ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पष्ट नीति नहुँदा मानसिक रोगी उपेक्षित 

Oct 18, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
डा. सुशील समदर्शी, नशा तथा मनोरोग विशेषज्ञ, प्रदेश अस्पताल सुर्खेत


घरेलु हिंसा, लैंगिक हिंसा तथा यौनजन्य हिंसाले मनोसामाजिक र मानसिक रोगीहरूको संख्या दिनानुदिन बढिरहेको छ । आर्थिक अवस्था कमजोर, पारिवारिक झमेला, सन्तानप्रतिको असन्तुष्टि, यौन मामिलामा असन्तुष्टि, बेरोजगारी तथा इन्टरनेट र अन्य आधुनिक प्रविधिका सामग्रीले गर्दा विभिन्न प्रकारका मानसिक समस्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालमा नसर्ने रोगहरूमध्ये १८ प्रतिशत मानसिक रोग छ । त्यस्तै मनोसामाजिक अपांगता गराउने प्रमुख १० समस्यामध्ये चारओटा मानसिक समस्या नै छन् । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस/एमडी (साइक्याट्री) अध्ययन गरेका डाक्टर सुशील समदर्शी यतिबेला कर्णालीमा मनोरोगको पहिचान, उपचार परामर्शका लागि विभिन्न शिविरसँगै आम जनचेतना जगाउने अभियानमा जुटेका छन् । यसै सन्दर्भमा मानसिक रोगको कारण, बच्ने उपाय लगायत विषयमा प्रदेश अस्पताल सुर्खेतमा मनोचिकित्सकका रूपमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डा. समदर्शीसँग आर्थिक अभियानका सुर्खेत संवाददाता आकाशतारा बयकले गरेको कुराकानीको सार :

मानसिक रोग के हो ?
मानसिक स्वास्थ्य भनेको मन र मस्तिष्कको अवस्था हो, जहाँ व्यक्तिले आप्mनो क्षमताका बारेमा यकिन गर्न सक्दछ । दैनिक सामान्य तनावको अवस्थालाई झेल्न सक्दछ तथा उत्पादनशील भई समाजका लागि केही योगदान दिन सक्छ । जब मन र मस्तिष्कमा गडबड हुन्छ, मनोविकार उत्पन्न हुन्छ । मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । मनोरोग लागेपछि व्यक्तिको सोच, मन, बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । कतिपय अवस्थामा यही गडबड भएको ज्ञान मान्छेमा हुँदैन । आजकल मनोरोगको वैज्ञानिक तवरले सहज रूपमा उपचार हुन्छ । मनोरोग जो कोहीलाई पनि लाग्न सक्छ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरीब कोही भन्दैन । मानसिक रोगको उपचार सम्भव छ ।

मनोरोग र डिप्रेशनमा के फरक छ ?
मनोरोग भन्नेबित्तिकै डिप्रेशन (उदासीनता) हो भन्ने आम बुझाइ छ । तर सबै मानसिक रोग डिप्रेशन हुँदैनन् । डिप्रेशनले धेरै मान्छेलाई सताउने भएकाले मात्र यस्तो बुझाइ भएको हो । डिप्रेशन भनेको उदासीपन वा निराशापन हो, जसमा व्यक्तिको जागर र रुचि घट्दछ । व्यक्तिको खानपान र निद्रामा यसले असर पु¥याउँछ । डिप्रेशनकै कारण धेरैले आत्महत्या पनि गरेका छन् । तर मानसिक रोग सामान्य, मध्यम र कडा अनि जटिल हुन्छन् । रोगबारे बुझेर समयमै उपचार गराउन सके सबै मानसिक रोग निको हुन्छ । समान्य डिप्रेशनलाई अस्पताल भर्ना गरिरहनु पर्दैन । तर कडाखाले रोग लागेमा भर्ना आवश्यक छ ।

मनोरोगका लक्षण के हुन् ? 
मानसिक रोगी चिन्न व्यक्तिको बोलीचाली, व्यवहार र कार्यतालिकामा परिवर्तन भएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । मनोरोगका लक्षण धेरै हुन्छन् । कतिपय मनोरोगका लक्षण उस्तै पनि देखिन्छन् । यद्यपि सधैं चिन्ताग्रस्त हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुशी हुनु, नियन्त्रण गर्न नसक्नु, निद्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, विनाकारण डर लाग्नु, आपूmमात्र ठीक अरू सबै बेठीक भन्ने लाग्नु मानसिक रोगका सामान्य लक्षण हुन् । त्यस्तै पहिलेको भन्दा चाँडै थाक्नु, एक्कासि धेरै स्पूmर्ति आउनु, आत्तिनु, व्यवहारमा परिवर्तन हुनु, विनाकारण स्मरण शक्तिमा ह्रास आउनु, खानामा अरुचि हुनु, शंका, भ्रम धेरै लाग्नु लगायत पनि मानसिक रोगका लक्षण हुन सक्छन् । 

