मस्तिष्कमा रगत नपुग्दा अक्सिजन र पोषण तत्त्वको कमी हुन्छ, जसकारण मस्तिष्कका कोष मर्छन् र ब्रेन स्ट्रोक (मस्तिष्काघात) हुने गर्छ । एक अध्ययनका अनुसार संसारमा ६ जनामा १ जनालाई मस्तिष्काघातको सम्भावना हुन्छ । दुर्घटनापछि सबैभन्दा बढी मस्तिष्क मृत्यु मस्तिष्काघातबाट हुने गरेको विज्ञहरू बताउँछन् । मस्तिष्काघातका कारण मृत्यु नै पनि हुन सक्छ भने बाँचे पनि जीवनभर पक्षाघात हुन सक्छ । प्रस्तुत छ, मस्तिष्काघात, यसको कारण, उपचार पद्धति, बच्ने उपाय लगायत विषयमा न्यूरो सर्जन डा. प्रकाश विष्टसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
मस्तिष्काघात के हो ?
मुटुलाई चाहिने रगतको कमीले मुटु खराब भई हृदयाघात हुन्छ । त्यसैगरी मस्तिष्कलाई आवश्यक पर्ने रगतको अभावमा ज्यानै जानेगरी वा पक्षाघात भएर बाँच्नुपर्ने गरी मस्तिष्काघात हुन सक्छ । रक्तनली फुटेर मस्तिष्कमा रक्तश्राव भएर वा मस्तिष्कमा रगत नै नपुगेर मस्तिष्काघात हुन्छ । रगत नपुगेर हुने मस्तिष्काघात स्केमिक र रक्तनली फुटेर हुने मस्तिष्काघात हेमोरेजिक मस्तिष्काघात हो ।
मस्तिष्काघात किन हुन्छ ?
शरीरमा अत्यधिक कोलेस्टेरोल (बोसो)को मात्रा बढी हुँदा रक्तनलीमा पनि यो जम्न सक्छ, जसले गर्दा शरीरमा रक्तसञ्चार हुन पाउँदैन र मस्तिष्काघात हुन्छ । रक्तनलीमा कोलस्टेरोल जम्मा हुँदा रक्तनली कमजोर भई फुटेर रक्तश्राव हुन थाल्छ । त्यस्तै बोसो अत्यधिक हुँदा रक्तनली नफुटे पनि रक्तनलीबाट रगत प्रवाह हुन नसकेर रगत जम्ने लगायत समस्या आउन सक्छ । मस्तिष्काघात हुने मुख्य कारण यही हो ।
मस्तिष्काघात हुँदा कस्ता लक्षण देखिन्छन् ?
सामान्यतया स्केमिक र हेमोरेजिक दुवै मस्तिष्काघातमा एकै प्रकारका लक्षण देखिन्छन् । स्केमिकमा विस्तारै लक्षण देखिँदै जाने र यसले प्रभाव पनि विस्तारै पार्ने हुन्छ । तर हेमोरेजिक मस्तिष्काघात एक्कासि हुने गर्छ र यसले प्रभाव पनि छिटो पार्छ । यस प्रकारको मस्तिष्काघात बढी खतरनाक हुन्छ । मस्तिष्काघात हुँदा मस्तिष्कको कुनै भागमा असर गरेको छ त्यसअनुसार लक्षण देखिन्छन् । जस्तै– मस्तिष्कको दायाँ भागमा असर पुगेको छ भने बायाँतर्फका हात खुट्टा लगायत अंग चल्दैनन् र बायाँमा असर पर्दा दायाँतिरका अंग नचल्ने हुन्छन् । यस्तै बोल्न नसक्ने, मुख बांगिने, आँखाले देखे पनि वस्तु चिन्न नसक्ने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण सामान्य अवस्थामा हुन्छन् भने रोग जटिल हुँदा बिरामी कोमामा जान सक्छ ।
यस्ता लक्षण देखिएर पक्षाघात हुनु वा कोमामा जानु मस्तिष्काघात हुनु हो ?
सामान्यतया लक्षण हेरेर मस्तिष्काघातको अनुमान गर्न सकिन्छ । सीटी स्क्यानपछि मस्तिष्काघात हो/होइन भन्ने पत्ता लाग्छ ।
कहिलेकाहीँ केही समय यस्ता लक्षण देखिएर आफै पनि निको हुने गरेको पाइन्छ । यो पनि मस्तिष्काघात हो त ?
