प्रवीर ददेल
रुकुम । रुकुम पश्चिमको एक बस्ती बाढीको जोखीममा छ । अविरल वर्षापछि ठूलीभेरी नदीको कटानले आठबीसकोट नगरपालिका–६ मनकाबगर गाउँ जोखिममा परेका हो । बाढीले यहाँका तीन घर बगेका छन् भने ८ घर उच्च जोखिममा छन् ।
स्थानीयका अनुसार बाढीले पत्रे बोहरा र भीमबहादुर थापाको घर बगाएको छ । यस्तै अर्को एउटा घर आधाभन्दा बढी भत्केको छ । घर बगेपछि पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । घरहरू जोखिममा परेपछि स्थानीयलाई अन्यत्र सार्ने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । अघिल्लो वर्ष ठूलीभेरीले सोही नगरपालिका–४ का आधा दर्जन घर बगाएको थियो ।
जाजरकोट–सडक खण्ड निर्माणको क्रममा झरेका ढुंगा र माटोका कारण ठूलीभेरीले बहाव परिवर्तन गरेर बस्ती कटान गर्न थालेको आठबिसकोट नगरपालिकाले बताएको छ । अघिल्लो वर्ष कटान गरिएको क्षेत्रमा संघ, प्रदेश सरकार र आठबिसकोट नगरपालिकाले रू. २ करोडबराबरको तारजाली लगाएको थियो । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष कम क्षति भएको छ,’ नगरपालिका उपप्रमुख गीता नेपालीले भनिन्, ‘नदी कटानबाट बस्ती जोगाउन प्रयास गर्दै छौं, नगरपालिकाका साथै नगर प्रहरी, जनपथ लगायत सुरक्षाकर्मी पनि तयारी अवस्थामा छन् ।’ आपत्कालीन अवस्थाका लागि नगरपालिकामा खाद्यान्न लगायत सामग्रीको बन्दोवस्त समेत गरिएको छ ।