मनोरोगका कारणहरू के के हुन् ?
मानसिक रोगका मुख्य कारण तीनओटा छन् । वंशानुगत, जैविक र अर्को मनोसामाजिक हुन् । परिवारमा बुबा, आमा वा हजुरबा हजुरआमालाई मानसिक रोग छ भने तिनका सन्तानमा पनि यो देखिने सम्भावना हुन्छ । जैविक कारण भनेकै हाम्रो शरीरको रासायनिक प्रक्रिया हो । हार्मोनले गर्दा मस्तिष्क र मनमा गडबड भएमा यो रोग लाग्न सक्छ । वंशाणुगत कारण पनि मानसिक रोग लाग्न सक्छ । अर्को मनोसामाजिक भनेको वरिपरि समाजमा भएका तनावका स्रोत हुन सक्छन् । त्यस्तै अनुकूलन क्षमतामा कमी हुनु पनि मानसिक रोगको कारण हुन सक्छ । मानसिक तनाव, द्वन्द्व, वैदेशिक रोजगारीमा असफलता, सांस्कृतिक परिवर्तन, दुव्र्यसनी, व्यक्तित्वको गडबडी आदि अनेक समस्याले गर्दा यस्ता रोग देखा पर्छन् ।  

मनोरोगीसँग कस्तो व्यवहार गर्नुपर्छ ?
हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण नै संकुचित भएकाले मनोरोग लागेपछि परिवार आत्तिने गरेको पाइन्छ । मनोरोगलाई समाजले पनि गलत तरिकाले व्याख्या गरिदिने हुनाले परिवारलाई अझै दबाब पर्छ । त्यसैले किशोरी उमेरमा मनोरोग लागेमा उपचार गराउनुको साटो बिहे गरिदिए ठीक हुन्छ भन्ने बुझाइ छ । तर यो गलत हो, हामीकहाँ आउने धेरै बिरामी यस्तै पीडित भएको पाएका छौं । मनोरोग लाग्दैमा आत्तिनु पर्दैन । संसारमा रोग नभएको मान्छे शायदै हुन्छन् । मानसिक रोगको उपचारमा औषधि तथा मनोपरामर्श महत्त्वपूर्ण हुन्छ । मनोरागीलाई उसको हरेक क्रियाकलापमा सहयोग समर्थनसँगै विशेषज्ञ डाक्टरसँग सल्लाह, सुझाव लिनुपर्छ । मानसिक रोगलाई पनि अन्य रोगसरह हेर्ने दृष्टिकोण बनाउनु पर्दछ । 

मानिसमा रहेका गलत धारणा कसरी हटाउने ?
मनोरोग केहीलाई मात्र लाग्छ । मानसिक रोग चारित्रिक कमजोरी र इच्छाशक्तिको अभावले लाग्छ । मनोरोग भूतप्रेत, पिशाच, दैवी श्राप, बोक्सीको बिगारले हुन्छ भन्ने रुढीवादी सोच हो । त्यस्तै एकपटक मनोरोग लागेपछि ठीक हुँदैन भन्ने धारणा पनि गलत हो । मनोरोगीलाई पागल (म्याड) भनेर होच्याउने, हेय दृष्टिले हेर्ने, कमजोर बनाइदिने गरिन्छ । जनचेतनाको माध्यमबाट यस्तो प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । मनोरोग लागेकाहरूलाई असल व्यवहार गर्नुपर्छ भन्ने आम बुझाइ विकास भएकै छैन । मनोरोगबारे नेपाली समाजमा नपढेका, कम पढेका मात्र होइन, पढेलेखेकामा पनि गलत धारणा छ । मनोरोग पनि अन्य रोगजस्तै हो । समयमै उचित उपचार गरे यो रोग पनि ठीक हुन्छ । 

मनोरोगी हुनबाट जोगिने उपाय के हो ?
सरकारले मानसिक स्वास्थ्य र मनोरोगबारे पर्याप्त चेतना जगाउनुपर्छ । अन्य रोगहरूमा नीति बनाएर सचेतना बढाएजस्तै मानसिक रोगबारे पनि प्रस्ट नीति बनाएर लागू गराउनुपर्छ । सरकारले स्वास्थ्य नीति बनाउँदा तथ्यपूर्ण अध्ययन अनुसन्धानको आधारमा बनाउनुपर्छ । मानसिक स्वास्थ्यबारे राज्यले धेरै जनचेतना जगाउनुपर्ने खाँचो छ । अझै पनि धेरै रोगीहरू गाउँघरमा उपचार नपाएर बस्न बाध्य छन् । सबै ठाउँमा तत्कालै विज्ञ नियुक्त गरेर पठाउन नसकिएला, तर त्यस्ता ठाउँमा मानसिक स्वास्थ्य र मनोरोगबारे उचित तालीमप्राप्त स्वास्थयकर्मीहरू खटाउन सकिन्छ । यसो भएमा रोगको तत्काल पहिचान गरेर विज्ञ भएको अस्पतालमा रिफर गर्न सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)