हो, कहिलेकाहीँ केही समय यस्ता लक्षण देखिएर आफै निको हुने पनि गर्छ । यो मस्तिष्काघात नै हो । यसलाई ट्रान्जिट इस्मिक अट्याक (टीआईए) भनिन्छ । यस्तो अवस्थामा मस्तिष्कले रगत प्राप्त नगरेर क्षणिक रूपमा पक्षाघात भई २४ घण्टाभित्र आफै निको हुन्छ । यो मस्तिष्काघात हुन लागेको चेतावनी हो । यस्तो लक्षण देखिएमा जतिसक्दो चाँडो न्यूरो सर्जनसँग परामर्श गरी थप चेकजाँच तथा उपचार गर्नुपर्छ । यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर प्रकारको मस्तिष्काघात हुन सक्छ ।
मस्तिष्काघातको उपचार पद्धति के हुन्छ ?
रक्तनली बन्द भएर मस्तिष्कमा रगत कम भयो भने उक्त रक्तनली खोल्ने काम गरिन्छ । नलीमा रगत जमेको छ भने त्यसलाई औषधिद्वारा पगाल्न वा शल्यक्रिया गरी बाहिर निकाल्न सकिन्छ । हेमोरेजिक मस्तिष्काघात हुँदा बिरामीको अवस्था हेरेर उपचार गरिन्छ । सामान्य अवस्थामा औषधिद्वारा रगत सोस्ने काम गर्न सकिन्छ । बिरामी गम्भीर छ र जमेको रगत मस्तिष्कको सतहमा छ वा बिरामी कोमामा छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गरेर रगत बाहिर निकाल्नुपर्छ ।
मस्तिष्काघातपछि मस्तिष्क मृत्यु हुने सम्भावना कत्तिको हुन्छ ?
मस्तिष्काघातको राम्रो उपचार भएन भने मस्तिष्क मृत्यु हुन सक्छ । दुर्घटनापछि सबैभन्दा बढी मस्तिष्क मृत्यु हुने कारण मस्तिष्काघात हो । मस्तिष्क मृत्यु भनेको मृत्यु नै भएकाले मस्तिष्काघातको राम्रो उपचार नभएर मानिसको ज्यानै जान सक्छ ।
मस्तिष्काघात भएको कति समयभित्र उपचार गराउनुपर्छ ?
स्केमिक मस्तिष्काघात भएको ४ घण्टाभित्र अस्पताल लैजान सके राम्रो मानिन्छ । यस अवस्थामा उपचार गराए बिरामी पहिलेकै अवस्थामा फर्कन सक्छ । यस लगायत अवस्था हेरेर यो समयपछि पनि पहिलेकै अवस्थामा आउन सक्नेगरी उपचार सम्भव हुन्छ, तर यथाशक्य चाँडो उपचार गराउनुपर्छ । हेमोरेजिक मस्तिष्काघात स्केमिक भन्दा बढी खतरनाक हुन्छ । यो मस्तिष्काघात हुँदा मृत्यु हुने सम्भावना उच्च हुन्छ र बाँचेकाहरूहरू सामान्यतया अपांग हुन सक्छन् ।
एकपटक मस्तिष्काघात भएकाहरूलाई पुनः मस्तिष्काघात हुने सम्भावना कत्तिको हुन्छ ?
मस्तिष्काघात हुने कारणलाई रोक्न सके मस्तिष्काघात हुने सम्भावना कम हुन्छ । तर अवस्था उस्तै रहे पुनः मस्तिष्काघात हुन सक्छ ।
मस्तिष्काघातबाट कसरी बच्न सकिन्छ ?
रक्तनलीमा कोलस्टेरोल जम्मा हुन दिनु हुँदैन । कतिपय मानिसमा वंशाणुगत रूपमै कोलस्टेरोल उच्च पनि हुन सक्छ । यसलाई कम गर्नुपर्छ । बोसोयुक्त खाद्यपदार्थ खानुहुँदैन । उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्नुपर्छ । जाँडरक्सी सेवन गर्नु पनि मस्तिष्काघात नित्याउनुजस्तै हो । निष्क्रिय जीवनशैलीका कारण विभिन्न रोग लाग्ने गर्छ । त्यसैले नियमित शारीरिक व्यायाम गर्नुपर्छ । यस्ता सामान्य सावधानी अपनाउने हो भने मस्तिष्काघात हुनबाट धेरै हदसम्म बच्न सकिन्छ ।
मस्तिष्काघातको उपचार कत्तिको महँगो छ ? यसको उपचार सहज बनाउन सरकारी स्तरबाट केही पहल भएका छन् ?
मस्तिष्काघातको उपचार महँगो नै मानिन्छ । एउटै इन्जेक्सनको मूल्य सामान्यतया ३० हजारसम्म पर्छ । अन्य औषधि उपचार, अस्पताल खर्च पनि हुन्छ । सरकारले विपन्न नागरिक उपचार कोष स्थापना गरी अन्य पाँचओटा रोगलाई सहुलियत दिने गरे पनि मस्तिष्काघातमा त्यस्तो सुविधा दिएको छैन ।