असार १४, राजविराज । स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।
सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दा सधैं सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ । हनुमाननगर कंकालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताउँछन् । ‘सामान्य कामका लागि समेत राजविराज जानु परेको छ, समयसँगै फजुल खर्च हुने गरेको छ’, उनले भने । तिलाठी कोइलाडीका नीरज झा राजविराज जाँदा समेत एकै दिनमा काम नसकिंदा होटलमा बास बस्नु पर्ने बताउँछन् । सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले स्थानीय तहमा बैंक नहुँदा विकास निर्माणको काम प्रभावित हुने गरेको बताए । ‘सानो रकम लिन पनि राजविराज धाउनुपर्छ’, उनले भने । यस्तै तिरुहुत गाउँपालिकामा बैंक नहुँदा दैनिक कामकाजका लागि त्यहाँका बासिन्दा सदरमकाम वा कञ्चनपुर जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष मनोज भडखेर यादवले बताए । सानोतिनो रकम भुक्तानी लिन सदरमुकाम जानुपर्छ । विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौं लाइनमा बस्नुपर्छ । जिल्लामा नौ नगरपालिका तथा नौ गाउँपालिका रहेको छ । चार स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ । रासस