उमेर बढ्दै जाँदा जोर्नी खिइँदै जाने र अन्ततः कामै नलाग्ने अवस्थामा पुग्न सक्छ । यस्तै दुर्घटनामा परेर जोर्नी खराब भई काम नलाग्ने भयो भने त्यो अवस्थामा पनि जोर्नी प्रत्यारोपण गरेर दैनिक जीवनयापनमा फर्कन सकिन्छ । उमेर बढ्दै जाँदा जोर्नी बिग्रिएर काम नलाग्ने भए पनि कतिपय मानिस बुढेसकालले गर्दा यस्तो भएको सोचेर उपचार नगराई बस्ने डा. शिशिर लाखे बताउँछन् । तर यस्तो अवस्थामा जोर्नी खराब भएको भए कृत्रिम जोर्नी प्रत्यारोपण गरी सामान्य जीवनयापन गर्न सकिने उनको भनाइ छ । यसै सन्दर्भमा जोर्नी बिग्रिने कारण, कृत्रिम जोर्नी प्रत्यारोपण, कृत्रिम जोर्नीको काम लगायत विषयमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. लाखेसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :
जोर्नी प्रत्यारोपण भनेको के हो ?
जोर्नीले काम गर्न छाडेपछि शल्यक्रिया गरेर त्यसको सट्टामा नयाँ कृत्रिम जोर्नी राख्नु जोर्नी प्रत्यारोपण हो । जोर्नी खिइएर काम गर्न छाडेपछि दुखाइ अत्यधिक हुने, नियमित पेनकिलर खाँदा पनि त्यो दुखाइ कम नहुने र दैनिक जीवनयापन असहज हुने गर्छ । यस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुको विकल्प रहँदैन । जोर्नी बिग्रिएर काम नगर्ने अवस्थामा पुगेपछि कृत्रिम जोर्नी प्रत्यारोपण गरिन्छ ।
जोर्नी खिइँदै वा बिग्रिँदै जाँदा कस्ता लक्षण देखिन्छन् ?
जोर्नी बिग्रिँदै जाँदा दुखाइ अत्यधिक हुने, पलेँटी मार्न गाह्रो हुने, हिँडडुल गर्न गाह्रो हुने, घुँडा बांगो हुने आदि लक्षण देखिन्छन् । यसबाहेक नियमित पेनकिलरको सेवन गर्नुपर्ने, फिजियोथेरापी गर्नुपर्ने, घुँडामा सुई लगाउनुपर्ने अवस्था आउँछ ।
के कारण जोर्नी बिग्रिन्छ ?
सामान्यतया उमेर बढ्दै जाँदा जोर्नी खिएर कमजोर हुन थाल्छ । यसबाहेक बाथरोग, वंशाणुगत रोग, दुर्घटना, धूमपानको सेवन, खानपिन, जीवनशैली आदिका कारण जोर्नी बिग्रिन्छ ।
जोर्नीको प्रत्यारोपण कसरी हुन्छ ?
सामान्यतया उमेर बढ्दै जाँदा जोर्नी बिग्रिँदै जान्छ, जसकारण वृद्धहरूमा प्रत्यारोपण बढी हुन्छ । बुढेसकालमा शरीरको अवस्था सामान्य अवस्थामा हुँदैन । त्यसकारण सबैभन्दा पहिले शरीर शल्यक्रिया गर्न सक्ने अवस्थामा छ कि छैन भनेर हेरिन्छ । मुटु, फोक्सो, छाती लगायतको आवश्यकता अनुसार जाँच गरिन्छ । त्यसपछि अन्य स्वास्थ्य उपचार गरेर शरीरलाई शल्यक्रियाका लागि अनुकूल पारिन्छ । त्यसपछि शल्यक्रिया गरेर जोर्नी प्रत्यारोपण गरिन्छ ।
सबैभन्दा बढी जोर्नी प्रत्यारोपण कुन अंगको हुन्छ ?
सबैभन्दा बढी प्रत्यारोपण हुने जोर्नी घुँडाको हो । करीब ९० प्रतिशत प्रत्यारोपण यसैको हुन्छ । यसबाहेक कमर, पाखुराको आदिको पनि जोर्नी प्रत्यारोपण गर्न सकिन्छ ।
घुँडाको जोर्नी प्रत्यारोपण कुन अवस्थामा गरिन्छ ?
