकदम कम छ । कुनै कुनैले २० देखि ५० प्रतिशतसम्म दिन्छन् ।
यहा“को संस्थाले विश्वका र्यांकिङमा परेका शैक्षिक संस्थामा विद्यार्थी पुर्याइरहेको भन्ने गरेको छ । तिनको नाम लिन सकिन्छ ?
अमेरिकामा नर्दन टेक्सास, आलिंटन, एरिजोना विश्वविद्यालय, लगायत २४ ओटा विश्वविद्यालय छन् । त्यसैगरी यहाँको सीटीईभीटी जस्तै अस्ट्रेलियामा ‘टेफ’ छ । वित्तीय अवस्था अलिक कम भएका र सस्तोमा ‘प्य्राक्टिकल एजुकेशन’ लिन चाहनेलाई पठाउँछौं ।
तपाईंको संस्थाले विद्यार्थीको शिक्षा, माइग्रेशन तथा करीअरको इच्छा बुझेर सहयोग गर्ने भन्ने भनाइ छ । यी सब कसरी गर्नुहुन्छ ?
विद्यार्थी पढ्न मात्रै जाने, उतै सेटल हुन जाने वा के कस्तो धारणा लिएर आएको छ, हामी पहिले नै बुझ्छौं । उतै सेटल हुने मनस्थिति लिएर आएको रहेछ भने सजिलो हुने ठाउँ बताइदिन्छौं । त्यसैगरी डिग्री मात्र लिन जाने भए त्यही अनुसारको उपयुक्त हुने संस्थाको जानकारी दिन्छौं । शुल्क पनि भिसा आइसकेपछि लिन्छौं ।