असार १७, राजापुर(बर्दिया) । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महंगो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नोे फैसलामा यसको पुष्टि गरिदिएको छ ।
गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रू.५ लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो ।
तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रू.५ लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ । बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रू.५ लाख जरिवाना तिराएको हो ।
फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई रू.५ लाख देखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ । रासस