घुँडाको जोर्नी कमजोर हुँदै जाँदा खुट्टा टेढो हुने, हिँडडुल गर्न गाह्रो हुने, सामान्य हलचल गर्न पनि गाह्रो हुने, दैनिक क्रियाकलाप गर्न कष्टदायी हुने हुन्छ । यस्तो अवस्थामा शुरूमा त अन्य उपचार गरिन्छ । जोर्नी खिइँदैमा शुरूमै कृत्रिम जोर्नी राख्ने भन्ने होइन । अन्य सम्पूर्ण उपचारको उपाय अपनाइसकेपछि पनि कुनै सुधार आएन र जोर्नी पूर्णतया काम नलाग्ने अवस्थामा छ भने जोर्नी प्रत्यारोपण गरिन्छ । अन्य कुनै विकल्प नभएपछि मात्रै जोर्नी प्रत्यारोपण गर्ने हो ।
प्रत्यारोपणपछि पुरानै अवस्थामा फर्किन सकिन्छ ?
दैनिक जीवनयापन सहज पार्न जोर्नी प्रत्यारोपण गरिन्छ । प्रत्यारोपणपछि जोर्नी बिग्रिएर हुने अत्यधिक पीडा हराउँछ । पेनकिलर खानुपर्दैन । सबै दैनिक क्रियाकलाप गर्न सकिन्छ । हेर्दा जोर्नी बिग्रिएर टेढो भएको खुट्टा सोझो भइसकेको हुन्छ । तर मानिसले बनाएको अंग प्राकृतिक अंग जस्तो त हुँदैन । हरेक शल्यक्रियामा केही समस्याहरू आउँछन् नै । कृत्रिम जोर्नीका लिमिटेशन हुन्छन् । शल्यक्रियापछि टुक्रुक्क बस्न सकिन्न, केही हदसम्म पलेँटी मार्न सकिन्न । प्यान शौचालय प्रयोग गर्न मिल्दैन, कमोड प्रयोग गर्नुपर्ने हुन्छ ।
कुन उमेरमा कृत्रिम जोर्नी प्रत्यारोपण बढी हुन्छ ?
वृद्धावस्थामा जोर्नी खिइँदै र बिग्रिँदै जाने भएकाले करीब ९० प्रतिशत प्रत्यारोपण वृद्धावस्थामै हुन्छ । यसबाहेक दुर्घटना लगायत अन्य कारण जोर्नी काम नलाग्ने भएको छ भने त्यस्तो अवस्थामा पनि जोर्नी प्रत्यारोपण गर्न सकिन्छ ।
कृत्रिम जोर्नीको आयु कति हुन्छ ?
कृत्रिम जोर्नीको आयु धेरै लामो हुँदैन । यसले करीब २० वर्ष काम गर्छ, जसकारण जोर्नी प्रत्यारोपण हामी जतिसक्दो ढिलो गर्छौं । अन्य उपचार हुन्छ भने सकेसम्म त्यो उपचार गरिन्छ । समस्या धेरै भयो भने कम उमेरमा पनि गर्नुपर्छ ।
जोर्नी बिग्रिनबाट कसरी बच्न सकिन्छ ?
जोर्नी बिग्रिनबाट बच्न मोटोपन, कोलेस्टेरोल, मधुमेह आदि नियन्त्रणमा राख्नुपर्छ । धूमपान त गर्नु नै हुँदैन ।
जोर्नीलाई अत्यधिक भार पर्नेगरी जिम, कडा खालको खेलकुद लगायत क्रियाकलाप गर्नुहुँदैन । यसबाहेक खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ ।
नेपालमा जोर्नी प्रत्यारोपणको अवस्था कस्तो छ ? विश्वस्तरीय उपचार हुन्छ ?
नेपालमा पछिल्लो समय जोर्नी प्रत्यारोपण गर्नेको संख्या पहिलेको भन्दा बढेको छ । पहिले यससम्बन्धी ज्ञान नभएर, विश्वास नभएर यसको शल्यक्रिया कमैले गर्थे । पछिल्लो समय मानिसले यो उपचारको फाइदाका बारेमा बुझ्न थालेका छन् र यसको माग पनि बढेको छ ।
यस्तै उपचारको अवस्था हेर्ने हो भने अन्य देशमा जस्तै जोर्नी प्रत्यारोपण नेपालमा हुन्छ । नेपालमा पनि जोर्नी प्रत्यारोपणका लागि अन्य देशमा प्रयोग हुने आधुनिक प्रविधि नै प्रयोग गरिन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
स्वस्थ जीवनका लागि व्यवस्थित जीवनशैली र स्वस्थकर खानपानमा ध्यान दिन सबैलाई आग्रह गर्छु । सकेसम्म शल्यक्रिया नै गर्न नपर्नेगरी समयमै सचेत हुनुपर्छ । नियमित साधारण भए पनि व्यायाम गर्नुपर्छ । अहिले आधुनिक प्रविधिबाट प्रायः सबै रोगको उपचार सम्भव छ । त्यसैले समयमै उपचार गराउन अनुरोध गर्दछु ।