ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँपालिकाकै लगानीमा विद्युत् विस्तार गरिँदै

Aug 13, 2019  
प्रदेश समाचार लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नै लगानीमा वडा नं. ३, ४ र ५ मा विद्युत् विस्तार गर्न लागेको छ । गाउँपालिकाको वडा नं. ४ धामपुरमा विद्युत् सबस्टेशन निर्माण भए पनि कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाइनको काम ठेकेदारको ढिलासुस्तीले एक दशकदेखि अलपत्र परेपछि गाउँपालिका आफै विद्युत् विस्तारमा अग्रसर भएको हो । 

काम अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का सम्झौता नेपाल विद्युत् प्राधिकरणले तोडे पनि विवाद साम्य हुन सकेको छैन । राप्तीपारि विद्युतीकरणका विषयमा बाँके आउँदा ऊर्जामन्त्रीले धेरै पटक आश्वासन मात्रै बाँडे पनि प्रतिबद्धताअनुसार विद्युत् सेवा भने पुर्‍याउन सकेनन् ।

गाउँपालिका अध्यक्ष लाहुराम थारूले राप्तीपारिका बासिन्दाको बिजुली बाल्ने सपना पूरा गर्न गाउँपालिकाले आफ्नै लगानीमा विद्युत विस्तार गर्न लागेको बताए । गाउँपालिकाको वडा नं. १ स्थित ‘कुसुम सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’मार्फत ११ केभी प्रशारण लाइन वडा नं. ३, ४ र ५ विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए । 

चालू आर्थिक वर्ष २०७६/७७ भित्रै वडा नं. ३ सम्म विद्युत् विस्तार गर्ने र लगत्तै वडा नं. ४ र ५ मा पनि काम थाल्ने गाउँपालिकाको योजना छ । वडा नं. ३ मा अबको ६ महीनाभित्रै विद्युत् लाइन विस्तार गरिसक्ने लक्ष्य राखिएको राप्तीसोनारी गाउँपालिकाले बताएको छ । सो कार्यका लागि गाउँपालिकाले चालू आवमा रू. १ करोड ३९ लाख छुट्याएको अध्यक्ष थारूले बताए । 

गाउँपालिकाले विद्युत् विस्तारको काम थालेपछि ती वडाका बासिन्दा खुशी भएका छन् । बैजापुरका स्थानीय रामलौटन थारूले भने, ‘वर्षौंदेखि काम अलपत्र पारेर ठेकेदारले हामीलाई धोका दिएको अवस्थामा गाउँपालिकाले महत्वपूर्ण कदम अघि बढाएकोमा हामी अत्यन्त खुशी छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)