असार १६, प्यूठान (अस)। यस जिल्लाको सरुमारानी गाउँपालिकाले टुहुरा बालबालिकालाई मासिक भत्ता दिने भएको छ । सरुमारानी गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट मार्फत टुहुरा बालबालिकालाई मासिक रू. १ हजार भत्ता दिने उल्लेख गरेको छ ।
साउन १ गतेदेखि लागु गर्ने गरी यो कार्यक्रम ल्याएको सरुमारानी गाउँपालिकाले बताएको छ ।अभिभावक तथा संरक्षक बिहिन भएका बालबालिकालाई जीबिकोपार्जन तथा पाठनपाठनमा प्रोत्साहित गर्ने उद्धेष्यले जिल्लामै पहिलो पटक यस्तो नमुना योजना ल्याएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।
‘असहाय, अभिभाबक बिहिन, अति विपन्न बालबालिकालाई यो कार्यक्रमले सहयोग पुग्नेछ’, उनले भने । त्यस्तै गाउँपालिकाले छोरी पेवा बचत कार्यक्रम पनि ल्याएको छ । गाउँपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा छोरी पेवा बचत खाता कार्यक्रम अन्तर्गत गाउँपालिकामा जन्मने छोरीका लागि मासिक रू.२०० भत्ता दिने उल्लेख छ ।
सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले भने, ‘छोरी भए गर्भमै भ्रूण हत्या गर्ने प्रबृति अन्त्य गर्न तथा छोरीमाथी हुने हिंसा कम गर्न यो कार्यक्रम ल्याइएको हो ।’ यस्तै महिलालाई स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउन तथा बच्चा जन्माउन प्रोत्साहित गर्न गर्भवति महिलालाई स्थानीय पोल्ट्री फर्मबाट एक क्यारेट अण्डा दिइने भएको छ ।गर्भाबस्थामा पोषणको कमी हुन सक्ने भएकोले गर्भवति महिलालाई अण्डा दिने नीति लिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले बताए ।