विश्वमा हरेक वर्ष १४ लाख मानिस हेपाटाइटिस ‘ए’बाट संक्रमित हुने गरेका छन् । यस्तै २ करोड व्यक्ति हेपाटाइटिस ‘बी’ र १५ करोड व्यक्ति हेपाटाइटिस ‘सी’बाट संक्रमित छन् । हेपाटाइटिस भाइरलका कारण प्रत्येक वर्ष १० लाख जनाको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा बेला बेला हेपाटाइटिस ‘ई’ महामारीको रूपमै फैलिने गरेको छ । ४ वर्षअघि विराटनगरमा फैलिएको हेपाटाइटिस ‘ई’का कारण १ महीनामै ११ जनाले ज्यान गुमाएका थिए । यसै सन्दर्भमा हेपाटाइटिस रोग, यसका कारण, बच्ने उपाय लगायत विषयमा वीर अस्पतालका पूर्वनिर्देशक एवं पेट तथा कलेजो रोग विशेषज्ञ डा. भूपेन्द्र बस्नेतसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
भाइरल हेपाटाइटिस भनेको के हो ?
कलेजो शरीरको महत्त्वपूर्ण अंग हो । एक देखि डेढ किलोसम्मको तौल हुने यो अंग पेटको माथिल्लो दायाँ भागमा हुन्छ । हेपाटाइटिस भाइरसका कारण कलेजोमा हुने संक्रमण नै भाइरल हेपाटाइटिस हो । हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘बी’, हेपाटाइटीस ‘सी’, हेपाटाइटिस ‘डी’ र हेपाटाइटिस ‘ई’ गरी हेपाटाइटिस भाइरस पाँच प्रकारको हुन्छ । ‘बी’ र ‘सी’ भाइरस एक प्रकृतिको हुन्छ भने ‘ए’ र ‘डी’ अर्को । ‘डी’ भाइरस चाहिँ ‘बी’सँगै मिसिएर बस्छ ।
हेपाटाइटिस रोग लाग्नुको कारण के हो ?
हेपाटाइटिस ‘ए’ तथा ‘बी’ दूषित खाना र पानी सेवनका कारण हुन्छ । अहिलेको समयमा (गर्मी मौसम)मा धेरै हुने हेपाटाइटिस यही हो । घरबाहिरको जथाभावी खानेकुरा खाने, अप्रशोधित पानी पिउने लगायत कारण यो रोग लाग्छ । ‘बी’ र ‘सी’ रगतको कारण हुन्छ । अरूले प्रयोग गरेका सुई, ब्लेड, नैनीलगात सामान जथाभावी प्रयोग गर्ने, जाँचै नगरी रगत लिने तथा असुरक्षित यौनसम्पर्क गर्ने आदि क्रियाकलापले यो रोग सर्न सक्छ ।
यो रोग लाग्दा कस्ता लक्षण देखिन्छन् ?
हेपाटाइटिस ‘ए’ र ‘ई’ हुँदा शुरूमा वाकवाकी लाग्ने, खान मन नलाग्ने, बान्ता हुने, पेटको माथिल्लो भाग दुख्ने, पिसाब पहेँलो हुने, आँखा पहेलो हुने जस्ता लक्षण देखिन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’मा पनि सामान्यतया ‘ए’ र ‘ई’मा जस्तै लक्षण देखिन्छन् । यस्तै पेट सुन्निने, पेटमा पानी भरिने, खुट्टा सुन्निने, रगत बान्ता हुने, दिशामा रगत देखिने लगायत लक्षण देखिन्छन् । ‘बी’ र ‘सी’ भाइरसको संक्रमणले कलेजो फेल हुने र कलेजोमा क्यान्सर देखिने सम्भावना पनि हुन्छ ।
यीमध्ये सबैभन्दा खतरनाक भाइरस कुन हो ?
