असार १२, नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कुल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ ।
बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा रू. ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै रू. ३८ करोड अपचलन भएको उल्लेख छ । सो प्रतिवेदनअनुसार, सहकारीको कुल रू. ५२ करोड अधिकतम पूँजीमा विगतको रू. २६ करोडमा थप रू. १२ करोड अपचलन भएको छ ।
यसैबीच, सो सहकारी संस्थाले बिहीवार सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताए ।
एक महीनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए । रासस