प्राथमिक बजारमार्फत पूँजीबजारमा प्रवेश गरेकी सुष्मा ढुंगाना अहिले सक्रिय लगानीकर्ताको रूपमा परिचित छिन् । शेयर लगानीकर्ता दबाब समूहमा प्रथम उपाध्यक्षको रूपमा रही उनले लगानीकर्ताको हकहितका लागि आवाज उठाउँदै आएकी छिन् । अल्पकालीनभन्दा दीर्घकालीन लाभ लिन चाहेर शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता सफल हुने उनको बुझाइ छ । यिनै विषयवस्तुमा रहेर आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानीको सार :
पूँजीबजारमा तपाईं कहिलेदेखि सक्रिय हुनुहुन्छ ?
पूँजीबजारमा मेरो सक्रियता २०६९/७० सालदेखिको हो । मेरो पहिलो आईपीओ कमर्श एन्ड ट्रस्ट बैंकको थियो । यो कम्पनी ग्लोबल आईएमई बैंकसँग गाभियो ।
लगानीका अन्य क्षेत्रहरू पनि थिए । त्यो समयमा पूँजीबजार नै किन रोज्नुभयो ?
मेरो एकजना साथी हुनुहुन्थ्यो । उहाँको श्रीमान् त्यो समयमा पूँजीबजारमा लगानी गर्नुहुँदो रहेछ । पूँजीबजारमा लगानी गर्दा फाइदा हुने साथीबाटै थाहा पाएँ । म साथीकै सल्लाहबाट प्रेरित भएर यो क्षेत्रमा लागेको हुँ । त्यतिबेला शेयरबजारको राम्रो माहोल बन्दै थियो ।
त्यतिबेला के गर्दै हुनुहुन्थ्यो ? पूँजीबजारमा लगानी गर्न तपाईंको आम्दानीको स्रोत के थियो ?
त्यो समयमा मेरो श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । म यहाँ बसेर छोरा हुर्काउँथेँ । श्रीमान्को विदेशको कमाइबाटै मैले पूँजीबजारमा लगानी गरेको हुँ । शुरूमा यसबारे श्रीमान्लाई नभनी लगानी गरेँ । आईपीओ पनि पर्यो, तर त्यो कहाँ लगेर बेच्ने भन्ने थाहा थिएन । प्रमाणपत्रहरू ब्रोकर विक्री गर्ने ठाउँ खोज्दै ५५ नं ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकिङ कम्पनीमा पुगेँ । शेयर कारोबारसम्बन्धी धेरै जानकारी त्यहाँबाट पाएपछि म दोस्रो बजारमा पनि प्रवेश गरेँ ।
यो क्षेत्रमा लगानी गरेर सन्तुष्ट हुनुहुन्छ ?
जुन बेला म आईपीओमा लगानी गर्थें, त्यो बेला सबै कम्पनीको आईपीओ पथ्र्यो । म सबैजसो कम्पनीको आईपीओमा लगानी गर्थें । पहिले प्राथमिक शेयरबाट बजार प्रवेश गरेकाले घाटा भने भएको छैन । बजार १८८१ को बिन्दुुमा पुग्दा समेत शेयर नबेची बसेँ । त्यो बेला बेच्दा हुने फाइदा सम्झेर घाटामा छु भन्ने लाग्दैन । मैले श्रीमान्ले पठाएको पैसा बैंकमा राखेको भए सीमित ब्याजमात्र पाउँथे होला । तर यसमा भएको लगानी बढ्दै गएको छ । त्यो बेलाको भन्दा अहिले आर्थिक रूपमा जीवनस्तर विकास भएको जस्तो लागेको छ । त्यसैले आफ्नो लगानीप्रति सन्तुष्ट नै छु । सन्तुष्ट भएरै यो क्षेत्रलाई निरन्तरता दिएकी हुँ ।
प्रवेश गर्दा र अहिलेको पूँजीबजार कसरी विश्लेषण गर्नुहुन्छ ?
