पहिले पहिले कलेजो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता भए पनि २०७३ सालदेखि नेपालमै कलेजो प्रत्यारोपण हुन थालेको छ । हालसम्म नेपालका पाँच जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र चितवनको पुरानो तथा नयाँ मेडिकल कलेजले कलेजो प्रत्यारोपणका लागि अनुमतिपत्र पाएका छन् । मदिरापान, लागूऔषधको सेवन, हेपाटाइटिस ‘बी’ र ‘सी’ आदिका कारण कलेजो खराब हुने गरेको छ । कलेजोमा बोसो जम्दै जाँदा त्यसले पनि कलेजो नै फेर्नुपर्ने अवस्था आउन सक्छ । नेपालमा कलेजो रोगी बढ्दै गएकोमा वार्षिक अनुमानित १२ सय मानिस कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेको डा. दीपेश गुरुवाचार्य बताउँछन् । प्रस्तुत छ, कलेजो प्रत्यारोपण, कलेजो फेल हुने कारण, नेपालमा प्रत्यारोपणको अवस्था लगायत विषयमा डा. गुरुवाचार्यसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
कलेजो प्रत्यारोपण भनेको के हो ?
कुनै अंग काम नलाग्ने भएपछि अर्को मानव शरीरबाट झिकिएको स्वस्थ अंग त्यस ठाउँमा राख्नु अंग प्रत्यारोपण गर्नु हो । त्यसैगरी कलेजो काम नलाग्ने भएपछि पुरानो कलेजो झिकेर त्यसको सट्टा नयाँ कलेजो राखेर कलेजो प्रत्यारोपण गरिन्छ ।
कलेजो प्रत्यारोपण कसरी गरिन्छ ?
जीवित मानिस र मस्तिष्क मृत्यु भएका मानिस गरी दुई माध्यमबाट कलेजो प्राप्त हुन्छ । मस्तिष्क मृत्यु भएका मानिसको पूरै कलेजो झिकेर र जीवित मानिसको कलेजोको करीब आधा टुक्रा काटेर कलेजो प्रत्यारोपण गरिन्छ ।
जीवित मानिसले कलेजो कसरी दान गर्न सक्छ ?
जिउँदो मानिसको कलेजोको तौल, भोलुम हेरेर वयस्क मानिसले वयस्क मानिसलाई कलेजो दिँदा करीब ५० देखि ५५ प्रतिशत कलेजो काट्नुपर्छ । ठूलो मानिसले बच्चालाई दिएको छ भने सोभन्दा कम काटिन्छ ।
के कारण कलेजो फेल हुन्छ ? कस्तो अवस्थामा कलेजो फेर्नुपर्छ ?
मदिरापान, हेपाटाइटिस बी, हेपाटाइटिस सी, कलेजोमा जमेको बोसो, कलेजोको जन्मजात रोग, कलेजोको क्यान्सर लगायत कारण कलेजो फेल हुन सक्छ । अहिलेसम्म कलेजो फेल हुने अधिकांश कारण अल्कोहलको सेवन नै देखिएको छ । कलेजोमा लागेको रोगका कारण यो काम गर्न नसक्ने अवस्थामा पुग्यो र उक्त कलेजोमा देखिएको खराबीका कारण शरीरले काम गर्न नसक्ने नसक्ने भएपछि कलेजो फेर्नुपर्ने हुन्छ ।
कलेजो प्रत्यारोपणको प्रक्रिया के हुन्छ ?
सर्वप्रथम त कलेजोको समस्या लिएर आएका मानिसको जाँच गरिन्छ । ‘मेल्ड स्कोर’ जाँच गरेर उक्त व्यक्तिको कलेजोको अवस्थाबारे जानिन्छ । यसमा रगतको परीक्षण गरिन्छ, जसबाट स्कोर १४ भन्दा माथि देखिएमा कलेजो प्रत्यारोपण गर्न आवश्यक देखिन्छ । क्यान्सर बाहेकमा ‘मेल्ड स्कोर’ जाँच गरिने भए पनि कलेजोमा क्यान्सर छ भने यो परीक्षण गरिँदैन । उक्त अवस्थामा कलेजो जाँच गरी काटेर फाल्न मिल्ने छेउमा क्यान्सर लागेको रहेछ भने त्यो अंग काटेर फालिन्छ, नत्र कलेजो फेर्नुपर्ने हुन्छ ।
कलेजो फेल भएपछि कस्ता लक्षण देखिन्छन् ?
कलेजो फेल भएपछि जन्डिस बढ्दै जाने, औषधिले पनि रोक्न नसक्नेगरी पेटमा पानी जम्ने र पानीको मात्रा बढ्दै जाने, रगत बान्ता हुने र दिशामा पनि रगत देखिने, होश हराउँदै जाने लगायत लक्षण देखिन्छन् ।
कलेजो खराब हुनबाट कसरी बच्न सकिन्छ ?
