ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३३० मोटरेबल पुलका लागि रू. ३ अर्ब बजेट, भेरी कोरिडोरमा १६ र मुग्लिन–नारायणगढ सडकमा १४ पुल बन्दै

Sep 18, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं ।  सडक विभागले चालू आर्थिक वर्ष २०७६/७७ मा ३३० रणनीतिक पक्की (मोटरेबल) पुल निर्माण गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा ‘रणनीतिक सडक पुल निर्माण तथा पुल/पुलेसा संरक्षण’ शीर्षकमा रहेका ती पुलको निर्माण तथा डिजाइनका लागि विभागले रू. ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय राजमार्ग र विभिन्न कोरिडोरमा गरी ३६ ओटा नयाँ र ३०० ओटा निर्माणाधीन अवस्थाका पुल सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार चालू आवमा भेरी कोरिडोरमा १६ ओटा पुल बनाइनेछ । यसैगरी नारायणगढ–मुग्लिन सडकमा १४ ओटा पुल बनाउने योजना विभागले अघि सारेको छ । 

विभागका अनुसार उक्त नारायणगढ–मुग्लिन सडक अन्तर्गत खहरेखोला १ र २, कालीखोला, खोरखोला, चिन्सेँजीखोला, जुगेडीखोला, डुम्रेखोला, तुइनखोला, तोपेखोला, नाम्सीखोला, भोर्लेखोला, रिग्दीखोला, लामोबालुवा खोला र सिमलताल खोलामा नयाँ पुल बनाउने योजना छ । नयाँ पुल निर्माणका लागि डिजाइन तथा ठेक्कापट्टाको काम चालू आर्थिक वर्षमा गर्ने लक्ष्य विभागको छ । 

रणनीतिक सडकमा बन्ने पुलमध्ये निर्माणाधीन अवस्थाका ३०० ओटै पुल सम्पन्न गरिने भएको छ । विभाग अन्तर्गतको पुल महाशाखाका अनुसार राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडकमा हाल २ हजार ६ ओटा पुलहरू बनिसकेका छन् । महाशाखाका उपमहानिर्देशक दीपककुमार भट्टराईले रणनीतिक सडक पुलसहित स्थानीय सडक पुल र विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी, मदन भण्डारी, मध्यपहाडी लोकमार्गमा १ हजार २०० पुल निर्माणाधीन रहेको जानकारी दिए । 

भट्टराईका अनुसार १ हजार २०० मध्ये चालू आवमा ३०० ओटा पुल सम्पन्न गर्ने लक्ष्य छ । राष्ट्रिय गौरवका आयोजनाका राजमार्गमा बजेट कमी नहुने भए पनि रणनीतिक तथा स्थानीय पुल निर्माणमा बजेटको अभाव हुने देखिएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा स्थानीय सडक पुल १३९ ओटा र रणनीतिक महत्त्वका १०४ गरी २४३ मोटरेबल पुलको निर्माण भएको छ ।

सडक पुलहरू निर्माणको डिजाइन तथा ठेक्कापट्टाको व्यवस्थापन महाशाखाले गर्दै आए पनि नेपालमा पर्याप्त मात्रामा मोटरेबल पुलहरू बन्न सकेका छैनन् । राष्ट्रिय राजमार्ग तथा राष्ट्रिय गौरवका सडक आयोजनामा आवश्यकता अनुसार मोटरेबल पुल बन्न सकेका छैनन् भने भएका पुलहरू पनि गुणस्तरीय नहुँदा जोखिम बढेको छ । नेपालको भौगोलिक अवस्था अनुसार मोटरेबल पुल निर्माण पर्याप्त मात्रामा बनाउनु पर्ने भए पनि हालसम्म मुलुकभर २ हजारको संख्यामा यस्ता पुलहरू छन् ।

पर्याप्त मात्रामा पुल नबन्दा यात्रा निकै कष्टकर हुँदै गएको छ । हाल मुलुकभर करीब १ लाख किलोमिटर सडक पुगेको छ । अहिले गुणस्तरीय सडक निर्माणसँगै मोटरेबल पुल निर्माणलाई पनि उत्तिकै ध्यान दिनुपर्ने पूर्वाधार विज्ञहरू औंल्याउँछन् । स्थानीय सडक पुल र रणनीतिक महत्त्वका सडकमा बन्ने पुलका लागि पर्याप्त बजेट नभएकाले पनि आवश्यकता अनुसार पुल निर्माण अघि बढाउन नसकिएको विभागका एक अधिकारीले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)