शेयरबजारमा पहिलेभन्दा अहिले महिलाको सहभागितामा धेरै परिवर्तन देख्छु । मैले कारोबार गर्ने ब्रोकर कम्पनीमा त्यो समयमा महिला म मात्र हुन्थेँ । शेयर भर्न बिहानदेखि बेलुकासम्म लाइन बसेको अनुभव पनि छ । दोस्रो बजारमा कारोबारका लागि पनि ब्रोकर अफिस धाइरहनुपर्ने अवस्था थियो । शेयर पर्यो भने क्यापिटलमा प्रमाणपत्र लिन जानुपथ्र्यो । जुन कामका लागि पनि कम्पनीमै धाउनुको विकल्प थिएन । अहिले यस्ता सबै झन्झट हटेका छन् । आजभोलि हामी साथीभाइ भेट हुन्छ, नयाँ कुराको अपटेड हुन्छ भनेर मात्र ब्रोकर कार्यालय जान्छौं । कारोबार त घरमै बसेर गर्न सकिने सुविधा पाइसकेका छौं । छोटो अवधिमै पूँजीबजारमा प्रविधिले निकै फड्को मारेको छ । यो सब नियाल्दै आएको हामीले पूँजीबजारको भविष्य उज्ज्वल देखेका छौं ।
यो क्षेत्रमा महिला लगानीकर्ताको उपस्थिति बढिरहेको छ । यो क्षेत्रमा लगानी गरेर आत्मनिर्भर हुने अवस्था छ ?
सुझबुझ तरीकाले अध्ययन गरेर प्रवेश गर्ने हो भने यो क्षेत्रमा आत्मनिर्भर हुने अवस्था छ । अहिले बजारमा हेर्ने हो भने धेरै महिला दिदीबहिनी यही क्षेत्रको लगानीबाट आर्थिक रूपमा सबल बन्दै गएका उदाहरण छन् । चुनौती त जुन क्षेत्रमा पनि हुन्छन् । व्यवसाय गर्ने भएपछि कि नाफा हुन्छ कि घाटा, यो निश्चित छ । त्यसैले नाफा भयो भन्दैमा अन्धाधुन्ध लगानी गर्ने र घाटा भयो भन्दैमा निराश हुने लगानीकर्ता भने पूँजीबजारमा मात्र होइन, कुनै पनि क्षेत्रमा सफल हुँदैनन् । अल्पकालीन होइन, दीर्घकालीन लाभको आशा गरेर बजारको उतारचढावमा चल्न सक्ने लगानीकर्ता सबै सफल नै भएको देखेको छु ।
लगानीकर्ताको हकहितका लागि संगठनमा पनि आबद्ध हुनुहुन्छ । निर्णय गर्नुपर्दा महिला भएकै कारण तपाईंहरूको मत कत्तिको प्राथमिकतामा पर्ने गरेको छ ?
अरू संघमा के कस्तो छ, मलाई जानकारी छैन । तर हाम्रो संगठनमा भने हामी महिलाका विचार/अभिव्यक्तिलाई प्राथमिकतामा राखेरै निर्णय हुने गरेको छ । लगानीकर्ता संघमा नेतृत्व गर्ने जति पनि हामी महिला छौं, सबैलाई सक्रिय देखेरै जिम्मेवारी दिइएको छ जस्तो लाग्छ । यो क्षेत्रमा सक्रिय भइरहँदा केही धेरै बुझ्दै गएका छौं । निर्णय गर्दा मात्र होइन, पूँजीबजार सम्बन्धी हरेक सेवा सुविधामा महिलालाई प्राथमिकता दिएको पाएको छु ।
पूँजीबजारको विकासका लागि लगानीकर्ता संघहरूले विगत १ वर्षमा ठूलै पहल गरेको देखिन्छ । यस्ता संघहरूको पहलबाट प्राप्त ठूलो उपलब्धि के हो जस्तो लाग्छ ?
विगत १ वर्षलाई भने पूँजीबजारको विकास र विस्तारका लागि लगानीकर्ता संघहरूले धेरै पहल गरेका छन् । यसका उपलब्धि पनि धेरै छन् । महत्त्वपूर्ण उपलब्धिको रूपमा पूँजीगत लाभकर ७ दशमलव ५ प्रतिशत देखि घटेर ५ प्रतिशत कायम भएको छ । समयमै दोस्रो बजारमा अनलाइन भित्र्याउन लगानीकर्ता संघहरूले पहल गरे । यसको प्रभावकारी कार्यान्वयनमा समेत सम्बद्ध निकायहरूलाई घच्घच्याउने काम गरियो । अहिले यसको प्रभाव राम्रो देखिएको छ । नियामक निकायहरूले आफ्नो ठाउँमा बसेर काम गरिरहनु भएको छ । तर उहाँहरूलाई पनि घच्घच्याउदा झनै प्रभावकारी नीतिनियम आउने र कार्यसम्पादन हुने अहिलेको उपलब्धिले स्पष्ट पारेको छ ।
अहिले पूँजीगत लाभकर गणना कागजी प्रक्रियामा भइरहेको छ । यसलाई प्रविधिमैत्री बनाउने सम्बन्धमा नियामक निकायसँग सहमति भएको छ । खासमा समस्या कहाँ रहेछ ?
