सेप्टेम्बर महीना संसारभर ‘प्रोस्टेट क्यान्सर’ महीनाको रूपमा सचेतना कार्यक्रम गरी मनाइन्छ । नेपालमा पनि यो महीनामा विशेषज्ञ डाक्टरहरूले विभिन्न कार्यक्रम गर्दै आएका छन् । सामान्यतया उमेर बढ्दै गएपछि प्रोस्टेट (पुरुष ग्रन्थी)को आकार पनि बढ्ने गर्छ । प्रोस्टेट बढ्दा देखिने लक्षण र प्रोस्टेट क्यान्सरका लक्षण एकै किसिमका हुने भएकाले नेपालमा अधिकांश बिरामी क्यान्सर फैलिसकेको अवस्थामा अस्पताल पुग्ने गरेका छन् । यसै सन्दर्भमा युरो–अन्कोलोजिस्ट तथा युरोलोजी विशेषज्ञ डा. रोबिन जोशीसँग प्रोस्टेट क्यान्सर, यसका लक्षण, उपचार लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
प्रोस्टेट क्यान्सर भनेको के हो ?
प्रोस्टेट भनेको पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग हो । यो पिसाबथैलीको मुनि हुन्छ, जसबाट मूत्रनली निस्किएको हुन्छ । यसले वीर्यको परिमाण र गुणस्तर वृद्धि गर्छ र यौनांग उत्तेजित बनाउने काम गर्छ । यसको मुख्य काम भने वीर्यलाई पोषण दिनु हो । यही अंगमा हुने क्यान्सर नै प्रोस्टेट क्यान्सर हो । सामान्यतया उमेर बढ्दै जाँदा प्रोस्टेट बढ्दै जान्छ । प्रोस्टेट बढ्दा र प्रोस्टेटमा क्यान्सर हुँदा एउटै प्रकारका लक्षण देखिन्छन् । कतिपय बिरामी प्रोस्टेट बढेको ठानेर क्यान्सर पालेर बसेका हुन सक्छन्, जसकारण अधिकांश बिरामी क्यान्सर अन्य अंगमा फैलिसकेको अवस्थामा आउने गरेका छन् ।
प्रोस्टेट क्यान्सर किन हुन्छ ?
विशेषगरी यो क्यान्सर वंशाणुगत हुन्छ । यदि बाबुलाई प्रोस्टेट क्यान्सर छ भने छोरामा यस प्रकृतिको क्यान्सर हुने सम्भावना बढी हुन्छ । गलत खानपिनले गर्दा पनि यस प्रकारको क्यान्सर हुन सक्छ । औषधि प्रयोग गरिएका फलफूल, तरकारी, सागपात, रातो मासु, चिल्लो पदार्थ बढी भएको खानेकुरा, अल्कोहल र धूमपान सेवन गर्ने व्यक्तिमा यो क्यान्सर हुन सक्छ । चीनमा भएको पछिल्लो अनुसन्धानले भिटामिन ‘डी’को कमीले पनि प्रोस्टेट क्यान्सर हुने सम्भावना देखाएको छ ।
यसका लक्षणहरू के के हुन् ?
प्रोस्टेट क्यान्सर हुँदा पिसाब फेर्न गाह्रो हुने, पिसाब राम्रोसँग ननिख्रिने, पिसाबबाट रगत आउने, उत्तेजनामा कमी आउने, यौनसम्पर्क गर्न मन नलाग्ने, ढाड दुख्ने लगायत लक्षण देखा पर्दछन् । यिनै लक्षण प्रोस्टेट बढ्दा पनि देखिन्छन् । प्रोस्टेटको क्यान्सर शुरूमा ढाडमा फैलिन्छ । फैलिएको अवस्थामा मेरुदण्ड दुख्ने लक्षण देखिन्छ ।
क्यान्सर भएको कसरी थाहा पाउने ?
