ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘गरिमा’ धानमा लागेन बाला

Oct 21, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी


दाङ । सरकारले नै सिफारिश गरेको ‘गरिमा’ धान समय बितिसक्दा समेत नफलेपछि दाङका किसानहरू चिन्तित भएका छन् । धानबालीका लागि जिल्लाकै उर्बर भूमि मानिने देउखुरी क्षेत्रमा लगाएको ‘गरिमा’ जातको धानमा बाला नलागेको हो । 

‘१२० दिनमा पाक्छ भनेर लगाएको हो, अहिलेसम्म पनि बाला लागेको छैन,’ देउखुरीस्थित मजगाउँका किसान गुरुप्रसाद चौधरीले भने । उनले यो जातको धान करीब ११ कट्ठामा लगाएका थिए । चौधरीको मात्रै होइन, त्यस क्षेत्रमा करीब ८० बिघामा लगाएको यो जातको धानमा अहिलेसम्म बाला लागेको छैन ।

लगाएको झण्डै तीन महीना बितिसक्दा समेत गरिमा धानले फल नदिएपछि यहाँका किसानले कृषि ज्ञान केन्द्र घोराहीमा गुनासो गरेका छन् । यहाँका किसानले यसवर्ष मात्रै होइन, विगतका वर्षमा पनि यो जातको धान लगाएका थिए । विगतका वर्षमा १३० देखि १३५ दिनभित्रमा यो धान भित्र्याएको किसानहरूको भनाइ छ । 

विगतका वर्षमा पनि जिल्लाका विभिन्न स्थानमा गरिमा जातको धान लगाउने गरेको र राम्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र घोराही दाङका सूचना अधिकृत जीवनकुमार ओलीले बताए । ‘गरिमा जातको धान नै नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘यसको बीउमै केही खराबी हुनसक्छ, यसलाई हामीले अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार यो जातको धानले ९० दिनभित्रमा फल दिने भएकाले अब फल लाग्ने सम्भावना कम छ । यस वर्ष यस्तो समस्या लमही नगरपालिकाका वडा नं. ३ र ४ का विभिन्न क्षेत्रमा किसानहरूले लगाएको गरिमा धानमा देखिएको छ । विगतका वर्षमा राम्रो फल्ने गरे पनि यस वर्ष बाला नै नलागेपछि किसानहरूले धानको बीउमै शंका गरेका छन् । सो क्षेत्रमा स्थानीय सनराइज एग्रीकल्चर रिसर्च सेन्टरले बीउ वितरण गरेको थियो । दाङमा यसवर्ष ३६ हजार ९५५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)