पूँजीगत लाभकर गणनाका लागि स्पष्ट आधार नभएकाले जुन दिन कागजी प्रक्रियामा लैजाने निर्देशन आयो, त्यो दिनदेखि नै हामी सम्बन्धित निकायहरूसँगको छलफलमा थियौं । २०६४ साउन ३० गतेभन्दा पहिलाको रेकर्ड सीडीएस र नेप्सेमा नभएकाले खास समस्या त्यहीँ पायौं । सम्बन्धित निकायले रेकर्ड राखिदिएको भए अहिले लगानीकर्तालाई दुःख हुने थिएन । यो समस्या समाधानका लागि पूँजीबजार सम्बद्ध सरोकारवाला निकायबीच छलफल भयो । उक्त छलफलपछिको सहमतिमा २०६४ साउन ३० गतेदेखि २०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीको मूल्यको औसतलाई आधार बनाई सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने र उक्त निर्णयलाई अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ । यो विषय चाँडै टुंगिनेछ ।
यो वर्षको मौद्रिक नीतिलाई कसरी लिनुहुन्छ । पू“जीबजारलाई सहयोग हुने केही कुरा आए जस्तो लाग्छ ?
अहिलेको मौद्रिक नीतिले पूँजीबजारको विषय समेट्ला भन्ने उत्साह लगानीकर्तामा कम थियो । त्यसैले पूँजीबजारका विषय समेटिएनन् भनेर निरुत्साहित हुनुपर्ने अवस्था पनि छैन । तर राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जरको कुरा ल्याइरहँदा यसबाट पूँजीबजारमा प्रभाव नपर्ने खालको विषय समेट्न लगानीकर्ताले सुझाव भने दिएका थिए । शेयरबजारको सबैभन्दा बढी हिस्सा ओगटेका वाणिज्य बैंकहरू मर्जरमा जाँदा कारोबार बन्द गर्नुपर्ने व्यवस्थाले बजारमा पर्ने असर कम गर्ने खालको व्यवस्था राष्ट्र बैंकले गर्नुपर्थ्यो । योबाहेक पूँजीबजारको विकास र विस्तारका लागि बजेटमा सम्बोधन भएका केही विषय र उच्चस्तरीय सुझाव समितिको ५८ बुँदे सुझाव कार्यान्वयनकै चरणमा रहेकाले असन्तुष्ट हुनुपर्ने विषय छ जस्तो लाग्दैन ।
आम लगानीकर्ताका र नियामक निकायलाई तपाईंको के सुझाव छ ?
आफू महिला भएको नाताले भन्नुपर्दा विशेषगरी महिला दिदीबहिनीहरूलाई यो क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ । हाम्रा लागि अन्य व्यवसायभन्दा पूँजीबजार राम्रो छ । किनभने यसलाई समय दिन हामीहरूलाई धेरै सजिलो हुन्छ । ११ देखि ३ बजेको समय हामी घरव्यवहारमै अल्झिएका महिलाका लागि त धेरै उपयुक्त हो । बिहान–बेलुकाको समय घरपरिवार र दिउँसोको समय शेयर बजारलाई दिएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मेरो अनुभव छ । नियामक निकायलाई मेरो सुझाव, हाम्रो संघले दिएको ३२ बुँदे सुझाव यथाशीघ्र कार्यान्वयन गर्नुपर्यो । ब्रोकर कमिशन बढी भयो । यसलाई घटाउन पहल गर्नुपर्यो । अहिले स्टक एक्सचेन्ज एउटा मात्र भएकोमा निजीक्षेत्रको अर्को स्टक एक्सचेन्ज भए प्रतिस्पर्धामा राम्रो हुन्थ्यो कि ? पूँजीबजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरा मात्र भइरहेको छ । विदेशमा भएका नेपालीको लगानी भित्र्याउन नियामक निकायले समयमै नीतिगत व्यवस्था गरिदिए हुन्थ्यो । यस्तै बैंकलाई ब्रोकर लाइसेन्स जतिसक्दो चाँडो दिए हामी लगानीकर्तालाई राम्रो हुन्थ्यो ।