ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढ–बुटवल सडक विस्तार : रूख र पोल हटाउने काममै अल्झियो आयोजना

Sep 25, 2019  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा अन्योल भएको छ । आयोजनाले उक्त सडक खण्डमा पर्ने बिजुलीका पोल सार्ने तथा रूख कटान गर्ने अनुमति नपाउँदा ७ महीनादेखि काम अघि बढेको छैन । गत चैत ९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडक चार लेनमा स्तरोन्नति गर्ने कामको शिलान्यास गरेका थिए । तर ‘साइट क्लियर’ नहुँदा  आयोजना अघि बढाउन समस्या भएको छ । 

कुल ११४ किलोमिटर नारायणगढ–बुटवल खण्ड स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरिसकेको छ । आयोजनाका अनुसार सडक विस्तार अघि बढाउन करीब ५० हजार रूखहरू काट्नुपर्ने हुन्छ । आयोजनाका निर्देशक सुरेश न्यौपानेले रूख र पोल हटाउन वन तथा वातावरण मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निवेदन दिएको महीनौं भए पनि स्वीकृति नपाएको बताए । ‘वन र प्राधिकरणले समयमै स्वीकृति नदिँदा निर्माण अघि बढाउन सकेका छैनौं,’ उनले भने ।

रू. १६ अर्ब लागतको यो आयोजना साढे ३ वर्षमा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि आधा वर्ष अवरोध हटाउने प्रक्रियामै सकिएको छ । स्रोतका अनुसार तोकिएको समयमै सडक निर्माण हुने सम्भावना कम छ । उक्त नारायणगढ–बुटवल सडक खण्ड चार लेनको सडक बनाउन एशियाली विकास बैंक (एडीबी)ले सहुलियत ऋण सहयोग गरेको छ । 

गत माघमा सडक विभाग र चाइना स्टेट इन्जिनीयरिङ कर्पाेरेशनबीच सडक निर्माणका लागि सम्झौता भएको हो । साइट क्लियर लगायत अन्य प्रक्रिया पूरा गर्दा १ वर्ष बित्ने भएकाले समयमै सम्पन्न हुनेमा आशंका उब्जिएको स्रोतको भनाइ छ । अहिले नारायणगढ बुटवल सडक खण्ड दुई लेनको मात्रै छ । उक्त खण्डको जंगलमा पर्ने सडक चार लेनको हुनेछ भने शहरी बस्तीतर्फ सर्भिस लेनसहित ६ लेनको बनाइनेछ ।

सरकारले बजेट वक्तव्यमार्फत नै पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुसार पहिलो चरणमा यस खण्डमा काम अघि बढाइएको हो । पूर्व र पश्चिम खण्ड गरी दुईओटा प्याकेजमा निर्माण गर्न लागेको यो आयोजनाले दुईओटा साइट अफिस खडा गरिसकेको छ । यस्तै हेभी इक्वीपमेन्ट तथा प्लान्टहरू पनि राखिसकिएको आयोजनाले बताएको छ । 

तत्कालीन राजा महेन्द्रको पाला (विसं. २०१७)मा निर्माण भएको उक्त सडकमा अहिले सवारी चाप अत्यधिक छ । यो समस्या समाधानका लागि पनि सडकको स्तरोन्नति जरुरी देखिएको छ । साढे ५ दशकअघि बनेको उक्त सडकले अहिले तीव्ररूपमा बढेका सवारीसाधनको भार थेगिरहेको छ । यसलाई विस्तार गरेर सडक दुर्घटना कम गर्न र यात्रा सहज बनाउन सकिने पूर्वाधार विज्ञहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)