साविक ६ ओटा गाविस मिलेर बनेको नौबहिनी गाउँपालिकामा ८ ओटा वडा छन् । गाउँपालिकाले यस वर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको अध्यक्ष शिवराज रिजाल बताउँछन् । प्रस्तुत छ, गाउँपालिकाको विकास गतिविधि, योजना, चुनौती लगायत विषयमा आर्थिक अभियानका प्यूठान संवाददाता राजेश जीसीले अध्यक्ष रिजालसँग गरेको कुराकानीको सार :
गाउँपालिकामा अहिले कस्ता कामहरू भएका छन् ?
जनताको आवश्यकता र चाहना अनुसार काम भएका छन् । यसमा मुख्यतः पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएका छौं । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा धेरै काम भएका छन् । गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा केही समस्या भएको छ । तर पनि प्रभावकारी ढंगले परिचालन गरी जनचाप अनुसारका विकासको कामलाई तीव्रता दिएका छौं ।
२ वर्षको अवधिमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी भएका काम के के हुन् ?
हामीले यो अवधिमा सडक निर्माणलाई नै प्राथमिकता दियौं । ८ ओटै वडामा सडक सञ्जाल पुर्याएका छौं । खानेपानी, स्वास्थ्य, शिक्षाका क्षेत्रमा पनि उल्लेख्य काम गरेका छौं ।
शिक्षाक्षेत्रमा कस्ता काम गर्नुभयो ?
नौबहिनीमा अभिभावकबाट पैसा उठाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था अन्त्य भएको छ । यहाँका विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक स्थिति कमजोर थियो । यसमा पनि सुधार भएको छ । गाउँपालिकाका ३९ विद्यालयमा ५३ जना शिक्षकको प्रबन्ध मिलाएका छौं । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका जेहेनदार विद्यार्थीलाई सहयोग गरेका छौं ।
पालिकाले स्वास्थ्य क्षेत्रमा के गरिरहेको छ ?
नौबहिनी गाउँपालिका दुर्गम क्षेत्र हो, जहाँ पहिले पर्याप्त स्वास्थ्य संस्था थिएनन् । तर हामी आएपछि दुर्गम क्षेत्रमा पनि स्वास्थ्य एकाइ स्थापना गरेका छौं । पहिला वडा विभाजन हुँदा त्यहाँ स्वास्थ्य संस्था थिएनन् । अहिले त्यहाँ ७ ओटा स्वास्थ्य एकाइ पुगेका छन् । १६–१७ जना अनमी र ल्याबको व्यवस्था गरेका छौं ।
कृषि क्षेत्रको विकासका लागि कसरी काम अगाडि बढाउनु भएको छ ?
नौबहिनी गाउँपालिका कृषि तथा पशुपालनमा धेरै सम्भावना भएको पालिका हो । यहाँ परम्परागत रूपमा पशुपालन तथा कृषि उद्यम गरिँदै आएको छ । त्यसलाई आधुनिकीकरण गर्ने योजना बनाएका छौं । कृषिको आधुनिकीकरण तथा पशुपालनको व्यावसायिकता विकासका लागि गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ ।
पर्यटकीय क्षेत्रको प्रचारप्रसार, विकास र प्रवर्द्धनका लागि पालिकाले के गरिरहेको छ ?
नौबहिनी गाउँपालिकामा पर्या–पर्यटनको ठूलो सम्भावना छ । यो पालिकामा धेरै पर्यटकीय स्थल छन् । डाँफे, मुनाल, थार, मयूर, राते, घोरल लगायत विभिन्न पन्छी तथा जनावर यहाँ पाइन्छन् । गाउँपालिकाका पर्यटकीय स्थल नौबहिनी मन्दिर, नौबहिनी झरना, नौबहिनी सुर्खेत, गौमुखी ताल, मालारानी गुफा, प्यूठान जिल्लाकै उच्च स्थानमा रहेका कोठीभीर, कटबरा दहको प्रचारप्रसार तथा विकासका लागि हामी योजना सहित अघि बढेका छौं । पर्यटकीय स्थलसम्म पुग्न पैदलमार्ग निर्माण गरेका छौं । पर्यटकीय स्थलको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी अगाडि बढ्दै छौं ।
गाउँपालिकामा अल्लो उद्योगको प्रवर्द्धनका लागि के गरिँदै छ ?
स्थानीय पहिचान खुल्ने किसिमका लघु उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति लिएका छौं । यस्ता उद्योगको निरन्तरताका लागि गतवर्ष तीनजना उद्योगीलाई २÷२ लाख रुपैयाँ अनुदान दिएका छौं । यो उद्योगको व्यवस्थापन तथा विकासका लागि अन्य सहयोग गर्ने योजना बनाएका छौं ।
पहिलो र दोस्रो वर्ष कस्ता योजनालाई प्राथमिकता दिनुभयो ?
