ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जको सार्वजनिक स्थलमा मेयरका नातेदारको रजाइँ !

Sep 26, 2019  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज महानगरका सार्वजनिक स्थलमा मेयर विजयकुमार सरावगीका नातेदारले नियमविपरीत रजाइँ चलाएको भेटिएको छ । वीरगञ्जको मुख्य बजार क्षेत्र मानिएको घण्टाघरदेखि पावरहाउस चोकसम्मको सडक डिभाइडर मेयर सरावगीका सम्धि राजेश अग्रवाल संलग्न औद्योगिक प्रतिष्ठानका उत्पादनको प्रचारका लागि दुरुपयोग भएको हो । 

अग्रवाल सञ्चालक रहेको जगदम्बा सिमेन्टलयातका ५ ओटा उद्योगले महानगरसित सम्झौताविनै जथाभावी विज्ञापनका बोर्ड राखेको पाइएको छ । मेयर सरावगीको दबाबमा महानगरका कर्मचारीले करीब १ किलोमिटर सडकको डिभाइडरमा ती औद्योगिक प्रतिष्ठानलाई विज्ञापन सामग्री राख्ने चाँजोपाँजो मिलाइदिएका हुन् । सरावगी वीरगञ्ज महानगरको मेयरमा चुनिएलगत्तै अग्रवालले आफ्नो उत्पादनको विज्ञापन बोर्ड लगाएका हुन् । सरावगी २०७४ असोजमा मेयर चुनिएका थिए । तर, यो अनियमितताका बारेमा प्रश्न उठ्न थालेपछि महानगरले बितेको भदौ १५ गते उद्योगसँग सम्झौताको प्रक्रिया पुर्‍याएको छ । जब कि, साउनको २१ गते नै सूचनाको हकअन्तर्गत सम्झौता माग गर्दै महानगरमा पत्र दर्ता भएको छ । 

करीब २ वर्षसम्म सम्झौता नै नगरी महानगरको सार्वजनिक स्थल दुरुपयोग गरिरहेको कम्पनीलाई बोलाएर हतारमा सम्झौता गराइएको छ । ५ वर्षका लागि गरिएको ‘त्रुटिपूर्ण’ सम्झौतामा महानगरका अधिकृत अरुणकुमार महतो र शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिबाट विवेककुमारको हस्ताक्षर छ । हस्ताक्षरकर्ता कम्पनी र सम्झौतामा उल्लेख गरिएको कम्पनीको नाममा समेत एकरूपता छैन । सम्झौताको शर्तका बुँदामा जगदम्बा सिमेन्ट मिल्स प्रालि उल्लेख छ । 

मेयर सरावगी भने समयमा सम्झौता नहुनुको दोष महानगरका कर्मचारीमाथि थोपर्छन् । ‘सम्झौताको जिम्मा कर्मचारीलाई दिएको थिएँ,’ मेयर सरावगीले भने, ‘उनीहरूले समयमा गरिदिएनन् । ढिलै भए पनि प्रक्रियामा आएको छ ।’ सूचना माग भएपछि प्रक्रिया पुर्‍याउनमात्र गरिएको सम्झौतामा घण्टाघरदेखि पावरहाउस चोकसम्मको सडक डिभाइडरमा जगदम्बा सिमेन्ट, ओम सत्य साइ प्रालि, जीसी एक्जिम म्यागनम कोयल, जगदम्बा कंक्रिटो र एसएस पाइपका विज्ञापन सामग्री ५ वर्षसम्म राख्न पाउने उल्लेख छ । यो अवधिमा कम्पनीसित विज्ञापन सामग्री राखेबापत कुनै कर नलिने सम्झौता बनाइएको छ । 

महानगरले सार्वजनिक स्थलमा विज्ञापन बोर्ड राखेबापत कर संकलनको ठेक्का एउटा निजी कम्पनीलाई दिएको छ । नगरका मुख्य स्थलहरूमा कर उठाउन नपाउने गरी ठेक्का आह्वान गरिएको छ । त्यस्ता अधिकांश स्थानमा जगदम्बाका प्रचार सामग्रीलाई ठाउँ दिइएको छ । यसबाट आन्तरिक आयमा नकारात्मक प्रभाव परेको महानगरको कर महाशाखाका अधिकारीहरू गुनासो गर्छन् । सडक डिभाइडरमा माटो पुर्ने, वृक्षरोपण र त्यसको संरक्षणको जिम्मा जगदम्बाको हुने उल्लेख छ । यसको कुनै मापदण्ड तोकिएको छैन । माटो र बिरुवाको मापदण्डविनै कम्पनीले केही बिरुवा रोपेको छ । तर, संरक्षण हुन सकेको छैन । झारपात मौलाएर कुरूप देखिएको छ ।

डिभाइडरमा अहिले देखिने केही ठूला रूख यसअघि नै महानगर र प्रकृति सेवा प्रतिष्ठानले रोपेका थिए । सेवा प्रतिष्ठानले व्यापारिक विज्ञापनका कारण वीरगञ्जको सुन्दरता बिगार्ने काम भएको भन्दै महानगरमा विरोधपत्र दर्ता गराएको थियो । प्रतिष्ठानले वीरगञ्जमा विरोध ¥यालीसमेत निकालेको थियो । मुख्य सडकको डिभाइडरलाई सौन्दर्यीकरण गरिनुपर्नेमा उद्योगका प्रचार सामग्री राखेर महानगरले सडकलाई व्यापारीकरण गर्नु दुःखद भएको सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले बताए । चौतर्फी विरोधपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीष्म भुसालले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेका थिए । त्यसबेला महानगरका कर्मचारीले व्यापारिक प्रतिष्ठानको मनपरी नियन्त्रणको प्रयास गरे पनि मेयरको दबाबमा पछि हटेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)