पूर्वी अछामको पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाको बीचमा पर्छ कमलबजार नगरपालिका । पहाडी क्षेत्रमा रहेको यो नगरपालिकामा पर्यटन, कृषि, जडीबुटी लगायतको ठूलो सम्भावना छ । जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि नगरपालिकाले विकासका गतिविधि बढाउँदै लगेको नगर प्रमुख ओमप्रकाश विष्ट बताउँछन् । प्रस्तुत छ, नगरका विकास गतिविधि, उपलब्धि, चुनौती लगायत विषयमा आर्थिक अभियानका अछाम संवाददाता सुशील भण्डारीले नगर प्रमुख विष्टसँग गरेको कुराकानीको सार :
तपाईं कमलबजार नगरपालिका नगर प्रमुख भएर आएपछि यहा“का जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
म नगर प्रमुख भएर आइसकेपछि कमलबजार नगरपालिकामा जनतालाई राहत पुग्ने धेरै काम भएका छन् । १० ओटै वडामा सडक सञ्जाल पु¥याइएको छ भने ग्राभेलको काम पनि भइरहेको छ । कृषिक्षेत्रको प्रवर्द्धनलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । यो वर्ष मात्रै फलफूलका १५ हजार बिरुवा कृषकलाई वितरण गरिएको छ । कमलबजार नगरपालिकालाई फलफूलको ‘पकेट क्षेत्र’ बनाउन आगामी वर्षका लागि प्रदेश सरकार र संघीय सरकारसँग विभिन्न जातका फलफूलका बिरुवा अनुदानको रूपमा माग गरिएको छ । नगरको १० ओटै वडामा २ वर्षभित्र विद्युत् पुर्याउन विद्युत्का पोलहरूको टेन्डर समेत भइसकेको छ ।
भौतिक पूर्वाधार निर्माणको अवस्था के छ ?
हामीले जनचाहना अनुसार नै काम गरेका छौं । साना खानेपानी आयोजाना १० ओटै वडामा पु¥याउने प्रयास भएको छ । सडक र शिक्षाक्षेत्रमा पनि धेरै काम जारी छन् । कमलबजार विमानस्थल निर्माणका लागि रू. १ करोड बजेट छुट्ट्याइएको छ । त्यसको काम छिटै शुरू हुँदै छ । नगरका बासिन्दाले अहिले २५ प्रतिशत मात्र पानी उपभोग गर्न पाएका छन् । यस क्षेत्रका बासिन्दालाई पर्याप्त मात्रामा पानी उपलब्ध गराउन पाँचुलीको मुहानमा ठूलो जलाशय बनाउने योजना छ । त्यसबाट चैत, वैशाख, जेठ र असारमा पानी ल्याएर मिटर प्रणालीबाट वितरण गर्ने लक्ष्य छ । जलाशयका लागि नगरपालिकाबाट रू. ३० लाख र प्रदेश तथा संघीय सरकारबाट पनि सहयोग प्राप्त हुनेछ ।
विकासका योजना कार्यान्वयनमा के समस्या छ ?
पहिलेदेखि नै उपभोक्ता समिति र ठेकेदारहरूबाट काममा लापरबाही हुने गरेको थियो । तर त्यस्ता उपभोक्ता समिति र ठेकेदारको काममा अहिले निगरानी गरिएको छ, जसकारण कमलबजारमा विकास निर्माणका आयोजना पारदर्शी रूपमा अघि बढिरहेका छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूका लागि शिक्षक र विद्यार्थीको अनुपातमा अनुदान दिएको छ । त्यसैगरी नगर क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षामा ठूलो लगानी गरिएको छ । नगरले एक वडाबाट दुई जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै छ । यसका लागि रू. ४२ लाख बजेट छुट्ट्याइएको छ । नगरका १० ओटै स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवाका लागि ‘बर्थिङ सेन्टर’ निर्माणको तयारी भइरहेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको रू. ५० लाख खर्चेर कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सञ्चालन गरेको छ । यस्तै स्वास्थ्य केन्द्र वरिपरि पर्खाल निर्माण र स्वास्थ्य सेवामा प्रयोग हुने अन्य सामग्री खरीद गरिएको छ । त्यस्तै कमलबजारका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी एम्बुलेन्स सेवाको समेत व्यवस्था गरेका छौं । नगरका विकासका काममा स्थानीय युवा जनशक्ति परिचालनलाई जोड दिएका छौं ।
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
शहरीकरण व्यवस्थापनका लागि ‘टाउन प्लानिङ’ को अवधारणा ल्याएका छौं । नगर क्षेत्रमा सोही अनुसार घर÷भवन निर्माणमा प्रोत्साहन गर्नेछौं । यसैगरी कमलबजारलाई स्मार्ट सिटी बनाउने योजना पनि छ । शहरी विकासबाट क्रमागत आयोजना अन्तर्गत रू. ६० करोड लागतमा गैरीटाँडदेखि कमलबजार हुँदै बेलखेतसम्मको सडक कालोपत्र गरिनेछ । यो वर्ष गैरीटाँडदेखि कमलबजारसम्मको सडक खण्डको टेन्डर र अर्को वर्ष कमलबजार–बेलखेत सडक खण्डको टेन्डर गरेर काम अघि बढाउँछौं ।
तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
कमलबजार नगरपालिका मार्फत सञ्चालित सम्पूर्ण आयोजना समयमै सम्पन्न भएका छन् । संघसंस्थाहरू मार्फत निर्माण भइरहेका आयोजनामा नगरपालिकाले कडा निगरानी गरिरहेको छ । सबै काम समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अन्य स्थानीय तहहरूमा चर्काे कर लगाइएकोप्रति स्थानीयको गुनासो छ । तर यहाँ करको अवस्था कस्तो छ ?
नगरपालिकाले सबैजसो वस्तुमा न्यून कर लगाएको छ । नगरपालिकाले चर्काे कर असुल्ने गरेको भनेर अहिलेसम्म स्थानीयको गुनासो आएको छैन । नगरको विकट ठाउँमा रहेको जग्गाको कर प्रतिरोपनी २ रुपैयाँ छ । यस्तै नगरभित्र रहेका घरहरूमा ५० रुपैयाँको दरले कर लगाइएको छ ।
नगरपालिकाको आन्तरिक आयस्रोत बलियो बनाउन के गरिँदै छ ?
आन्तरिक आयस्रोत बलियो बनाउन नगरपालिकाले एक्स्क्याभेटर मेशिन गरीद गरी परिचालन गरेको छ । यो वर्ष मात्रै मेशिन भाडामा दिएर करीब ३० लाख रुपैयाँ आम्दानी भएको छ । त्यस्तै अब टीपर सञ्चालनको तयारी समेत गरिएको छ ।
नगरपालिकामा पर्यटन प्रवर्द्धनका योजना के के छन् ?
पर्यटक आकर्षण गर्न कमलबजार नगरपालिकाको बीचमा जलाशय र चारै कुनामा पाञ्चायन देवताको मन्दिर बनाउनेछौं, जहाँ पर्यटक आएर बस्ने खालको संरचना समेत तयार पारिनेछ । पाँचुली लेकलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना छ । त्यसका लागि आगामी वर्ष टेन्डरमा जोनेछौं ।