जनताको शतप्रतिशत जनश्रमदान रहेका योजना हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । यस्तै पहिलो वर्ष सडकलाई नै प्राथमिकतामा राख्यौं । शिक्षा, स्वास्थ्य त त्यसपछिका योजनामा रहे । बल्लेखोला मैरामारे सडक निर्माण हाम्रो मुख्य उपलब्धि हो । प्रमुख आयोजनाहरूमा बहाने–चिसापानी सडक रहेको छ, जुन रोल्पाको गाममा जोडिने सडक पनि हो । प्युठान नगरपालिकाको खलिगाउँदेखि फोप्लीसम्मको मोटर बाटो निर्माण तथा विस्तार कार्यक्रम पनि मुख्य योजना हो । गाउँपालिकाको लिघामा रहेको कडबारा ताल (जुन ग्रामीण पर्यटनका लागि सम्भावित क्षेत्र हो)मा पदमार्ग, लुप्लुङमा रहेको मुहानको संरक्षणसँगै गौमुखी ताल निर्माण गरिएको छ । माक्रेमा मन्दिरमा पर्यटकीय आकर्षण बढाउन विभिन्न काम गरेका छौं ।
गाउँपालिकाको गौरवका योजना कुन कुन हुन् ?
हामीले यस वर्ष गाउँपालिकाका गौरवका योजना भनेर तीनओटा सडक निर्माणकोे तयारी गरेका छौं । यस अन्तर्गत बहाने–चिसापानी–लिघा–रोल्पा जोड्ने सडक, बहाने–लुङ– तुसारा–मच्छी जोड्ने सडक र बल्लेखोला–थात्रा–मैरामारे–रोल्पा जोड्ने सडक छन् । घरवास विहीन जनताको व्यवस्थापनका लागि नमूना बस्ती निर्माणको योजना बनाएका छौं ।
५ वर्षमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
विकासको पहिलो खुड्किला भनेको सडक हो । त्यसैले सबै वडामा स्तरीय सडक पुर्याउने र सबैलाई शिक्षाको पहुँचमा ल्याउनेगरी काम गर्ने योजना छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज बजारीकरणको व्यवस्था गर्नेछौं । जनतालाई कृषिमा आधुनिकीकरणतर्फ उन्मुख बनाउनेछौं । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य छ । लिघामा रहेको प्राकृतिक दहको संरक्षण तथा प्रचार प्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायत पूर्वाधारको विकासबाट गाउँपालिकालाई अघि बढाउने संकल्प गरेका छौं ।
गाउँपालिकालाई समृद्ध बनाउने आधार के–के हुन् ?
कृषि र पर्यटन यहाँको मुख्य सम्भावना हो । यसबाटै आत्मनिर्भर भएर समृद्धितर्फ उन्मुख हुन सकिन्छ भन्ने सोच छ । यहाँका पर्यटकिय सम्भावना बोकेका क्षेत्रको पहिचान र विकास गर्नेतर्पm अघि बढ्दै छौं । सबै वडामा सहज सडकको व्यवस्था गरेर त्यहाँका कृषि उपजको बजारीकरण गर्न सके कृषकको आर्थिक स्तर उकासिन्छ । यस्तै सबै वडामा विद्युत् र खानेपानीको सुविधा पुर्याएर जनताको जीवनयापन सहज बनाउन सकिन्छ ।
ए हजुर गरेको काम लाई गरेको भन्न सिकौ चाय जुन सुकै पाटी होस सबै आफ्नो हुनु पर्छ भन्ने हुदैनन् अरुको देखेर पनि खुसि हौ
यो पालिका आज देखि होइन कहियौ ईतिहास देखि नेपाल कम्युनिस्ट पार्टिले बहुल्यता कायम राखेको ठाउँ हो।दुर्भाग्यवश स्थानीय तहमा षड्यन्त्र कारी हरुको र जिल्लास्तरीय तथा केन्द्र कमितिका बडेमान उदाहरण बामदेव महोदय, प्र.सभा सदस्य हरि रिजाल महोदय! हिजो नि जिल्लामै आज नि जिल्लामै ससुराली जस्तो गरेर बसेका तुल्सी शर्मा जस्ता केही आशा भएको ब्यक्ती हरुले चासो र महत्त्वपूर्ण न दिदा हारिएको हो।।काङ्ग्रेस ले गर्ने लक्ष्य त होइन धेरै संघर्ष पछि सत्ता मा जनताको बिश्वास हेर्ने मौका पायो र विकास निकास मा न गरेको नि होइन।।तर गरेर गरे जस्ता नहुने अल्पसंख्यक काम कार्य हरु गरेको छ।अनि हिजो प्युठान जिल्ला मै नघट्ने जघन्य अपराध हरु बहुत घटे।गरिब र धनी बर्ग लाई नजर फरक ले कानुनी दायरा मा ल्याउने कार्य भैरहेको छ।गा, पा प्रमुख को जन्मस्थल लुङ मा राजनितिक भेदभाव ले होला केही अपाङ्ग काङ्ग्रेस को बैश आको छ।।सदाबहार बाहाने को विकास र निकास का निम्ति खतेका धेरै मान्छे असन्तुष्ट छ्न।।।
जनता ईछूक बिना गरेको बिकास कूनै महतो हूदैन नौबहिनी 7 मा