प्यूठान नगरपालिका पूर्वाधार विकासका साथै कृषि, पशुपालन लगायत क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासका कामले तीव्रमा पाएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् । प्रस्तुत छ, नगरपालिकाले गरेका काम, आगामी योजना लगायत विषयमा आर्थिक अभियानका प्यूठान संवाददाता राजेश जिसीले कक्षपतिसँग गरेको कुराकानीको सार :
नगरमा हाल के कस्ता काम हुँदै छन् ?
चालू आर्थिक वर्षको खरीद योजना बनाउन केन्द्रित छौं । गत आव २०७५/७६ को समीक्षाको तयारी पनि हुँदै छ । तथ्यांकहरू संकलन तथा विश्लेषण गरेर प्रतिवेदन बनाउनेतर्फ लागिरहेका छौं । समायोजन भएर आएका कर्मचारीको व्यवस्थापन गरिरहेका छौं । अन्य काम पनि अघि बढेका छन् ।
बितेको २ वर्षमा नगर विकासको प्रगति कस्तो रह्यो ?
हामीले विशेषगरी कानून बनाउन समय खर्च गर्यौं । यो अवधिमा ४० ओटा ऐननियम तथा कार्यविधि बनाइसकेका छौं । हामी आउँदा नगरमा आधारभूत पूर्वाधार पनि थिएन । नगरको १५ वर्षे गुरुयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नगर शिक्षा योजना ल्यायौं । खानेपानी, सडक, पर्यटन तथा खेलकुद क्षेत्रमा करीब १ दर्जन ठूला योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेका छौं । केही योजनामा काम पनि शुरू भइसकेको छ । बस्ती विकासको योजना पनि अगाडि सारेका छौं । भित्रीकोट दरबारलाई पर्यटन केन्द्रको रूपमा विकास गर्न योजनाबद्ध ढंगले अघि बढेका छौं ।
शिक्षाक्षेत्रमा भएका महत्त्वपूर्ण काम के के हुन् ?
नगर क्षेत्रमा निःशुल्क शिक्षा लागू गर्न खोजिरहेका छौं । नगरसभाले पूर्णरूपमा निःशुल्क भर्ना गर्ने नीति लिएको छ । चालू शैक्षिक सत्रमा भर्ना गर्दा विद्यालयले लिएको शुल्क फिर्ता गर्ने योजना छ । हामीसँग चारओटा प्राविधिक विद्यालय छन्, जसलाई नगरपालिकाले सघाउँदै आएको छ । शिक्षालाई गुणस्तरीय बनाउन यो क्षेत्रको लगानीमा पनि जोड दिएका छौं । विद्यालय व्यवस्थापन समितिको क्षमता बढाउने, भौतिक पूर्वाधार व्यवस्थित गर्ने, शिक्षक पदपूर्ति गर्ने र बालविकासलाई पनि पूर्वाधारयुक्त बनाउने कार्यक्रम अघि बढाएका छौं ।
नगर क्षेत्रमा कृषि तथा पशुपालनको अवस्था कस्तो छ ?
अहिलेसम्म कृषि र पशुपालन क्षेत्रमा राज्यको लगानी धेरै भइसकेको छ । तर यो वितरणमुखी भयो, अनुदानमुखी भयो । त्यसैले लगानीको प्रतिफल आउनेगरी कृषिको व्यावसायिकता विकासमा जोड दिएका छौं । नगरका दाखाक्वाडी र मरन्ठानालाई तरकारीको पकेट क्षेत्र बनाउन कार्यक्रम शुरू भएको छ । यसैगरी बाख्राको तीन ओटा र मौरीपालनको एउटा एउटा पकेट क्षेत्र निर्धारण गरिएको छ ।
तर लगानी अनुसारको उपलब्धि देखिएको छैन नि ?
पकेट क्षेत्रको काम गत आवदेखि शुरू गरेका हौं । लगानीअनुरूप प्रतिफल आउन केही समय लाग्छ नै । तर पनि म गर्वसाथ भन्छु, हामी विदेश जान लागेका केही युवालाई रोक्न सफल भएका छौं । विदेश जान सम्पूर्ण कागज बनाइसकेका युवालाई बाख्रापालन, तरकारीखेती, कुखुरापालन लगायत व्यवसायमा संलग्न गराएका छौं । कृषिउपजको बजारीकरणमा पनि ध्यान दिएका छौं । तरकारी तथा फलफूल बजार व्यवस्थित गर्न बाग्दुलामा १० वर्षको भाडामा जग्गा लिएर २८ ओटा सर्टर बनाएका छौं । त्यसको व्यवस्थित रूपमा सञ्चालन हुनेछ ।
नदी नियन्त्रणको लागि योजना के छ ?
