ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पिसाबसम्बन्धी जन्मजात रोगको उपचार शल्यक्रिया नै हो

Jul 19, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found अधिकांशले व्यस्तता, अल्छीपन लगायत विभिन्न कारण पिसाब रोकेर बस्छन् । तर यस्तो बानीले पिसाबसम्बन्धी समस्या निम्तिन्छ । लामो समयसम्म पिसाब रोकेर बस्दा ब्ल्याडरमा ब्याक्टेरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाका कारण मूत्रनलीमा संक्रमण हुन्छ । पिसाब रोक्दा त्यसको दबाब मिर्गौलामा पर्छ । यसैले गर्दा मिर्गौलाको रोग लाग्न सक्छ । साथै मूत्रप्रणालीमा काम गर्ने मांशपेशी कमजोर पनि हुन्छ । पिसाब रोक्नाले मूत्रथैली फुल्छ । यसले गर्दा मूत्रथैलीको छाला कमजोर हुन्छ । साथै दुखाइ पनि शुरू हुन्छ । मूत्रनली र अण्डकोषका समस्यामा केन्द्रित रहेर आर्थिक अभियान दैनिकका काशीराम बजगाईंले बी एन्ड बी अस्पताल, ग्वार्कोका प्रबन्ध निर्देशक एवं युरोलोजिस्ट डा. जगदीशलाल वैद्यसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश : मूत्ररोगहरू के के हुन् ? मुख्यतः मूत्ररोग नेफ्रोलोजी र युरोलोजी गरी दुई प्रकारका हुन्छन् । युरोलोजीसम्बन्धी मूत्ररोग जन्मजात र अर्को जन्मेदेखि वृद्धावस्थासम्म जुनसुकै समयमा पनि हुन सक्छ । पिसाब नलीको टुप्पोदेखि नभई तल वा माथिबाट बग्ने, पिसाबथैली पेटबाहिर देखिने, छोरा वा छोरी भनी लिंग छुट्ट्याउन नसकिने जस्ता विभिन्न प्रकारका जन्मजात मूत्ररोग हुन्छन् । यस्तै, सक्रिय उमेर मानिने २० देखि ४० वर्षको उमेरमा किड्नी वा पिसाब नलीमा ढुंगा देखिन सक्छ । सामान्यतया उमेर बढ्दै जाँदा पुरुषको प्रोस्टेट ग्ल्यान्ड बढ्दै जाने हुन्छ । तर कतिपय अवस्थामा प्रोस्टेट ग्ल्यान्ड बढ्दै जाँदा पिसाब रोकिने, किड्नी, पिसाब नली, अण्डकोष र पिसाबथैलीमा क्यान्सर देखिन सक्ने लगायत युरोलोजीसम्बन्धी समस्या देखिन सक्छन् । महिलामा पिसाबसम्बन्धी कस्ता रोग देखिन्छन् ? महिलामा सानैदेखि पिसाबमा संक्रमण देखिन सक्छ । विवाहपछि पिसाबसम्बन्धी समस्या बढी देखिन्छ, अर्थात् यौन सक्रिय उमेरमा महिलामा पिसाबको समस्या देखिन सक्छ । यस्तो अवस्थामा पिसाब पोल्ने, पिसाब रोक्किने लगायत लक्षण देखिन्छन् । महीनावारी रोकिएपछि पनि महिलामा पिसाबसम्बन्धी समस्या पुनः आउन सक्ने भएकाले विशेषज्ञ तथा डाक्टरसँग परामर्श लिएर उपचार गर्नुपर्छ । मूत्ररोगका लक्षणहरू के के हुन् ? जन्मजात कतिपय मूत्ररोग त हेरेर पनि थाहा पाउन सकिन्छ । तर अन्य मूत्ररोग लाग्दा पिसाब पोल्ने, पिसाबनलीबाट पिप बग्ने, घरी घरी पिसाब लाग्ने, पिसाब चुहिने, रोकिने, पिसाबमा रगत बग्ने लगायत लक्षण देखापर्छन् । यस्ता लक्षण देखिन छाडेपछि पनि रोग जीवित हुन सक्छ ? रगत देखिने, पिसाब पोल्ने, पिप बग्ने लगायत यस्ता विभिन्न समस्या देखिएपछि कतिपय अवस्थामा स्वतः देखिन छाड्छन् । तर एकपटक समस्या आएर रोकिएको छ भने त्यस्तो अवस्थामा मूत्रनली, मूत्रथैली लगायतमा क्यान्सर पनि हुन सक्छ । यसकारण यस्तो समस्या देखिएपछि डाक्टरसँग परामर्श गर्नुपर्छ । पिसाब रोगबाट बच्न के गर्नुपर्छ ? पिसाबसम्बन्धी जन्मजात रोगको उपचार शल्यक्रिया नै हो । जन्मजात पिसाबरोगको शल्यक्रिया डेढ वर्षदेखि गर्न सकिन्छ । तर पिसाबसम्बन्धी अन्य रोगबाट बच्ने