अर्घाखाँचीमा जन्मिएका कृष्ण पाण्डे एनआरएनए हङकङका संस्थापक अध्यक्ष हुन् । पोखराको एक होटलबाट काम थालेका पाण्डे विगत २२ वर्षदेखि हङकङमा व्यवसाय गर्दै आएका छन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, गैरआवासीय नेपाली (एनआरएन) अभियान, यसबाट नेपाललाई पुगेको लाभ लगायत विषयमा आर्थिक अभियानका मदन लम्सालले उनीसँग गरेको कुराकानीको सार :
हङकङ कसरी पुग्नुभयो ?
तत्कालीन समयमा पोखरामा रहेका पर्यटकलाई सेवा दिने ६ ओटा होटलमध्ये एकमा काम गर्दै त्यहीँ व्यवसाय शुरू गरेको थिएँ । शुरूमा विदेश जादिनँ भन्ने नै थियो । पोखरामै रहेकी ब्रिटिश आर्मीकी छोरीसँग विवाहपछि सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्ने समयमा त्यहाँको परिचयपत्र बनाऊँ भन्ने रहरले हङकङ पुगियो । बस्दै जाँदा हङकङप्रति माया बस्यो । बच्चाहरू पनि उतै भए । म जाँदा बेलायतले विमानस्थल निर्माण सम्पन्न गरेर मात्रै हङकङ हस्तान्तरण गर्ने भन्ने थियो । त्यही विमानस्थलको मेकानिकल डिपार्टमेन्टमा डेढ वर्ष काम गरेँ । विमानस्थलको काम सकिएपछि कम्प्युटर इन्स्टिच्युट खोलेर काम ग¥यौं । त्यसपछि म रेस्टुराँ व्यवसायतिर लागेँ । तर सन् २००२ मा सार्स भाइरसका कारण रेस्टुराँ बन्द गर्नुपर्यो । त्यसपछि एशियन भिलेज नाम दिएर मेरो नेतृत्वमा केही नेपालीहरू मिलेर एशियाली खानाहरू उपलब्ध गराउने रेस्टुराँ सञ्चालन गर्यौं । भीआईपी, भीभीआईपीलाई सेवा दिने गरिन्थ्यो । त्यो पनि केही समयपछि खस्किँदै गयो । म पर्यटन व्यवसायी हुँ, रेस्टुराँ व्यवसायमा रमाएँ पनि । तर फूड एन्ड बेभरेजको काम त्यति सजिलो छैन । खासगरी हङकङमा भाडा एकदमै महँगो छ । त्यसैगरी गुणस्तर कायम राख्न, जनशक्तिको खर्च धान्न निकै गाह्रो भएपछि यो क्षेत्रमा निरन्तरता दिन सकिएन ।
अनि के गर्नुभयो ?
पहिले विमानस्थलमा काम गर्दा निर्माण व्यवसायको केही ज्ञान भएकाले एशियन भिलेज सञ्चालन गर्दै निर्माण व्यवसाय थालेको थिएँ । हामीले हाइराइज बिल्डिङहरूमा काम थाल्यौं । त्यसमा हामी फ्रान्सेली प्रविधिमा केन्द्रित थियौं । विस्तारै त्यस्ता बिल्डिङको निर्माण चिनियाँ प्रविधिमा रूपान्तरण हुँदै गयो । त्यसले गर्दा केही मात्रामा हाम्रो व्यवसायलाई चुनौती भयो र उक्त क्षेत्र नै छाडेँ । त्यो छोडेपछि चीनतिरको व्यापार तथा ट्राभल एजेन्सीका काम थालियो । त्यसैगरी पछिल्लो समयमा रेमिट्यान्स र फाइनान्स कम्पनी शुरू ग¥यौं ।
चीनबाट चाहिँ के के व्यापार गर्नुहुन्छ ?
डोरपानी डटकम लिमिटेडका नाममा सञ्चालित हामी सोर्सिङ (स्रोत) कम्पनी हौं । चीनमा सबैभन्दा ठूलो समस्या गुणस्तर र सिपिङको हुन्छ । माग गरेको सामान उद्योगले बनाइसकेपछि खरीदकर्ताको हातसम्म पुर्याउन गर्नुपर्ने सम्पूर्ण काम हामी गर्छौं । त्यसैगरी हामी आफै पनि सामान सोर्सिङ गरेर बेच्छौं ।
तपाईंकोबाट बढीजसो सेवा कहाँका मानिसले लिइरहेका छन् ?
खासगरी अफ्रिका र भारतका मानिसले सेवा लिइरहेका छन् ।
नेपालबाट छैन ?
नेपालबाट नजिक पनि छ । त्यसैले उपभोक्ता आफै जाने गर्छन् । यसका लागि हामी प्रयास गरिरहेका छौं ।
तपाईंबाट सेवा लिन चाहने नेपाली व्यापारी, व्यवसायीलाई के सुझाव दिनुहुन्छ ?
यहाँका व्यवसायीहरू उता जाने, दुई–चार ठाउँ घुम्ने र सामान किनेर फर्किने वा उताको सप्लायरसँग कुरा गरेर सामान किन्नेगरी दुई ढाँचामा सामान ल्याइरहेको देख्छु । तर हामीले ल्याएको चाहिँ तेस्रो खालको ढाँचा हो । प्रोफेशनल अथवा ठूलो सप्लाईमा खरीदकर्ताको उपलब्ध समय अनुसार हामीसँग डाटाबेसमा रहेका ८–१० ओटा फ्याक्ट्री घुमाउँछौं, जसले गर्दा बाँकी फ्याक्ट्रीभन्दा गुणस्तरमा राम्रा हुन सक्छन् ।
नेपालमा नभएको वा भएर पनि अझ राम्रोसँग गर्न सकिने कुनै व्यवसायको सुझाव छ ?
