ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकासमा राजनिति होइन हातेमालो र सहकार्य हुनुपर्छ, बाँकेमा ३ अर्बका योजना सञ्चालन हुन्छ : मन्त्री राई

Sep 2, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

भदौ १६, नेपालगञ्ज । संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति नभई हातेमालो र सहकार्य गरी अगाडी बढे ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सहयोग पुग्ने बताएका छन् । आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले पछिल्लो समय बाँकेमा विकासमा राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन् । यस्तो प्रवृत्तिलाई किनारा लगाएर विकासमा हातेमालो गरे मात्र सबैले देखेको बाँकेको सपना पुरा हुने उनको भनाइ छ । ‘विकासमा हातेमालो गरौं, द्विविधा र मतभिन्नता भए, हल गरेर अघि बढौं,’ उनले भने, ‘तर अनावश्यक हल्ला फिंजाएर धमिलो पानीमा माछा मार्ने काम नगरौं ।’

मन्त्री राईले नेपालगञ्जलाई देशकै नमुना शहर बनाउने योजना स्वरुप आफूले काम गरिरहेको बताए । भेरी अस्पताल र नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, बाटोघाटो तथा पूर्वाधार विकास, औद्योगिक कोरिडोर र प्राविधिक विश्वविद्यालय स्थापनाका निम्ति आफू निर्वाचित भएदेखि नै लागि परेको उनले जानकारी गराए । ‘प्राविधिक जनशक्ति उत्पादनका लागि नेपालगञ्जमा प्राविधिक विश्वविद्यालयको अझ बढी आवश्यकता देखिएको छ, त्यसका लागि पनि म प्रयासरत छु,’ मन्त्री राईले थपे ।

३ अर्बका योजना सञ्चालन हुने
बाँकेको विकासका निम्ति चालू आर्थिक वर्षमा रू. ३ अर्बका योजना तत्काल कार्यान्वयन हुने मन्त्री राईले जानकारी दिए । ‘विभिन्न धार्मिक स्थलका साथै अन्य क्षेत्रहरुको विकासका लागि यथेष्ट बजेट विनियोजन भएको छ,’ उनले भने, ‘सबै मिलेर राम्रो काम गरौं आगामी दिनमा बाँके नमुना शहर बन्ने छ ।’

नेपालगञ्जको कान्जी हाउसबाट दैलेख लैजाँदै गरिएका गाईगोरु सुर्खेतको जंगलमा मृत भेटिएको घटना अत्यन्त खेदजनक भएको बताउँदै मन्त्री राईले गौहत्या गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरे । ‘सो घटनालाई इतिहासकै लागि कालो दिनको रुपमा लिएको छु,’ उनले भने । छाडा पशु चौपाया व्यवस्थापनका लागि आफू सधैं संवेदनशील र गम्भीर रहेको बताउँदै मन्त्री राईले सर्वपक्षीय तथा सर्वदलीय भेला गरेर यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । ‘पशुचौपाय व्यवस्थापनका लागि नेपालगञ्जवासीबाट सामान्य कर उठाएर भएपनि लाग्नुपर्छ, जनता रिसाउलान् र चुनावमा घाटा होला भन्ने सोचेर हुँदैन ।’ दिनहुँ जसो छाडा चौपायाको कारण दुर्घटनामा परी कतिले ज्यान गुमाएका र कति अंगभंग भएका बताउँदै त्यस्ता घटना न्यूनिकरणको लागि सबै नगरवासी नागरिकले सहयोग गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी बागेश्वरी मन्दिरको जग्गामा भएको अनियमितताको छानबिन गरी धार्मिक सम्पत्तिमाथिको चरम दोहन र भ्रष्टाचार गर्नेलाई कडा कारबाही हुनुपर्ने उनले बताए । नेपालगञ्जको धार्मिक तथा सामाजिक सद्भावलाई खल्बल्याउने षड्यन्त्रप्रति सबै सजग रहनुपर्नेमा मन्त्री राईले जोड दिए ।

मन्त्री राईले नेपालगञ्जको कारकाँदोमा सभाहल निर्माणका लागि बजेट विनियोजन भएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले सम्झौता अनुसार ८ कोठे भवन निर्माण नगरेको, भोगाधिकारको जग्गालाई लिजमा परिणत नगरेका लगायतका कारण सरकारले सम्झौता खारेज गरेको जानकारी दिए ।

यसैबीच मन्त्री राईले बाँकेमा बसेर लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिएका क्यान्सर पीडित वरिष्ठ पत्रकार रेशम विरही र बोन म्यारोको समस्याबाट ग्रसित सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)