जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि सिन्धुलीको कमलामाई नगरपालिकाले विकास निर्माणका कामलाई प्राथमिकता दिएको छ । नगरको स्रोत र साधनले भ्याएसम्म विकासका योजना सञ्चालन गरिएको नगर प्रमुख खड्ग खत्री बताउँछन् । निर्वाचनको बेला पार्टीले बनाएको घोषणापत्र अनुसार अहिले काम भइरहेको उनको दाबी छ । प्रस्तुत छ, नगरका विकास गतिविधि, समस्या, चुनौती, भावी योजना लगायत विषयमा आर्थिक अभियानका सिन्धुली संवाददाता एलएन शर्माले नगर प्रमुख खत्रीसँग गरेको कुराकानीको सार :
तपाईं नगर प्रमुख भएर आएपछि यहाँका जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
निर्वाचित भएर आउनुअघि हामीले निर्वाचनको बेलामै नगरको विकासका लागि गर्न सकिने कामहरू घोषणा गरेका थियौं । त्यसमा मुख्यतः पूर्वाधार विकास नै हो । हामी आइसकेपछि नगरको पूर्वाधार विकासले गति लिएको छ । सिन्धुलीगढीको पर्यटन प्रवद्र्धनको काम अघि बढाएका छौं । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएका छन् । मोतियाविन्दु, आङ खस्ने, हर्निया जस्ता रोगको निःशुल्क उपचारको व्यवस्था गरेका छौं । शैक्षिक गुणस्तर सुधारका लागि पनि कार्यक्रम सञ्चालन भएका छन् । यो नगरपालिका अहिले दूध र मासुमा आत्मनिर्भर भएको छ ।
गत आवमा पूर्वाधार विकासमा के कस्ता काम भए ?
पहिलो कुरा त नगरपालिकाले कुनै पनि योजना बहुवर्षीय बनाएको छैन । अहिले आएर सिन्धुलीगढीको पुनर्निर्माण र नगरपालिकाका वडा नं ९ र १० जोड्ने पुल वहुवर्षीय बन्दै छ । गतवर्ष केही सडक कालोपत्र गर्यौं । सिन्धुलीगढीको पूर्वाधार निर्माणमा केही काम भएको छ । गतवर्ष योजनाको डीपीआर बनाउनेतर्फ केन्द्रित भयौं । नगर क्षेत्रमा पाँचओटा प्रतीक्षालय निर्माण गर्यौं । विगत २ वर्षको अवधिमा करीब १० किलोमिटर बाटो कालोपत्र गरिएको छ ।
विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
यहाँको मौसमको कारण असार–साउनदेखि भदौ–असोजसम्म काम गर्न सक्दैनौं । त्यस्तै चेतनाको अभावले गर्दा पनि विकास निर्माणमा समस्या परेको छ । फागुन–चैतमै सक्नुपर्ने काम लम्बिएर असार मसान्तसम्म पुग्ने गरेको छ । तर कमलामाई नगरपालिकाको सन्दर्भमा भने बजेट खर्च गर्न नसकेर फ्रिज भएको छैन ।
बजेट फ्रिज भएको छैन भन्नुभयो, यो कसरी सम्भव भयो ?
उपभोक्ता समिति वा ठेकदार मार्फत भएका काम चाँडो सक्न ताकेता गरेका गर्नुपर्छ । दिएको सीमाभित्र काम हुँदैन भने कारबाहीको प्रक्रियामा जानुपर्छ । नगरले पनि यही तदारुकता साथ काम गरेकाले बजेट फ्रिज हुने अवस्था आएको छैन ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
जुन जुन स्थानमा मावि विद्यालय थिए दरबन्दी थिएनन्, त्यहाँ दरबन्दीको व्यवस्था गरेका छौं । आगामी दिनमा शिक्षामा नयाँ योजना तथा कार्यक्रम ल्याउँदै छौं । जुन बालबालिका विद्यालय जान सक्ने अवस्थामा छैनन्, विद्यालय पोशाक, कापीकलम नभएर विद्यालय गएका छैनन्, त्यस्ता बालबालिकालाई सहयोग गरेका छौं । स्वास्थ्यको क्षेत्रमा सबै वडामा शहरी स्वास्थ्य क्लिनिकहरू सञ्चालन गरेका छौं । बर्थिङ सेन्टरको स्थापना भएका छन् । कुनै पनि ठाउँमा औषधि उपचारको अभाव हुन दिएका छैनौं । रोजगारीको क्षेत्रमा विभिन्न समूहलाई शीपमूलक तालीम दिएका छौं । शीप सिकेकाहरूले सम्बन्धित उद्यम व्यवसाय गर्न चाहेमा किस्ताबन्दीमा साँवा फिर्ता गर्नेगरी विनाब्याज ऋण दिने व्यवस्था गरेका छौं ।
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
शहरीकरणमा फोहोरमैला व्यवस्थापन मुख्य चुनौती हो । नगरपालिकाले विभिन्न टोल सुधार समिति र सरोकारवाला निकायसँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन तालीम, गोष्ठी आयोजना गरेका छौं । यसका लागि समुदायको तर्फबाट हुन सक्ने कामबारे छलफल र परामर्श भएका छन् । सोही अनुसार सबैले आआप्mनो तर्फबाट सहयोग गर्नुपर्छ । बजार क्षेत्रमा भत्किएका कालोपत्र सुधार गरिएको छ । अप्रिय घटना हुन नदिन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएका छन् । रातभर सडक उज्यालो बनाउन सोलार बत्तीको व्यवस्था गरेका छौं ।
नगरको विकासमा चुनौती के देख्नुहुन्छ ?
सबैभन्दा ठूलो चुनौती हामीमा चेतनाको कमी छ । जनतालाई सबै काम नगरले गर्छ भन्ने छ । आप्mनो भूमिका, दायित्व र कर्तव्यबारे खासै सोचेको पाइएन । हामी अधिकार मात्र माग्ने भयौं, कर्तव्य वहन गरेनौं । अर्को चुनौती आर्थिक अभाव पनि हो । २० करोड रुपैयाँ लाग्ने योजनाका लागि ५ करोड मात्र दिन सक्ने अवस्था छ । त्यसो हुँदा उक्त योजना सक्न ४ बर्ष लाग्छ । ४ वर्षसम्ममा पहिले शुरू गरेको काम बिग्रि–भत्किसकेको हुन्छ ।
दिगो विकासको अवधारणलाई कसरी अवलम्बन गर्नु भएको छ ?
बजेट मात्र होइन, चेतनाको हिसाबले पनि दिगो विकासका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता बोध गरेका छौं । दिगो विकासका १७ ओटा सूचक छन् । यीमध्ये हामीले केही पूरा गरेका छौं । यस्ता सूचक एकैपटक पूरा गर्न सम्भव छैन । दिगो विकासका लागि पहिलो कुरा त खाना, नाना, स्वास्थ्य, शिक्षा लगायत आवश्यकता पूरा हुनुपर्यो । मानिस खाली पेटमा कालोपत्र बाटो हिँड्न सक्दैन । त्यसैले उसको न्यूनतम आवश्यकता पूरा भयो कि भएन भन्नेमा हामीले ध्यान दिनुपर्छ । त्यसैले हेर्दा सामान्य लाग्ने, तर खास समस्या समाधान गर्दै दिगो विकासको लक्ष्यमा अघि बढ्ने योजना छ ।