‘ए’ र ‘ई’ भाइरसले हुने भाइरल हेपाटाइटिस उपचारपश्चात् पूर्णतया सन्चो हुन्छ । दीर्घकालीन असर पनि देखिन्न । तर बी र सीमा चाहिँ धेरैजसो दीर्घकालीन असर देखिन्छन् । यी भाइरसको कारण विस्तारै कलेजो बिग्रँदै जान्छ र कलेजो फेल हुन सक्छ । यसले कलेजोमा क्यान्सरको खतरा समेत निम्त्याउन सक्छ । कलेजो सामान्यतया नरम हुन्छ । तर यी भाइरसले कलेजोमा सिरोसिस (कडापन) ल्याउँछ । ‘बी’भाइरसमा ‘डी’जोडिनु रोग झनै जटिल हुनु हो ।
हेपाटाइटिसको उपचार पद्धति के हो ?
हेपाटाइटिस ‘ए’ र ‘ई’मा खासै उपचार आवश्यक पर्दैन । यी भाइरसको संक्रमण फैलिए घरमा आराम गर्ने, पौष्टिक खानेकुरा खाने र विशेषज्ञसँग परामर्श गरी लक्षणअनुसारको औषधि खाने आदि काम गर्नुपर्छ । जस्तै– बान्ता हुँदा, जरो आउँदा त्यसलाई रोक्ने, टाउको दुख्दा निको पार्ने औषधि सेवन गर्नुपर्छ । ‘ए’ र ‘ई’ भाइरस हो भन्ने थाहा पाएपछि लक्षणअनुसार मेडिकलबाट औषधि लिई सेवन गर्न सकिन्छ । यद्यपि विशेषज्ञसँगको परामर्शपछि औषधि लिनु झनै बेश हुन्छ । ‘ए’ र ‘ई’ हेपाटाटिस सामान्य रोग हो । तर यो भाइरसको संक्रमण भएका एक प्रतिशत बिरामीको कलेजो फेल हुने तथा कलेजोको क्यान्सर हुने सम्भावना हुन्छ । लक्षण कडा रूपमा देखिएमा अनिवार्य परामर्श र जाँच गर्नुपर्छ । जाँचपछि कलेजो फेल वा कलेजोको क्यान्सर भएको पहिचान भएमा औषधि सेवन र थप उपचार गर्नुपर्छ । यसरी पनि सञ्चो नभए कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ ।
‘बी’ र ‘सी’ हेपाटाइटिसको उपचार कसरी हुन्छ ?
‘बी’ र ‘सी’ हेपाटाटिसका लागि रगत जाँच गरेर कलेजोको कुन भाग बिग्रिएको छ, हेरेर सोहीअनुसार औषधि सेवन गर्नुपर्छ । हेपाटाइटिस ‘बी’को लामो समय (करीब २ देखि ३ वर्ष)सम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । ‘बी’ भाइरस कलेजोको सेलसँग डीएनएसँगै बस्ने हुँदा यसलाई पूर्णतया हटाउन सकिने सम्भावना एकदम कम हुन्छ । तर यो भाइरसबट संक्रमित बिरामी औषधि सेवन गरी स्वस्थ व्यक्तिसरह जीवनयापन गर्न सक्छ । ३ वर्षअघिसम्म ‘सी’को उपचारै हुँदैन भन्ने थियो । तर अहिले ‘सी’का लागि सोफोसभिर, हेल्पाटासभिर, डाक्लाटासभिर लगायत औषधिको उत्पादन भएको छ । यसकारण ३ देखि ६ महीना औषधि सेवन गरेर यो रोगबाट बच्न सकिन्छ ।
भाइरल हेपाटाइटिसबाट बच्न के गर्नुपर्छ ?