उपाय अपनाउन सकिन्छ । सबैभन्दा मुख्य कुरा धूमपान गर्नै हुँदैन । पानी प्रशस्त पिउनुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ र केही लक्षण देखिएमा तुरुन्त अस्पताल गएर चेकजाँच गराउनुपर्छ । मूत्ररोगको उपचार कसरी गरिन्छ ? किड्नीको क्यान्सर, प्रोस्टेट ग्ल्यान्ड र जन्मजात मूत्ररोगको शल्यक्रिया गर्नुपर्छ । पिसाबको नलीभन्दा तल वा माथिबाट बग्ने रोगको प्लास्टिक सर्जरी गर्नुपर्छ । पिसाबथैली पेट बाहिर भए त्यो थैली काटेर आन्द्राको पिसाब थैली बनाइन्छ । यस्तै, पानीको कमीले किड्नी र पिसाबनलीमा देखिन सक्ने पत्थरलाई चिरेर पनि निकाल्न सकिन्छ । आजकाल भने मेशिनले वा प्वाल पारेर यन्त्र घुसाएर पनि यसको सहज शल्यक्रिया गर्न सकिन्छ । अंग नचिरेर पिसाबसम्बन्धी रोगको शल्यक्रिया गर्ने प्रक्रियालाई एन्डोयुरोलोजी भनिन्छ । ३७ वर्षअघि मैले नै नेपालमा सर्वप्रथम एन्डोयुरोलोजी गरेको थिएँ । यस्तै, पुरुषको उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्नु सामान्य भए पनि यसले क्यान्सर हुन सक्छ । यसबारे समयमै सचेत हुनुपर्छ । पिसाबसम्बन्धी कुन रोग सबैभन्दा जटिल हुन्छ ? सामान्यतया पिसाबसम्बन्धी रोग देखिएमा डाक्टरसँग परामर्श लिने, जँचाउने गरिहाल्नुपर्छ । समयमै यसको उपचार गर्नुपर्छ, शल्यक्रिया गर्नुपर्ने देखिएमा त्यसमा पनि ढिलो गर्नुभएन । युरोलोजीसम्बन्धी रोगमा पुरुषको अण्डकोष बटारिने समस्या देखिन सक्छ । यसरी अण्डकोष बटारिँदा अण्डकोष दुखेर सुन्निने लक्षण देखिन्छ । यस्तो लक्षण देखिएमा ३ घण्टाभित्र अस्पताल पुर्‍याएर ६ घण्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । सामान्यतया यस्तो लक्षण देखिँदा हाइड्रोसिल हो कि भनेर चुप बस्ने गरेको देखिन्छ । हाइड्रोसिल समस्या होइन, तर यस्तो समस्या देखिँदैमा त्यो हाइड्रोसिल नहुन सक्छ । ६ घण्टाभित्र शल्यक्रिया गरिसक्नुपर्ने हुँदा यस्तो समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । मूत्ररोगसम्बन्धी उपचार कत्तिको सर्वसुलभ छ ? आजकाल मेडिकल उपकरणमा धेरै विकास भइसकेको छ । सूक्ष्म तरीकाले ठूला शल्यक्रिया गर्न सकिन्छ । संसारभर धेरै खर्चिलो उपचारमध्ये मूत्ररोगसम्बन्धी उपचार पनि हो । लामो ट्रेनिङ लिनुपर्ने, उपकरण प्रयोग गर्न जान्ने जनशक्ति उत्पादन गर्न खर्च तथा समय धेरै लाग्ने, उपकरण महँगो हुने हुँदा यसको उपचार पनि महँगो नै हुन्छ । तर नेपालमा भने मूत्ररोगसम्बन्धी रोगको उपचारबाट कसैले वञ्चित हुनुपर्ने अवस्था छैन । निजी अस्पतालमा महँगो हुने भए पनि सरकारी अस्पतालमा यसको उपचार सित्तैमा हुन्छ । अन्त्यमा के भन्नुहुन्छ ? ४० वर्ष अघितिर हप्तामा दुई बच्चाको मूत्ररोगसम्बन्धी शल्यक्रिया हुन्थ्यो । अहिले वर्षमा दुई ओटासम्म हुन्छ । त्यतिबेला पोषण र पानीको कमीले बच्चामा मूत्ररोग बढी देखिन्थ्यो, त्यो अहिले घटेको छ । यद्यपि अहिले वृद्धहरूमा प्रोस्टे«टको कारण पिसाबसम्बन्धी रोग बढी देखिन थालेको छ । खानपिन लगायतमा ध्यान दिई यस्ता रोगबाट बच्न सकिन्छ । मूत्ररोगको समयमै उपचार भएन भने समस्या जटिल बन्ने हुँदा यसम्बन्धी केही लक्षण देखिनेबित्तिकै विशेषज्ञको परामर्श लिने, समयमै उपचार गर्ने विषयमा सबैलाई सचेत हुन आग्रह गर्दछु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)