रौतहट । रौतहटका कृषि सहकारी संस्थाले किसानलाई रासायनिक मल वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरसँग माग गरेका छन् । धान रोपाइँ गर्ने बेला भएकाले युरिया, डीएपी तथा पोटास उपलब्ध गराउन उनीहरूले माग गरेका हुन् ।
सुनौलो कृषि सहकारी संस्था वरियापुरका अध्यक्ष विसुन्द्र सहनीले विगतमा रासायनिक मल नपाउँदा समस्या भएकाले यस वर्ष समयमा नै माग गरेको बताए । रासायनिक मलको अभाव हुँदा भारतबाट ल्याइएको मल किसानले खेतीमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनीले सहुलियतमा कृषि सहकारी संस्थालाई रासायनिक मल दिने गरेको छ । जिल्लाका १८ स्थानीय तहमा कृषि सहकारी संस्थाहरूले रासायनिक मल विक्री गर्दै आएका छन् । यस वर्ष जिल्लामा ५ हजार टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य लिए पनि अपुग हुने कम्पनीले जानकारी दिएको छ ।
जिल्लाभरि ६ हजार टन खपत हुनेमा अझै १ हजार टन अपुग रहेको कार्यालय प्रमुख सगुन तिवारीले बताइन् । उनका अनुसार यस वर्ष १०५ कृषि सहकारी संस्थालाई रासायनिक मल उपलब्ध गराइनेछ । कार्यालयसँग हाल ४९ टन युरिया, ९० टन डीएपी र ३३ टन पोटास मौज्दात रहेको छ ।
कार्यालयले प्रतिबोरा युरिया ७ सय ४०, डीएपी २१ सय ९० र पोटास १५ सय ९० रुपैयाँमा कृषि सहकारी संस्थालाई विक्री गर्ने गरेको छ । कृषि सहकारी संस्थाले भने खरीद मूल्य, लोड÷अनलोड तथा ढुवानी भाडासहित किसानसँग ४५ रुपैयाँसम्म बढी लिने गरेका छन् । बजारमा अहिले ८ सय २५ रुपैयाँमा प्रतिबोरा युरिया मल पाउने गरेको छ । असारदेखि असोजसम्म युरिया मलको माग अधिक रहने गरेको छ ।
डीएपी मल अभाव
विराटनगर (अस) । पूर्वमा धान खेतीको लागि चाहिने रासायनिक मल डीएपी अभाव हुने देखिएको छ । धान खेतीको लागि चाहिने युरिया र पोटास मल आवश्यकता अनुसार पूर्ति हुने भए पनि डीएपी अभाव हुने भएको हो ।
खेतीको लागि चाहिने युरिया मलको मागअनुसार मौज्दात नरहे पनि आउने क्रम जारी रहेको र डीएपीको मौज्दात न्यून रहनुको साथै आउने कुनै सम्भावना नरहेकाले अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमले जानकारी दिए । पूर्वमा बर्खे धान खेतीका लागि डीएपी १५ मेट्रिक टन, युरिया १५ मेट्रिक टन र पोटास ७ सय मेट्रिक टन आवश्यक पर्दछ ।
तर, असार १० गतेसम्म कार्यालयमा युरिया २ हजार ७ सय ४२ मेट्रिक टन मौज्दात रहेको छ भने डीएपी २ सय ६६ मेट्रिक टन मात्र मौज्दात रहेको छ । युरिया भारतको कोलकाताबाट आउने क्रम जारी रहेता पनि डीएपी हाल आउने कुनै सम्भावना नरहेको बताइएको छ । कार्यालयका अनुसार हाल पोटासको मौज्दात ४ सय ७४ मेट्रिक टन रहेको र विक्रेताले समेत भण्डारण गरेकाले अभाव नहुने अवस्था छ ।