हेपाटाइटिस ‘ए’ र ‘ई’ हुन नदिन खानपानमा ध्यान दिनुपर्यो । यो रोगको कारण नै दूषित खाना र पानी हो । खुला ठाउँमा राखिएका वा जहाँ पायो त्यहाँको खाना खानुहुँदैन । सकभर घरमै बनेको खाना खानुपर्छ । उमालेको, फिल्टर गरेको स्वस्थकर पानी पिउनुपर्छ । खासगरी वर्षाको समयमा खानपिनमा सतर्कता अपनाउनुपर्छ । ‘बी’ र ‘सी’ भाइरसबाट बच्न रगत जाँचेर मात्र लेनदेन गर्नुपर्छ । अरूले प्रयोग गर्ने नेलकटर, रेजर, सिरिन्ज लगायत सामान प्रयोग गर्नुहुँदैन । गर्नेपर्दा पूर्णरूपमा निर्मलीकरण गरिएको हुनुपर्छ । सुरक्षित यौनसम्पर्क गर्नुपर्छ ।
नेपालका सन्दर्भमा कुन हेपाटाइटिसका बिरामी बढी आउने गरेका छन् ?
ठ्याक्कै तथ्यांक त छैन, तर अहिले ‘ए’ र ‘ई’ भाइरसले संक्रमित बिरामी बढी आइरहेका छन् । सामान्य भए पनि कहिलेकाहीँ यी भाइरसले महामारीको रूपसम्म लिन सक्छन् । केही समयअघि विराटनगरमा हेपाटाइटिस ‘ई’ महामारीका रूपमा फैलिएको थियो ।
कुन उमेर समूहका व्यक्तिमा यो भाइरस बढी सक्रिय हुन्छ ?
स्कूले बच्चामा ‘ए’ र प्रौढ समूहका व्यक्तिमा ‘ई’ भाइरसले बढी आक्रमण गरेको देखिन्छ । ‘बी’ भाइरस मंगोलियन जाति समूहका मानिसमा बढी देखिएको छ, उक्त जातिमा यो भाइरस बढी देखिनुको कारण चाहिँ पत्ता लागेको छैन । ‘सी’ भाइरस लागूऔषधको दुव्र्यसनमा फसेका व्यक्तिमा बढी देखिएको छ ।
कस्तो अवस्थामा बिरामी अस्पताल आउने गरेका छन् ?
हेपाटाइटिस भाइरस विदेश जान स्वास्थ्य जाँच गर्ने क्रममा कतिपयमा देखिने गरेको छ । कोही जन्डिस भएपछि आउँछन् । यस्तै केही मानिस कलेजो बिग्रिसकेको अवस्थामा पनि आउने गरेका छन् ।
यो रोगको जाँचका लागि उपकरणको उपलब्धता कस्तो छ ? नेपालको उपचारपद्धति विश्वस्तरीय छ त ?
काठमाडौंबाहिर ‘ए’ र ‘ई’ भाइरसको पनि जाँच गर्ने उपकरण सबै ठाउँमा उपलब्ध छैन । ‘बी’ र ‘सी’का लागि डीएनए र आरएनएको स्तर जाँच्नुपर्ने हुन्छ । २ वर्ष अघिसम्म यसको जाँचका लागि भारत जानुपथ्र्याे । अहिले नेपालमै हुन्छ । तर काठमाडौंबाहिर खासै राम्रो सुविधा छैन । जाँचका लागि सबै ठाउँमा उपकरण नभए पनि रोग पत्ता लागिसकेपछि नेपालमा यसको अन्तरराष्ट्रिय स्तरको उपचार हुन्छ । अन्य देशमा भएका औषधि हामीकहाँ उपलब्ध छन् । ‘ए’ र ‘ई’को अपवाद बाहेकमा त्यस्तो विशेष उपचार गर्नुपर्दैन । ‘सी’ भाइरसले संक्रमण गरेका बिरामी सन्चो हुने सम्भावना ९८ प्रतिशतसम्म छ, ‘बी’को सोभन्दा अलिकति कम छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
स्वस्थकर खानपिन तथा जीवनशैलीमा ध्यान दिँदा यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । त्यसैले यस विषयमा सचेत रहन आग्रह गर्दछु ।