रुकुम । रुकुममा उद्योगको काम नसकिँदै रकम भुक्तानी गरिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले जिल्लाका ६ ओटै स्थानीय तहमा उद्योग स्थापनाका लागि छुट्याएको रकम काम नसकिँदै निकासा गरेको हो । रुकुमका ६ ओटै स्थानीय तहमा १÷१ ओटा उद्योग स्थापना गर्ने योजना थियो । सोहीअनुरूप सानीभेरी गाउँपालिका–१, चाइनाबगरमा गार्मेन्ट उद्योगका लागि प्रदेश सरकारले रू. १ करोड छुट्याएकोमध्ये रू. ४८ लाखभन्दा बढी रकम कामविनै निकासा भएको छ ।
गार्मेन्ट उद्योग स्थापनाका लागि सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था लिमिटेडले जिम्मा लिएको थियो । निकासा भएको रकमबाट केही सामग्री खरीद गरिएको छ । तर काम नहुँदा खरीद गरिएका सामग्री पनि एउटा कोठामा थन्काइएको स्थानीय रिपबहादुर ओलीले जानकारी दिए । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गार्मेन्ट उद्योगका लागि बजेट विनियोजन गरेको थियो । गार्मेन्ट उद्योग निर्माणमा अनियमितता भएको कुरा उठेपछि मन्त्रालयले अनुगमनसमेत गरेको छ ।
कर्णाली प्रदेशसभामा प्रतिपक्ष दल कांग्रेसका नेता जीवनबहादुर शाहीले गार्मेन्ट उद्योगमा ठूलो अनियमितता भएको बताएका छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । गार्मेन्ट सञ्चालन भए÷नभएको विषयमा अनुगमन गर्न आएको प्रदेशको मन्त्रालयको टोलीले गार्मेन्ट सञ्चालन नभएको बताएको छ ।
अनुगमनका लागि चाइनाबगरसम्म पुगेका मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले गार्मेन्ट उद्योग सञ्चालन नभएको बताए । ‘हाम्रो मन्त्रालयबाट कृषि ज्ञान केन्द्रमार्फत गार्मेन्ट उद्योग सञ्चालनका लागि भनेर भुक्तानी गएको छ,’ प्रवक्ता पण्डितले भने, ‘सरसर्ती हेर्दा भुक्तानी भएको जति काम भएको हामीले पायौं ।’
उद्योगका लागि आवश्यक सामान खरीद गरेको तर उद्योग शुरू नभएको उनको भनाइ छ । गार्मेन्टका लागि भनेर लिइएको जग्गामा कम्पाउण्ड वाल लगाउनेबाहेक अरू काम भएको छैन । सहकारी आफैले रकम विनियोजन गरेर जग्गा किनेको पाइएको पण्डित बताउँछन् । उद्योगका सामग्री थन्काइएको सिम्ली बजारमै उद्योग सञ्चालन गर्न पण्डितले सुझाव दिएका छन् ।
सहकारीका अध्यक्ष जगदिश नकालले काम भएअनुसारको बिल भएको र सोही आधारमा भुक्तानी लिएको बताए । उद्योग सञ्चालनको अन्तिम तयारी रहेको उनले दाबी गरे । उद्योग स्थापनापछि सानीभेरी गाउँपालिकाका २५ जना द्वन्द्वपीडितलाई रोजगारी दिने लक्ष्य राखिएको छ । लक्ष्यअनुसार काम भएको भए उक्त उद्योगले यो समयमा धमाधम कपडा उत्पादन गरिरहेको हुने थियो ।