ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौरजहारीमा जग्गाको कारोबार वृद्धि 

Jul 30, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम  । रुकुम पश्चिमको चौरजहारीमा जग्गाको कारोबार बढेको छ । जिल्लाका ६ स्थानीय तहमध्ये चौरजहारी नगरपालिकामा धेरै जग्गा किनबेच भएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा जग्गा रजिस्ट्रेशन पासबापतको सबैभन्दा बढी शुल्क चौरजहारी नगरपालिकाबाटै उठेको छ । 

गत आवमा चौरजहारी नगरपालिकाले अन्य पालिकाभन्दा ४४ लाख ८० हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । सदरमुकामस्थित मुसीकोट नगरपालिकामा भने घरजग्गा कारोबार घटेको छ । गत आवमा ३३ लाख ७० हजार रुपैयाँ जिल्ला मालपोत कार्यालयबाट मुसीकोट नगरपालिकामा राजस्व बापतको रकम निकासा भएको छ । 

तीन नगरपालिकामध्ये आठबीसकोट नगरपालिकाबाट २६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । ‘घरजग्गा किनबेच भएकै आधारमा रजिस्ट्रेशन पास शुल्क स्थानीय तहमा वितरण हुने गरेको जिल्ला मालपोत अधिकृत मालपोत अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिए । 

नगरपालिकामा घरजग्गा किन्नेले ४ प्रतिशत रजिष्ट्रेशन पास शुल्क तिर्नुपर्छ भने गाउँपालिकामा घरजग्गा किन्नेले २ प्रतिशत रजिस्ट्रेशन पास शुल्क तिर्नुपर्ने व्यवस्था छ । रुकुम पश्चिमका तीन गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । त्रिवेणीले रजिस्ट्रेशन पास शुल्कबापत १२ लाख ४७ हजार, बाँफिकोटले १० लाख ९६ हजार र सानीभेरीले ८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् । 

रजिस्ट्रेशन पास शुल्कबापत कर्णाली प्रदेशमा ९१ लाख ४३ हजार रुपैयाँ गएको मालपोत कार्यालय रुकुम पश्चिमले जानकारी दिएका छन् । रजिष्ट्रेशन पास शुल्कबापतको ६० प्रतिशत सम्बन्धित स्थानीय तह र ४० प्रतिशत रकम प्रदेशमा पठाउने प्रावधानअनुसार कर्णाली प्रदेशमा पनि पठाइएको मालपोत अधिकारी गिरीले बताए । मालपोत कार्यालयमा प्राप्त हुने विभिन्न शीर्षकको राजस्व भने संघीय सरकारमा पठाइएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)