रुकुम पश्चिम । रुकुम पश्चिममा गत आर्थिक वर्ष २०७५/७६ मा तरकारीको बीउ उत्पादन घटेको छ । मौसमी प्रतिकूलताका कारण बीउ उत्पादन घटेको तरकारी बीउ केन्द्र चाँफाले जानकारी दिएको छ ।
केन्द्रले गत आवमा मूल बीउ १ हजार ४५० केजी र उन्नत बीउ ६५० केजी उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, मूल बीउ ६१४ केजी र उन्नततर्फ आधाभन्दा कम मात्रै उत्पादन भएको केन्द्रका प्रमुख किशोरमान श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बीउ उत्पादन गर्ने कुरामा मौसमी जोखिम हुन्छ । असिनापानीले गर्दा बीउ उत्पादन घटेको हो ।’
गत आवमा लक्ष्यअनुसार बीउ उत्पादन नभए पनि केन्द्रले चालू आवमा भने लक्ष्य झनै बढाएको छ । केन्द्रले चालू आवमा प्रजनन बीउ १८ दशमलव २ केजी, मूल बीउ १ हजार ६५० केजी र उन्नत बीउ ८०० केजी उत्पादनको लक्ष्य कायम गरेको छ । असिनापानी र कीराबाट जोगाउन सके लक्ष्यअनुसार बीउ उत्पादन गर्न सकिने श्रेष्ठले बताए ।
उत्पादित तरकारीको बीउ विक्री गरेर गत आव केन्द्रले रू. १३ लाख ८६ हजार राजस्व संकलन गरेको छ । केन्द्रले मूल बीउतर्फ काउलीको काठमाडौं स्थानीय, रायोको खुमल चौडापात, मूलाको मिनोअर्ली, प्याजको रेड क्रियोल, सलगमको पर्पल टप, केराउको सिक्किम लोक र आर्केल जातको बीउ उत्पादन गर्दै आएको छ । उन्नततर्फ बोडीको मालेपाटन, घीउ सिमी चौमासे र त्रिशूली, झ्याङे सिमीको कन्टेन्डर, भिण्डीको पार्वती, स्वीसचार्डको फोर्डहुक जायन्ट र धनियाँको स्थानीय चम्चुर जातको बीउ उत्पादन गर्ने गरेको छ ।
चालू आवमा केन्द्रका लागि ४ करोड ५६ लाख बजेट विनियोजन भएको छ । केन्द्रबाट उत्पादित बीउ रुकुम पश्चिमको साथै रुकुम पूर्व, सल्यान, दाङ, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगायतका स्थानमा निकासी हुने गर्दछ ।