विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक प्रदेशस्तरको बैंक बन्ने तयारीमा छ । बैंकले क्षेत्रीय स्तरको सक्षम र सबल बैंकको रूपमा आफ्नो पहिचान बनाइरहेको छ । प्रदेश नं १ को पहाडी र तराईका सात जिल्लामा आफ्ना २८ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिइरहेको छ । प्रस्तुत छ, बैंकको वित्तीय अवस्था, लगानीको सम्भावना, चुनौती लगायत विषयमा आर्थिक अभियानकी मोरङ संवाददाता रोशनी भट्टराईले डेभलपमेन्ट बैंकर्स एशोसिएशनका सदस्य समेत रहेका सुवदीसँग गरेको कुराकानीको सार :
सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ ?
बैंकको अवस्था राम्रो थियो । भर्खरै काबेलीसँगको मर्जरले अझ राम्रो भएको छ, जुन कुराको पुष्टि नियमित रूपमा प्रकाशन गर्ने वित्तीय सूचकांकबाट पनि हुन्छ । हाल बैंकको चुक्तापूँजी लगभग ८० करोड रुपैयाँ छ । निक्षेप करीब रू. २ अर्ब ८० करोड र कर्जा करीब २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
गत आवमा ५ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा आव २०७५/७६ मा लगभग १० करोड ४४ लाख रुपैयाँ भएको छ । बैंकको निष्क्रिय कर्जा पनि कम छ । बैंकका शेयरधनी २५ हजार पुगेका छन् भने कुल १८५ जना कर्मचारी, ७४ हजार निक्षेपकर्ता र ६ हजार ऋणी पुगेका छन् ।
बैंकको शाखा बढाउन जोड दिनुभएको छ, किन ?
नेपाल राष्ट्र बैंकले तोके बमोजिमको पूँजी हकप्रद शेयर जारी गरी पु¥याइयो । बैंकले उचित प्रतिफल दिन र व्यवसाय वृद्धिका लागि पनि शाखा बढाउनैपर्ने भयो । सोहीअनुरूप हालको नेपाल राष्ट्र बैंक नीतिगत व्यवस्थानुसार प्रदेश स्तरको विकास बैंक बनाउन लागिपरेका छौं ।
भर्खरै साविक माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी बनेको साविकको काबेली विकास बैंकसँग मर्जर गरी सात जिल्लामा शाखा सञ्जाल पु¥याएका छौं ।
हाल २८ शाखा कार्यालयमार्फत वित्तीय कारोबार सञ्चालन गरिरहेका छौं । प्रदेश नं १ को पहाडदेखि तराईसम्म वित्तीय पहुँच विस्तारका लागि नयाँ शाखा कार्यालय बढाउँदै गएका छौं ।
आधुनिक बैंकिङ सेवाका लागि के कस्ता प्रविधि प्रयोगमा ल्याउनु भएको छ ?
हामीले आधुनिक बैंकिङ सेवा सुविधाहरूमा एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा, आईपीएस, क्यूआर कोडको सुविधा दिएका छौं । निकट भविष्यमा एटीएम सुविधा पनि दिने तयारी छ ।
अहिले बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
वास्तवमा बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । स्वस्थ प्रतिस्पर्धा हुनु हामी सबैलाई राम्रो नै हुन्छ । तर वित्तीय विकास तथा स्थायित्वलाई नकारात्मक असर पुग्नेगरी अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन । यसले सम्रग बैंकिङ क्षेत्रलाई राम्रो गर्दैन । यद्यपि प्रदेश नं १ का विकास बैंकहरू यस मामिलामा संयमित भएर अगाडि बढेका छन् ।
मर्जपछि बैंकको अवस्था कस्तो छ ?
साविकको काबेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको १ वर्षभित्रै दुई बैंकबीच मर्जर सम्पन्न भयो । यो चुनौतीपूर्ण रहे पनि मर्जरको अनुभव तथा बैंकका सञ्चालक समिति, शेयरधनी र उच्च व्यवस्थापनको कुशल नेतृत्वले प्रदेश स्तरको बैंक बन्ने मुख्य लक्ष्य राख्दै मर्जर सहज रूपमा सम्पन्न गरेका छौं । मर्जर अघि र मर्जर पछाडि हेर्दा कर्मचारीको उत्साहमा कुनै कमी देखिँदैन । परिणामस्वरूप हाम्रो व्यवसायमा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कार्यक्षेत्र ५ जिल्लाबाट ७ जिल्ला पुगेको छ । कर्मचारी, शेयरधनी तथा ग्राहक संख्यामा भएको वृद्धि र सबैको सहयोग तथा शुभेच्छाले बैंक आज यो अवस्थामा आउन सफल भएको हो ।
कर्जा लगानीका लागि कुन क्षेत्रलाई प्राथमिकता दिनु भएको छ ?
कर्जा लगानीलाई उत्पादशील क्षेत्रमा प्राथमिकता दिएका छौं । उत्पादनशील क्षेत्रमा गत आवको भन्दा लगानी बढेको छ । हामीले कृषि, व्यापार व्यवसाय, उद्योग, साना मझौला उद्योग, विपन्न क्षेत्र र सहुलियतपूर्ण कर्जा आदिमा प्राथमिकता दिएका छौं ।
बैंक तथा वित्तीय संस्था कसरी बलियो बनाउन सकिन्छ ?
मानव संसाधनको कुशल व्यवस्थापन, संस्थागत सुशासन, आधुनिक बैंकिङ प्रणालीद्वारा ग्राहक सेवा, स्रोतसाधनको अधिकतम सदुपयोग तथा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई अवलम्बन गर्न सकेमा बैंक तथा वित्तीय संस्था सबल हुन्छन् ।
बैंकिङ क्षेत्रमा कस्ता चुनौतीहरू देख्नु भएको छ ?
मानव संसाधनको व्यवस्थापन, अस्थिर ब्याजदर, आधुनिक बैंकिङ प्रणालीमा नवीनतम प्रविधिको प्रयोग, अस्वस्थ प्रतिस्पर्धा, सञ्चालन जोखिम आदि मुख्य चुनौती छन् ।
बैंकको अबको लक्ष्य के छ ?
प्रदेश नं १ को सबल, सक्षम र ग्राहकको रोजाइको बैंक बन्ने नै हाम्रो मुख्य लक्ष्य छ । यसका लागि बैंकले मर्जर र एक्विजिशनको विकल्प पनि खुला राखेको छ ।