ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमै विश्वस्तरीय प्लास्टिक सर्जरी हुन्छ

Aug 16, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
डा. जसवन शाक्य, मेडिकल डाइरेक्टर एवं प्लास्टिक सर्जन, सुष्मा कोइराला मेमोरियल अस्पताल

शरीरमा ट्युमर पलाएका वा विभिन्न दुर्घटनामा अंगभंग भएका (अवस्था अनुसार) मानिसलाई प्लास्टिक सर्जरी गरी सामान्य अवस्थामा फर्काउन सकिन्छ । प्लास्टिक सर्जरीबाट नाक, मुख, स्तन, पेट लगायत अंग आफूले चाहेको आकार प्रकारको बनाउन समेत सम्भव भएको छ । विभिन्न कारण शरीरको स्वाभाविक आकृति फेरिएका मानिसलाई प्लास्टिक सर्जरीले दैनिक जीवनयापनमा धेरै सहज बनाएको डा. जसवन शाक्य बताउँछन् । उनी १० वर्षदेखि प्लास्टिक सर्जनको रूपमा कार्यरत छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर उनीसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

प्लास्टिक सर्जरी भनेको के हो ?
प्लास्टिक सर्जरीको अर्थ ‘रिमोडलिङ’ हो । जसरी प्लास्टिकलाई आफूलाई चाहिने आकारमा ढाल्न सकिन्छ, त्यसैगरी छालालाई आफूले चाहेको आकारमा शल्यक्रियामार्फत बदल्न सकिन्छ । सोही कारण यस्तो शल्यक्रियालाई प्लास्टिक सर्जरी भनिएको हो । यो शल्यक्रियामा प्लास्टिकको प्रयोग हुन्छ भन्ने भ्रम धेरैमा पाइन्छ, तर यथार्थ यो होइन । यसमा शल्यक्रिया गरिने अंगमा सोही व्यक्तिको अन्य अंगको छाला प्रयोग गरिन्छ ।

प्लास्टिक सर्जरी कति प्रकारको हुन्छ ?
रिकन्स्ट्रक्टिभ र कस्मेटिक गरी प्लास्टिक सर्जरी दुई प्रकारको हुन्छ । शरीरका नमिलेका अंग मिलाउन गरिने प्लास्टिक सर्जरी कस्मेटिक प्लास्टिक सर्जरी हो । आँखा, नाक, ओठ, स्तन लगायत अंग आफूले चाहेको आकारमा सानो वा ठूलो बनाउन, पेट घटाउन, अनुहारका रौं हटाउन आदिका लागि कस्मेटिक प्लास्टिक सर्जरी गरिन्छ । यस्तै दुर्घटनाका कारण अंगभंग भएमा, दैनिक काम गर्न नसकिने भएमा, छाला गएमा वा शरीरमा दाग देखिएमा रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरी गर्न सकिन्छ ।

कस्तो अवस्थामा प्लास्टिक सर्जरी गर्न सकिँदैन ?
हरेक अवस्थामा प्लास्टिक सर्जरी गर्न सकिन्छ भन्ने हुन्न । अवस्था हेरेर प्लास्टिक सर्जरी गर्न सकिन्छ कि सकिँदैन भन्न सकिन्छ । जस्तै, औंला बांगिएर कामै नलाग्ने भयो भने त्यसलाई प्लास्टिक सर्जरी गर्न सकिँदैन ।

रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरी कस्तो अवस्थामा गरिन्छ ?
आगोले पोलेर अथवा दुर्घटनामा परेर अंगभंग भएमा, बच्चा अस्वाभाविक शारीरिक संरचनासहित जन्मिएमा, शरीरमा ट्युमर देखिएमा वा यस्तै अन्य अवस्थामा रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरी गरिन्छ । दैनिक जीवनका काम गर्न सजिलो बनाउन यस प्रकारको प्लास्टिक सर्जरी आवश्यक हुन्छ । जस्तै– कोही दुर्घटनामा परेर छाला गयो, जन्मिँदै बढी औंला वा जोडिएका औंला लिएर जन्मियो, शरीरमा अनावश्यक ट्युमर देखा पर्‍यो भने यस प्रकारको प्लास्टिक सर्जरी गर्न सकिन्छ ।