यस्ता लक्षण देखिएमा डाक्टरसँग परामर्श गरी जाँचद्वारा प्रोस्टेट बढेको हो वा प्रोस्टेटमा क्यान्सर भएको हो भन्ने जान्न सकिन्छ । यो बिरामीको शरीरमा विस्तारै थाहै नपाईकनै विकसित हुने रोग हो । प्रारम्भिक चरणमा प्रोस्टेट क्यान्सरका केही लक्षण देखा नपर्न सक्छन् । सामान्यतया प्रोस्टेट १० देखि १५ ग्रामसम्मको हुन्छ र ४० वर्षपछि यसको आकार बढ्न थाल्दछ । नेपालमा प्रोस्टेटको चेकजाँच गर्न आएका अधिकांशमा प्रोस्टेट क्यान्सर भेटिने गरेको छ । प्रोस्टेटको समस्या भएकाहरूमा क्यान्सर देखिन सक्ने भएकाले अनिवार्य रूपमा परीक्षण गर्न आवश्यक छ ।
प्रोस्टेट क्यान्सरको उपचार कसरी हुन्छ ?
प्रोस्टेट क्यान्सर पत्ता लागिसकेपछि क्यान्सर प्रोस्टेटमा मात्र सीमित छ अथवा हड्डीमा फैलिएको छ परीक्षण गरिन्छ । प्रोस्टेटमा मात्र सीमित छ र बिरामी ६५ वर्षसम्मको छ भने प्रोस्टेटको शल्यक्रिया गरेर प्रोस्टेट ग्लान्ड निकालिन्छ । बिरामी ६५ वर्षभन्दा माथिको छ भने रेडियशन उपचार गरिन्छ । अन्य रोग भएर वा बिरामीको अवस्था कमजोर भएर शल्यक्रिया गर्न नसकिने अवस्था छ भने रेडियशन गरिन्छ । क्यान्सर हड्डीमा फैलिसकेको छ भने कम्प्लिट एन्ड्रोजन ब्लकेड (हर्मोनल थेरापी) गरिन्छ । यस थेरापीद्वारा टेस्टोस्टेरोन हर्मोन रोक्ने काम गरिन्छ । यो थेरापीपछि प्रत्येक ३ महीनामा बिरामीको जाँच गर्नुपर्ने भएकाले बिरामी डाक्टरको सम्पर्कमै बस्नुपर्छ । प्रोस्टेट क्यान्सर विस्तारै बढ्ने ट्युमर हो, जसकारण हर्मोनल थेरापीले पनि लामो जीवनका लागि सघाउ पुर्याउँछ ।
उपचारपछि बिरामीमा केही असर पर्छ ?
सामान्यतया सबै प्रकारका रोगका औषधिका राम्रा–नराम्रा दुवै पक्ष हुन्छन्, जसकारण शल्यक्रिया र औषधि सेवनमध्ये शल्यक्रिया नै राम्रो हुन्छ । शल्यक्रियापछि पिसाब चुहिने/रोक्न नसकिने र लिंग उत्तेजित नहुने असर देखिन सक्छन् । हामीले अहिलेसम्म गरेका शल्यक्रियामध्ये २५ प्रतिशत बिरामीमा यस्तो असर देखिएको छ ।
उपचारपछि बिरामी पहिलेकै अवस्थामा फर्कन सक्छ ?
शुरुआतको अवस्थामा आएको छ, बिरामी सक्रिय छ भने प्रोस्टेट निकालेपछि पनि बिरामी पहिलेकै जसरी जीवनयापन गर्न सक्छ । त्यसपछि हामी २ देखि ५ वर्षसम्म बिरामीको सम्पर्कमा रहन्छौं । ५ वर्षसम्म क्यान्सर पुनः देखिएन भने बिरामी ९५ प्रतिशतभन्दा बढी क्यान्सरमुक्त भएको बुझ्न सकिन्छ । तर क्यान्सर फेरि पलायो भने त्यसको औषधि उपचार गर्नुपर्ने हुन्छ ।
प्रोस्टेट क्यान्सरबाट कसरी बच्न सकिन्छ ?
