तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट शहरको अवधारणा अघि सारेको छ । उपमहानगरले आफ्ना सबै काम अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया समेत थालेको छ । यस्तै आर्थिक विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उपमहानगरका प्रमुख घनश्याम पाण्डेय बताउँछन् । प्रस्तुत छ, उपमहानगरको कार्यप्रगति, योजना, विकास गतिविधि लगायतबारे उनीसँग आर्थिक अभियानका घोराही संवाददाता पाण्डव शर्माले गरेको कुराकानीको सार :
तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्षको कार्यप्रगति कस्तो रह्यो ?
पहिलो वर्ष हाम्रा लागि नयाँ अनुभवको वर्ष थियो । संघीयताको पहिलो अभ्यासस्वरूप स्थानीय तहको निर्वाचन भएको थियो । लामो समयदेखिको जनप्रतिनिधिको रिक्तता मेट्दै हामी आएपछि जनताका अपेक्षा एकाएक चुलिएका थिए । आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक परिवर्तनको जग निर्माण गर्नुपर्ने थियो । गतवर्ष हामीले यो क्षेत्रमा केही नमूना काम गरेका छौं । अटो भिलेज, नमूना बसपार्क, कृषिउपज विक्रीकेन्द्र निर्माण लगायत काम हामीले विगतमा गर्यौं । प्राथमिकताका आधारमा गतवर्ष विभिन्न काम अघि भएका छन्, जसमा भौतिक विकासका साथै सामाजिक र मानवीय विकासमा समेत हामीले केही काम गर्यौं । जनताले तत्काल उपलब्धि खोजेकाले केही अपेक्षा अनुसार काम पक्कै नभएको हुन सक्छ । तर हामी योजनाअनुसार काम गरिरहेका छौं ।
तुलसीपुर उपमहानगरको प्राथमिकता कुन क्षेत्रमा हो ?
तुलसीपुर उदाउँदो शहरका रूपमा छ । विभिन्न ग्रामीण ठाउँलाई जोडेर यो उपमहानगर बनेको हो । त्यसो हुँदा हाम्रा प्राथमिकताका क्षेत्र पनि फरक छन् । समृद्ध र हराभरा उपमहानगर बनाउने हाम्रो मुख्य लक्ष्य हो । योसँग कृषि, सडक, वातावरण लगायत विभिन्न पक्ष जोडिन्छन् । तुलसीपुरलाई समुन्नत उपमहानगरका रूपमा विकास गर्ने उद्देयसहित अघि बढेका छौं । यसका लागि आर्थिक विकासलाई बढी प्राथमिकता दिएका छौं । आर्थिक विकासका लागि लगानीको वातावरण निर्माण र रोजगारी सृजना प्रमुख विषय हुन् । तुलसीपुर उपमहानगर बन्दा विभिन्न विकट वडा समेत गाभिएकाले सबै ठाउँलाई सडक सञ्जालले जोड्नेतर्फ लागिपरेका छौं ।
तुलसीपुरलाई अन्य जिल्ला तथा कर्णाली प्रदेशसँग जोड्न कस्तो पहल भइरहेको छ ?
तुलसीपुर मध्यपश्चिमका विभिन्न पहाडी जिल्लाको मुख्य बजार हो । कर्णाली प्रदेशका सल्यान, रुकुम र सुर्खेतसँग यो प्रत्यक्ष सडक सञ्जालमार्फत जोडिएको छ । त्यसैले यसलाई सबै क्षेत्रको केन्द्रका रूपमा विकास गर्न विशेष पहल गरिरहेका छौं । तुलसीपुर विमानस्थल सञ्चालन यसकै एउटा आधार हो । प्रदेशका हिसाबले फरक भए पनि सल्यान र दाङ परिपूरक जिल्लाहरू हुन् । साथै अन्य जिल्लासँग पनि हामी जोडिएका छौं । सल्यानलाई विभिन्न सडक सञ्जालले जोड्न त्यहाँका विभिन्न स्थानीय सरकारसँग समन्वय गरेर काम अघि बढाएका छौं । सडकसँगै शिक्षा, स्वास्थ्य लगायत सुविधाका दृष्टिले पनि अन्य प्रदेशका लागि प्रमुख तुलसीपुर गन्तव्य बन्दै गएको छ ।
तपाईंहरूले तुलसीपुरलाई स्मार्ट सिटीको परिकल्पना गर्नुभएको छ । यसबारे बताइदिनुहोस् न ।
हामी निर्वाचित भएर आएपछि तुलसीपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्य लिएका थियौं । स्मार्ट सिटी आफैमा बृहत् आयाम बोकेको परिकल्पना हो । एकै दिन या एकै वर्षमा त्यो सम्भव हुने कुरा होइन । शहरी वसोवास, व्यावसायिक गतिविधि, प्रशासनिक कामकारबाही आदि व्यवस्थित तवरले हुनु नै स्मार्ट सिटीका विशेषता हुन् । यसको परिभाषा देशको विकास र समुन्नतिको अवस्था हेरेर पनि गर्न सकिन्छ । स्मार्ट सिटीका लागि नगरका हरेक गतिविधि प्रविधिमैत्री समेत हुनुपर्दछ । हामीले उपमहानगरपालिकाका कामकारबाही सञ्चालन र सेवा–सुविधा प्रवाहमा प्रविधिको प्रयोग बढाउँदै लगेका छौं । अहिले हरेक वडामा अनलाइन सेवा सञ्चालन भएको छ । जनताले घरदैलोमा कर तिर्ने र घटना दर्ता गर्ने सुविधा पाएका छन् । अन्य क्षेत्रमा पनि प्रविधिको प्रयोग तथा विस्तार भइरहेको छ । बजार व्यवस्थापनका लागि तरकारी तथा फलफूल बजार निर्माणका साथै बसपार्क र अटो भिलेज निर्माण गरेका छौं । विकासका यस्ता कामले भौतिक रूपमा तुलसीपुरलाई स्मार्ट बनाउँदै लैजाने विश्वास गरेको छु । हामी तुलसीपुरलाई मुलुककै नमूना शहर बनाउन चाहन्छौं ।
सोही अनुसार कार्ययोजना तय गरेर अघि बढ्छौं ।
तुलसीपुर उपमहानगरपालिकामा निजीक्षेत्रको तथा विदेशी लगानी भित्र्याउन कस्तो योजना बनाउनुभएको छ ?