मद्यपान र लागूऔषध दुव्र्यसन गर्नु नै भएन । हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रोगको कारण पनि कलेजो फेल हुन सक्छ, जसकारण यस्तो रोग लागेपछि नियमित जाँच गरी यसको उपचार गर्नुपर्छ । विशेषतः लागूऔषध दुव्र्यसनमा लागेका मानिसलाई हेपाटाइटिस ‘सी’ हुन्छ । नियमित रगत चढाइरहनुपर्ने मानिसलाई पनि यो रोग लाग्न सक्छ । संसारमै हेपाटाइटिस ‘सी’को कारण बढी कलेजो फेल भएको पाइन्छ । असुरक्षित यौन सम्पर्क र रगतको माध्यमबाट हेपाटाइटिस ‘बी’ सर्छ । हेपाटाइटिस ‘बी’ रोग लागेकी आमाले सन्तान जन्माउँदा सन्तानमा पनि यो रोग सर्न सक्छ । कलेजोमा बोसो जमेपछि त्यसले पनि कलेजो फेल गर्न सक्छ । यस्ता कुरामा सचेत हुने हो भने कलेजो फेल हुनबाट धेरै हदसम्म बच्न सकिन्छ ।
नेपालमा कलेजो प्रत्यारोपण शुरू भएको धेरै भएको छैन । देशमै कलेजो प्रत्यारोपणको वातावरण कस्तो बनिरहेको छ ?
नेपालमा हालसम्म भएका कलेजो प्रत्यारोपण नियमित कलेजो प्रत्यारोपण गरिराख्ने विदेशी डाक्टरको प्राविधिक सहयोगमा भएका छन् । हालसम्म भक्तपुर मानवअंग प्रत्यारोपण केन्द्रमा तीन र त्रिवि शिक्षण अस्पतालमा दुई गरी पाँचओटा प्रत्यारोपण भएका छन् । त्रिवि शिक्षण अस्पतालले मासिक एउटा कलेजो प्रत्यारोपण गर्ने योजना बनाएको छ ।
कलेजो प्रत्यारोपणपछि केही समस्या आउँछ ?
कलेजो प्रत्यारोपणपछि मानिस पहिलेकै जसरी स्वस्थ जीवन बाँच्न सक्छ । क्यान्सरका कारण प्रत्यारोपण गरिएको कलेजोमा केही हदसम्म केही व्यक्तिमा पुनः क्यान्सर देखिने सम्भावना हुन्छ । तर अन्य कारण कलेजो फेल भएर प्रत्यारोपण गरिएको भए कलेजोको आयु लामो हुन्छ । प्रत्यारोपण गरिएको कलेजोलाई शरीरले अस्वीकार गर्न खोज्ने हुँदा जीवनभर औषधि सेवन गर्नुपर्छ । नियमित जाँच र परामर्शमा बस्नुपर्छ ।
कलेजो प्रत्यारोपणपछि सामान्य अवस्थामा फर्किन कति समय लाग्छ ?
कलेजो आधा काटेर दान गर्ने व्यक्ति १ हप्ताभित्र अस्पतालबाट डिस्चार्ज भइसक्छ । त्यसपछि केही समय आराम गरेपछि ऊ दैनिक जीवनशैलीमा फर्कन सक्छ । प्रत्यारोपण गरिएको व्यक्ति २ देखि ४ हप्ता जति अस्पतालमा बस्नुपर्छ । त्यसको २–३ महीनापछि नियमित काममा फर्कन सक्छ ।
प्रत्यारोपणका लागि अंग पाउन कत्तिको सहज छ ?
मस्तिष्क मृत्यु भनेको मानिसको मृत्यु नै हो । मस्तिष्क मृत्यु भएको मानिसका आठओटा अंग अन्य जीवित मानिसलाई काम आउन सक्छन् । मरेर जान लागेको मानिसबाट प्राप्त अंगदानले अन्य मानिसलाई बचाउन सकिने हुँदा सर्वप्रथम सबैले मृत्युपछि अंगदान गर्नु राम्रो हुन्छ । स्पेन, अमेरिका लगायत देशमा प्रत्यारोपण गर्ने ८० प्रतिशतभन्दा बढी अंग मस्तिष्क मृत्युबाट प्राप्त हुन्छ । हाम्रो देशमा यसको तथ्यांक उल्टो छ ।
यसको सहजताका लागि के आवश्यक छ ?
मुख्यतः जनचेतनाको अभावकै कारण मानिसहरू अंगदान गर्न नचाहेका हुन् । कतिले यसको बारेमा जानकारी पनि पाएका छैनन् । सबैलाई यससम्बन्धी चेतना फैलाउन आवश्यक छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
सरकारी स्तरबाट मिर्गौला प्रत्यारोपणमा केही सहुलियत दिएजस्तै कलेजो प्रत्यारोपणका लागि पनि सहुलियत दिन आवश्यक देखिन्छ । त्यस्तै, आप्mनो मृत्युपश्चात् अंग दान गर्न पनि सबैलाई आग्रह गर्दछु ।