जवाफदेहिता विद्यालयको सबैभन्दा ठूलो शक्ति
Jul 19, 2019
 
अन्तरवार्ता
[caption id="attachment_353853" align="alignright" width="300"]
महाश्रम शर्मा,
नेपाल सरकारका पूर्वसचिव[/caption]
शिक्षा मन्त्रालय, शिक्षा विभाग जस्ता निकायमा लामो समय उच्च पदमा रहेर काम गरेका नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्मा शिक्षाक्षेत्रमा निरन्तर सुधारको खाँचो देख्छन् । प्रस्तुत छ, यो क्षेत्रका सबल पक्ष र सुधार्नुपर्ने पक्षबारे उनीसँग आर्थिक अभियानकी दुर्गा लामिछानेले गरेको कुराकानीको सार :
कक्षा ११ र १२ को अध्ययनमा विद्यार्थीको आकर्षण कस्तो छ ?
कक्षा ११ र १२ अब विद्यालय शिक्षा भनिएको सन्दर्भमा कतिपय विद्यार्थीहरू कक्षा १० सम्म पढेकै विद्यालयमा पढ्ने पनि छन् । तर धेरैजसो भने नयाँँ विद्यालय वा क्याम्पसमा जान रुचाएको देखिन्छ । यसो हुनुको एउटा कारण विद्यार्थीले पहिले पढेको विद्यालयमा आफूले पढ्न चाहेको विषय नहुनु पनि हो । एसईई परीक्षाको नतीजाको आधारमा भन्ने हो भने विद्यालय रोजाइको हिसाबमा समुदायिक विद्यालयमा करीब ७१ प्रतिशत र संस्थागत विद्यालयमा करीब २९ प्रतिशत छ । तर जब कक्षा ११ भर्ना हुने सन्दर्भ आउँछ, त्यसपछि दुवैमा बराबरकै संख्यामा विद्यार्थीको उपस्थिति देखिन्छ । सामुदायिक विद्यालयका विद्यार्थी संस्थागत विद्यालयमा गएर नै यो बराबरीको अवस्था आएको हो ।
यो तहमा विद्यार्थीले संस्थागत विद्यालय रोज्नुको कारण के होला ?
उमेरअनुसार यो तहका विद्यार्थीमा नयाँँ कुराको सिकाइ अवसर, वातावरण जस्ता विषयले पनि प्रभाव पार्दछन् । संस्थागत विद्यालयमा विद्यार्थीले नयाँपन पाउनुका साथै विद्यालयमा रहेका सुविधाका सम्बन्धमा जानकारीका लागि पर्याप्त प्रचार प्रसार, अतिरिक्त क्रियाकलापका तथा विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न पक्ष समावेश हुन्छन् । त्यसैले विद्यार्थीको आकर्षण त्यतातर्फ बढी भएको हो भन्ने मेरो बुझाइ छ ।
यसको विपरीत सामुदायिक विद्यालयहरूले आफूसँग भएका राम्रा कुरा देखाउन, प्रचारप्रसार गर्न सकेका छैनन् । यसका लागि सामुदायिक विद्यालयसँग पर्याप्त आर्थिक स्रोत नभएर पनि हो । आर्थिक स्रोत राम्रो भएका सामुदायिक विद्यालयले प्रचारप्रसार तथा सोहीअनुसारको सुविधा समेत दिएका छन् ।
विद्यालयको नतीजाले पनि अभिभावकलाई आफ्ना सन्तान कस्तो विद्यालयमा भर्ना गर्ने भन्ने निर्णय लिन मद्दत गरेको छ कि ?
हो । खासगरी त नतीजाको अंक नै हो । जे जस्ता क्रियाकलाप गराएर भए पनि कुनै विद्यालयले राम्रो अंक (ग्रेड)मा धेरै विद्यार्थी उत्तीर्ण गराउन सकेको छ भने अभिभावकहरूको आकर्षण तिनै विद्यालयमा हुन्छ । यो हिसाबले हेर्दा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको नतीजा राम्रो भएको पनि यथार्थ हो । तर अभिभावकले राम्रो नतीजासँगै कुन विद्यालयमा पढाउँदा आफ्ना सन्तानले जीवन उपयोगी शीपहरू सिक्छन्, पढाइका साथै उनीहरूको सर्वांगीण विकास हुन्छ भन्ने विषयमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।
त्यसो भए अभिभावकले कस्ता विद्यालय छान्नु उपयुक्त हुन्छ ?
अंकको नतीजामा मात्र केन्द्रित भएर पढाउने परिपाटीले बालबालिकालाई खुला सामाजिक परिवेश, सामाजिक कामहरूमा बाल क्लब र किशोर–किशोरी क्लब जस्ता संगठनात्मक गतिविधिमा सक्रियता कम भएको छ । यसले उनीहरूमा जीवनका अति महत्त्वपूर्ण पक्षहरू पारिवारिक तथा सामाजिक उत्तरदायित्व बोध कम हुँदै गएको स्पष्टसँग देख्न सक्छौं । त्यसैले आफ्ना बालबालिकाको विषयगत नतीजाका साथै उनीहरूमा सामाजिक तथा मानवीय भावना विकास गराउने गतिविधिमा स्वतः सामेल हुने गुण विकास गराउने विद्यालय छान्नु उपयुक्त हुन्छ ।
संस्थागत विद्यालय अभिभावकप्रति जवाफदेही हुने कारण पनि यतापट्टि बढी आकर्षण भएको हो कि ?
त्यो त पक्कै पनि हो । त्यसो हुनुमा प्रमुख कारण संस्थागत विद्यालय शिक्षामा परेको अभिभावकको लगानी हो । संस्थागत विद्यालयमा रहेका सुविधा तथा प्रणालीका कारण अभिभावकले सामुदायिक विद्यालयमा भन्दा बढी शुल्क बुझाउनु परिरहेको हुन्छ । त्यसमाथि जुन नतीजाको अपेक्षा गरेर उक्त शुल्क बुझाएको हुन्छ, त्यसको प्रतिफल त अभिभावकले खोज्ने नै भए । त्यसैले पनि विद्यार्थीले उत्कृष्ट प्रतिफल ल्याओस् र अभिभावकको खर्च पनि सदुपयोग होस् भन्ने हेतुले संस्थागत विद्यालयले घरमा सम्पर्क गरिरहने, विद्यार्थीको अवस्थाबारे अभिभावकसँग छलफल गर्ने गर्दछन् । यो नै संस्थागत विद्यालयको सबैभन्दा ठूलो शक्ति हो । यसलाई सामुदायिक विद्यालयले पनि व्यवहारमा उतार्न सके सामुदायिक विद्यालयको पनि शैक्षिक स्तर उकासिनुका साथै विद्यार्थी, अभिभावकको विश्वास जित्न सम्भव हुन्छ ।
प्रतिक्रिया [0]