रुकुम । देशमा कुल जनसंख्याभन्दा बढीमा मोबाइल सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ । पछिल्लो समय टेलिकम कम्पनीहरू फोनको गुणस्तर सुधार र फोरजी इन्टरनेट विस्तारमा लागेको पनि सुनिन्छ । तर रुकुम पश्चिममा भने थ्रीजी, फोरजी इन्टरनेटको कुरै छाडौं, मोबाइल फोन सम्पर्क समेत राम्ररी हुँदैन ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोट गाउँका भरत पुुन मगर बिहान र साँझ फोन गर्न पाउँदैनन् । ‘बिहान साढे १० बजेअघि र बेलुकी ९ बजेपछि मोबाइलबाट सम्पर्क हुँदैन,’ उनले भने, ‘मोबाइल फोनबाट सेवाभन्दा बढी तनाव भएको छ ।’
पुथाउत्तरगंगा–६ की अधिलाख नेपालीको समस्या पनि उस्तै छ । गाउँमा पछिल्लो समय राति फोन गर्नै नसकिने उनले बताइन् । नेपाल टेलिकमको टावरले काम नगर्दा वर्षायाममा सर्वसाधारणले यसरी नै समस्या भोग्नुपरिरहेको हो । यस क्षेत्रमा नेपाल टेलिकमका सीडीएमए (स्काई) र जीएसएम (नमस्ते) फोन वितरण भएका छन् । तर यी दुवै फोनले गाउँका सबै ठाउँमा सधैं काम गर्दैन ।
बिहान साढे १० बजेपछि मात्र मोबाइलमा टावर आउने र बेलुकी ९ बजेपछि फेरि टावर जाने समस्या भइरहेको स्थानीय कर्म घर्तीले बताए । यस क्षेत्रमा केही दिनअघि झन्डै १ साता मोबाइल फोन अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमले पुथाउत्तरगंगाका बिर्गुम र बालिपोमा टावर बनाएको छ । यी दुवै टावर पूर्णरूपमा सञ्चालनमा आउँदा पनि सबै भूभागमा नेटवर्क पुग्न सकेको छैन । सोलारको भरमा टेलिफोन टावर सञ्चालन भएकाले समस्या भएको नेपाल टेलिकम, रुकुम पश्चिमका प्रमुख कृष्णबहादुर शर्माले बताए । जिल्लामा टेलिकमका कर्मचारी छैनन् । बिग्रिएपछि मात्रै आएर बनाउने गरेका छन् ।
मोबाइल नेटवर्कको समस्या पुथाउत्तरगंगामा मात्र होइन, भुमे र सिस्ने गाउँपालिकामा पनि छ । भुमे गाउँपालिकाको केन्द्र खबाङ बजारमा जीएसएम फोनले राम्ररी काम गर्दैन । सिस्ने गाउँपालिकाका सबै क्षेत्रमा फोनको पहुँच छैन ।