प्लास्टिक सर्जरीले अनुहार वा सर्जरी गरिएको अंग पुरानै अवस्थामा फर्काउन सकिन्छ ?
प्लास्टिक सर्जरीपछि अनुहार नै बदलिन्छ भन्ने भ्रम पनि छ । कतिपय फिल्ममा प्लास्टिक सर्जरी गरेर अनुहार नै अर्कै बनाएको पनि देखाइन्छ । तर वास्तवमा यस्तो हुँदैन । प्लास्टिक सर्जरीद्वारा पुरानै रूपमा फर्काउन र पूर्णतया दाग हटाउन सकिन्न । कतिपय मानिस दुर्घटनापछि जति पनि खर्च गर्न तयार छु र संसारको जुनसुकै ठाउँमा गएर पनि उपचार गराउन सक्छु भनेर पहिलेकै अनुहारमा फर्कन चाहने आशा लिएर पनि आउने गरेका छन् । तर नेपालमा मात्र नभएर संसारको कुनै पनि ठाउँमा यो सम्भव छैन । यस्तो सर्जरीबाट मुख, नाक, आँखा आदि खोल्न सकिन्न भने खोल्न सकिने, जलेर छाती र मुख एउटै ठाउँमा टाँसिएको छ भने त्यसलाई सर्जरी गरेर दैनिक जीवनयापन गर्न सकिने बनाउन सकिन्छ । यस्तै, शरीरमा आफूलाई अस्वाभाविक लागेका अंगलाई सानो ठूलो बनाउन र भएको दागलाई केही कम गर्न सकिन्छ । यद्यपि पूर्णतया दाग जाने भन्ने होइन । 

कति समयपछि प्लास्टिक सर्जरी गर्न सकिन्छ ?
जन्मजात समस्यासहित जन्मिएमा जन्मिएको ३ देखि ५ महीनामा बच्चाको तौल १० किलो छ र उसमा ज्वरो, रुघाखोकी लगायत स्वास्थ्य समस्या छैन भने प्लास्टिक सर्जरी गर्न सकिन्छ । जन्मजात हो भने छिटो सर्जरी गर्नु बढी प्रभावकारी हुन्छ । यस्तै आगोले पोलेर वा अन्य दुर्घटनामा परेर क्षति भएको अवस्थामा ६ महीनादेखि १ वर्षमा शल्यक्रिया गर्नु राम्रो हुन्छ । एकैचोटि सोझै प्लास्टिक सर्जरी गरिँदैन । घाउ निको हुन दिएपछि गरिन्छ ।

प्लास्टिक सर्जरीको प्रक्रिया के हुन्छ ?
सबैभन्दा पहिले त घाउ निको हुन दिनुपर्छ । त्यसपछि अवस्था हेरेर गर्न सकिन्छ । बिरामीको अवस्थाअनुसार शल्यक्रिया फरक हुन्छ । कतिपय अवस्थामा मल्टिपल प्लास्टिक सर्जरी गर्नुपर्ने हुन सक्छ । सामान्यतया आगोले पोलेको अवस्थामा मल्टिपल सर्जरी गर्नुपर्छ ।

मल्टिपल प्लास्टिक सर्जरीका लागि कति समयको फरक हुनुपर्छ ? यो समयबीचमा बिरामीले के गर्नुपर्छ ?
दुईओटा सर्जरीबीच समयको फरक कम्तीमा ३ देखि ५ महीना हुनुपर्छ । यसका लागि घाउ पूर्णतया निको हुन दिनुपर्छ । यो बीचमा घरमै गर्न सकिने केही फिजियोथेरापी हुन्छन्, त्यो गर्नुपर्छ । तेल, क्रिम लगायत चिल्लोपदार्थ लगाएर मालिस गर्नुपर्छ ।

प्लास्टिक सर्जरीपछि केही समस्या पनि देखिन्छन् ?
प्लास्टिक सर्जरीले पूर्णतया पहिलेको अवस्थामा ल्याउने होइन । यसले जीवनयापन गर्न सहज बनाउने हो । यसमा सर्वप्रथम सबै स्पष्ट हुनुपर्छ । यसकारण शल्यक्रियापछि सोचे जस्तो नतीजा नआउन सक्छ । यस्तै वर्षौंसम्म मालिस गर्नुपर्ने हुन सक्छ । अन्य समस्या खासै हुँदैन ।

प्लास्टिक सर्जरी कत्तिको महँगो छ ?
प्लास्टिक सर्जरी आफैमा महँगो होइन । मल्टिपल प्लास्टिक सर्जरी गर्नुपर्दा चाहिँ अस्पतालमा बस्नुपर्ने भएकाले यसको चार्ज केही महँगो हुने हो । हाम्रो जस्तो देशमा विद्युत्, आगो र पेट्रोलले आगलागी बढी हुन्छ । आगोले पोलेलगत्तै राम्रो उपचार हुन नसकेमा पछि सर्जरी अप्ठ्यारो हुन्छ र समय पनि बढी लाग्छ । डाक्टरको खर्चभन्दा पनि अस्पताल लगायतको खर्च बढी लाग्छ । सामान्यतया हाम्रो देशमा सरकारी र संस्थाबाट चलेका अस्पतालमा रू. १० हजारदेखि ३ लाख वा अवस्था र सर्जरीअनुसार केही बढी पनि लाग्न सक्छ ।

नेपालमा विश्वस्तरीय प्लास्टिक सर्जरी हुन्छ त ?
आवश्यक उपकरण र सर्जनको अभाव छ । नेपालमा ३५ जनामात्र प्लास्टिक सर्जन छन् । यीमध्ये पनि अधिकांश काठमाडौंमै केन्द्रित छन् । गुणस्तरकका हिसाबले नेपालमै विश्वस्तरीय प्लास्टिक सर्जरी हुन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)