नगरपालिकाले शुरूदेखि नै प्रदेशका सम्बन्धित मन्त्रालय, ऊर्जामन्त्री, सचिवलाई यहाँको समस्याबारे अवगत गराएका छौं । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले गरेको डीपीआर प्रदेश र संघ सरकारको ऊर्जा मन्त्रालयमा पनि बुझाएका छौं । संघको कार्यक्रममा चालू आर्थिक वर्षमा झिम्रुक माडी आयोजनाको रूपमा नदी नियन्त्रणको काम हुने भएको छ । संघले दुई–तीन जिल्लालाई समेटेर बहुउद्देश्यीय योजनाको रूपमा काम गर्दै छ । झिमु्रक माडी कोरिडोर आयोजनाकै रूपमा स्वीकृत भएको छ । त्यसले तटबन्ध र सिँचाइको पनि काम गर्दै छ ।
सडक व्यवस्थित बनाउन के योजना छ ?
बाहै्र महीना गाडी चल्ने बनाउन नगरका केही सडकमा ग्राभेलको काम गरेका छौं । नाली निर्माणमा पनि ध्यान दिएका छौं । नगर यातायात गुरुयोजना निर्माण भइसकेको छ । त्यसलाई गतवर्ष केही परिमार्जन गरेका छौं ।
फोहोरमैलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
फोहोरमैला व्यवस्थापन नगरको चुनौतीको रूपमा छ । यसलाई व्यवस्थित गर्न धेरै प्रयास गरेका छौं । नगरको फोहोर व्यवस्थापन केन्द्र नगरपालिकाको कार्यालय छेउमै बनाएका छौं । कुहिने वस्तुबाट मल बनाउने काम पनि भइरहेको छ । फोहोर व्यवस्थापनमा सघाउन प्रत्येक बजार बस्तीमा बजार सरसफाइ समिति पनि गठन गर्यौं । उठ्ने शुल्कको ४० प्रतिशत सम्बन्धित बजार सरसफाइ समितिलाई दिने अभ्यास शुरू गरेका छौं । चालू आवमा घरघरमा गएर चेतना फैलाउने कार्यक्रम समेत गर्दै छौं ।
नगरको राजस्व वा आन्तरिक आम्दानी बढाउन कस्तो रणनीति छ ?
राजस्वको क्षेत्र बढाउन लागिपरेका छौं । यो वर्ष पनि धेरै गृहकार्य गर्यौं । नगरवासीलाई करको दर बढाउने भन्दा पनि क्षेत्र बढाउनेतर्फ प्रयास गरेका छौं । अझै पनि ४–५ ओटा क्षेत्र बढाउँदै छौं । बाग्दुला, बिजुवार, जुम्री बसपार्कमा पार्किङको व्यवस्था गरेर शुल्क लिँदै छौं ।
वडा कार्यालयबाट राजस्व संकलन किन हुन सकिरहेको छैन ?
सूचना प्रविधि कमजोर भएकाले यो वर्ष हामीलाई समस्या भएको हो । गत वर्षदेखि नै सबै वडाबाट राजस्व बुभ्mने व्यवस्थाका लागि प्रयास गरिरहेका छौं ।
नगरलाई कस्तो बनाउने सोच छ ?
कम्तीमा नगरपालिका क्षेत्रमा कालोपत्र सडक, व्यवस्थित बसोवास, अहिलेसम्म भएका सडक वातावरणमैत्री बनाउने, भित्री सडक पनि कालोपत्र गर्ने, खानेपानीको समस्या समाधान गर्ने जस्ता पूर्वाधारका काम भएमा नगरको मुहार फेरिन सक्छ । जनप्रतिनिधिले चाहेर मात्र स्थानीय सरकारको जिम्मेवारी पूरा हुँदैन । त्यसका लागि सबै नगरवासीको सहयोगको अपेक्षा गरेको छु । सबै पक्षको सहयोगले मात्र नगरपालिका समृद्ध बन्न सक्छ ।