प्रोस्टेट क्यान्सरबाट बच्न स्वस्थ खानेकुरा खानुपर्छ । कम क्यालोरी र बोसो, ताजा हरियो सागपात, सिमी जस्ता खानेकुरा सेवन गर्नुपर्छ । धूमपान तथा मद्यपान गर्नुहुन्न ।
कुन उमेरका पुरुषमा यस्तो क्यान्सर हुने सम्भावना बढी हुन्छ ?
५० वर्षभन्दा बढी उमेरका पुरुषमा यो क्यान्सर हुन सक्छ । ४० वर्षमुनिका पुरुषमा सम्भावना एकदमै कम हुन्छ । मैले गरेको शल्यक्रियामध्ये सबैभन्दा कम ५० वर्षको पुरुषमा प्रोस्टेट क्यान्सर भेटिएको छ ।
यो क्यान्सरको परीक्षण कसरी हुन्छ ?
प्रोस्टेटमा समस्या आएपछि क्यान्सरको पनि परीक्षण गर्नुपर्छ । शुरूमा हामी मलद्वारबाट औंला छिराएर प्ररीक्षण गर्छौं । प्रोस्टेट कडा र त्यसमा डल्लाडल्ली छ भने अल्ट्रासाउन्ड भिडियो एक्सरे गरिन्छ । त्यसमा पनि क्यान्सरको शंका देखिए पीएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजन) जाँच हुन्छ । हाल नेपालमा धेरैजसो अस्पतालमा पीएसए टेस्टलाई स्क्रिनिङ टेस्टको रूपमा राख्ने गरिएको छ । पीएसए उच्च छ भने एमआरआई टेस्ट गरिन्छ र त्यहाँबाट क्यान्सर भए नभएको पत्ता लाग्छ । एमआरआईपछि हामी प्रोस्टेट बायोप्सी गर्छौं । त्यसपछि ट्रान्सरेक्टल अल्ट्रासाउन्ड गाइडेड प्रोस्टेट बायोप्सीद्वारा मलद्वारबाट अल्ट्रासाउन्ड छिराएर क्यान्सर भएको ठाउँको अनुमान लगाइन्छ र शंका लागेको मांसपेशी निकालेर परीक्षण गरिन्छ ।
यो क्यान्सर कति खतरनाक हुन सक्छ ?
समयमा जाँच गरिएन र फैलिसकेको अवस्थामा मात्र यसको जाँच गरियो भने पनि यसको उपचार सम्भव छ । तर समयमा जाँच गरेर उपचार गरे यसको राम्रो उपचार हुन सक्छ । समयमा प्रोस्टेट क्यान्सरको उपचार भएमा स्वस्थ व्यक्तिसरह लामो समय बाँच्न सकिन्छ । प्रोस्टेट क्यान्सर प्रोस्टेटबाट मेरुदण्ड तथा अन्य अंगमा फैलियो भने चाहिँ यो खतरनाक हुन सक्छ ।
नेपालमा प्रोस्टेट क्यान्सरको उपचारको अवस्था कस्तो छ ?
प्रोस्टेट क्यान्सरको उपचार नेपालमै अन्य बाहिरी देशमा जस्तै राम्रो हुन्छ । किमो, रेडियशन, शल्यक्रिया सबै गुणस्तरीय छ । यसको उपचारका लागि बाहिरी देशमा जानुपर्ने अवस्था छैन । तर काठमाडौं र राजधानीबाहिरका प्रमुख शहरमा यसको उपचार हुने भए पनि अन्य ठाउँमा दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको अभाव छ ।
यसको उपचार कत्तिको महँगो छ ?
सामान्यतया प्रोस्टेट क्यान्सरको उपचारमा ५० हजारदेखि २ लाखसम्म खर्च हुन सक्छ । अवस्था हेरेर खर्च सोभन्दा केही तलमाथि पनि हुन सक्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
नेपालमा धेरै मानिसलाई यसको बारेमा जानकारीसम्म छैन, जसकारण ७० प्रतिशत बिरामी प्रोस्टेट क्यान्सर मेरुदण्डमा फैलिसकेको अवस्थामा आउने गरेका छन् । प्रोस्टेटमा समस्या देखिएपछि समयमै डाक्टरसँग परामर्श लिई सचेत रहन आग्रह गर्दछु ।