कुनै पनि नगरलाई आर्थिक रूपमा समृद्ध नबनाउँदासम्म नगरको विकास र समृद्धि सम्भव छैन । हामीले तुलसीपुरका आर्थिक आधारहरू पहिचान गर्न ‘तुलसीपुर आर्थिक विकास’ सम्मेलन समेत गर्यौं । उक्त सम्मेलनबाट तुलसीपुरका आर्थिक आधारहरू निर्धारण गरिएको छ । अब त्यसलाई कार्यान्वयन गरेर लैजाने पक्षमा छौं । विदेशी लगानी भित्र्याउने विषय स्थानीय सरकारको अधिकार क्षेत्रभित्र त्यति नपर्ने र यो सबै संघ सरकार मार्फत नै हुने भएकाले हामी एक्लैले पहिचान गरेर मात्र सम्भव छैन । तुलसीपुरलाई केन्द्रमा राखेर अहिले विभिन्न विदेशी कम्पनीले लगानी गर्ने कुरा भइरहेको छ । यस्तै केही स्वदेशी कम्पनीले समेत लगानी गरिरहेका छन् । लगानी ल्याउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौं ।
तुलसीपुर विमानस्थल विगतमा पटक पटक सञ्चालन तथा बन्द हुने क्रम चलिरह्यो । अहिले नियमित सञ्चालन भइरहेको छ । फेरि पनि बन्द नहोला भन्न सकिन्छ ?
तुलसीपुर विमानस्थल हामी आउँदा बन्द अवस्थामा थियो । २०११ सालमा स्थापित यस क्षेत्रकै पुरानो यो विमानस्थल सञ्चालनलाई चुनावी नारा समेत बनाएका थियौं । सोही कारण हामी निर्वाचित भएलगत्तै यस विषयमा पहल गर्यौं । नेपाल वायु सेवा निगमसँग सहकार्य गरेर अहिले दैनिक दुई उडान भइरहेको छ । अब विमानस्थलको धावनमार्ग विस्तार गरेर ठूला जहाज उडान–अवतरण गर्न सक्ने बनाउँछौं । आधुनिक टर्मिनल भवन निर्माण भएको छ । अब यो बन्द हुने अवस्था आउनै सक्दैन ।
तुलसीपुरमा इन्धन डिपो स्थापना हुने खुबै चर्चा भयो । अहिले यसमा भइरहेको छ ?
इन्धन डिपो स्थापना अहिले निकै आवश्यक बन्दै गएको छ । विगतमा एक समय इन्धन डिपो तुलसीपुर विमानस्थलका लागि बन्ने खबर समेत हामीले पाएका थियौ । तर विभिन्न कारणले त्यो आउन सकेन । यसपटक हामीले इन्धन डिपोका लागि आपूर्ति मन्त्रालयमा कुरा गरेका छौं । त्यसलाई सम्बोधन गर्ने मन्त्रीको प्रतिबद्धता समेत पाएका छौं । त्यसैले इन्धन डिपो स्थापना अघि बढ्ने निश्चित छ । सम्भवतः यसै वर्ष स्थापना हुनेमा हामी विश्वस्त छौं ।
जग्गाको जथाभावी खण्डीकरण भइरहेको छ । यो विषयमा उपमहानगरले कस्तो नीति लिएको छ ?
तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा जग्गाको खण्डीकरण रोक्ने नीति अख्तियार गरेको थियो । जग्गाको जथाभावी खण्डीकरण गर्दा त्यसले कृषिक्षेत्रलाई प्रभाव पार्ने निश्चित छ । यो समस्या रोक्न हामीले कृषि र वसोवास क्षेत्र छुट्ट्याउने नीति समेत लिएका छौं ।