यस्ता धेरै वस्तु हुन सक्छन् । केही समयअघि मैले र एउटा साथीले बजारमा ३५ रुपैयाँमा पाइने बच्चाको डाइपरको सम्भाव्यता हेरेका थियौं । त्यसको नमूना चीनका दुई–तीनओटा फ्याक्ट्रीमा लगेर राम्रो मटेरियल राखी गुणस्तर बढाएर ब्रान्डिङ गरी यातायात खर्चसमेत जोडी काठमाडौंमा आइपुग्दा प्रतिगोटा ७ रुपैयाँमा आइपुग्ने हिसाब निस्किएको थियो । काठमाडौं तथा सीमाका शहरहरूमा मात्रै त्यो पुर्यायौं भने पनि विस्तारै व्यवसाय बढ्दै जान्छ । दिनको ५–७ लाख गोटा त डाइपर बिक्छ भन्ने निष्कर्ष निस्किएको थियो । म चाहिँ जहाँ काम गर्दा पनि स्थानीय पार्टनरसँगै गर्छु । तर नेपालमा स्थानीय पार्टनर सेटअप गर्न अलि अप्ठ्यारो भइरहेको छ ।
तपाईंका रेमिट्यान्स तथा फाइनान्स कम्पनीले कसरी काम गरिरहेका छन् ?
केएमई रेमिट्यान्स र केएमई फाइनान्सका नामबाट सञ्चालन भइरहेका उक्त कम्पनीहरू हङकङकै सबैभन्दा कान्छा कम्पनी हुन् । हामीले यी कम्पनी थालेको डेढ वर्षजति भयो । फाइनान्स शुरूदेखि नै उकालो लाग्यो । रेमिट्यान्समा चाहिँ हाम्रो आफ्नै सफ्टवेयर बनाउने तथा अरू रेमिट्यान्स कम्पनीको एजेन्सी लिएर काम गर्ने भन्ने विषयमा अलिकति समय लाग्यो । भर्खरै काठमाडौंका एक–दुई कम्पनीसँग टाइअप भएको छ र पूर्णरूपमा रेमिट्यान्स व्यवसाय नै चाहिँ शुरू गरिसकेका छैनौं ।
फाइनान्स कम्पनीको वार्षिक कारोबार कति हुन्छ ?
हाम्रो चुक्तापूँजी त १० मिलियन हङकङ डलर हो । बचत तथा अन्य गर्दा ५० लाख हङकङ डलर जति पुगेको होला ।
रेमिट्यान्स कम्पनीले भविष्यमा कत्तिको व्यवसाय गर्न सक्ला ?
त्यहाँ झन्डै ५ लाख त घरमा काम गर्ने विदेशी कामदार छन् । त्यसमा फिलिपिनो, बंगलादेशी, भारतीय, नेपाली लगायत छन् । उनीहरूले खान बस्न त्यहीँ पाइहाल्छन् । महीना मरेर आएको सबै पैसा पठाउने भन्ने हुन्छ । यसले कम्पनीको व्यवसायलाई राम्रो बनाउँछ भन्ने अपेक्षा छ । नेपाल कोरिडोरमा यसरी आधिकारिक रूपमा काम गर्ने हामी मात्र हौं ।
तर नेपालमै स्थापित आईएमई, प्रभु, हिमाल रेमिट लगायत कम्पनी पनि त छन् नि ।
उहाँहरू त पुग्नु नै भएको छैन । हङकङमा कम्पनी दर्ता गर्न, व्यवस्थापन गर्न मध्य एशियाका अन्य देशको तुलनामा सबैभन्दा गाह्रो छ । त्यसैले बेलायत, जापान, अस्ट्रेलियामा प्रशस्तै रेमिट्यान्स कम्पनी भइसक्दा पनि हङकङमा हुन सकेका छैनन् । अब हामी उहाँहरूसँग टाइअप गर्छौं ।
नेपालमा पनि तपाईंको लगानी छ ?
छ । सानिमा माई हाइड्रोको संस्थापक लगानीकर्ता नै हुँ । दोर्दी हाइड्रोको सञ्चालक समितिको सदस्य छु । पोखरामा होटल प्रयोजनकै लागि जग्गा लिइसकेको छु ।
हङकङमा कति नेपाली छन् ? त्यहाँ रहेका नेपाली कुन पेशामा बढी आबद्ध छन् ?
पहिले ४०–४५ हजारसम्म पनि पुगेका थिए । पछि त्यहाँबाट करीब १५ हजार जति बेलायत गएकाले अहिले ३० हजार छन् । बेलायती सैनिकको त त्यहाँ धेरै लामो इतिहास छ । पछि पनि उनीहरूकै परिवारको बाहुल्य छ । आर्मी क्याम्पभन्दा बाहिरका र सन् १९९५ पछि पुगेकाहरू छन् । त्यसपछि गएका व्यवसायमा भन्दा बढीजसो काममै भेटिन्छन् । तर सन् २००८ पछि गएका मानिसले घर बनाउने, जग्गा किन्ने गरिसकेपछि व्यवसायमा लाग्नेको ठूलो जमात छ । झन्डै १ हजार जति नेपाली बिजनेश हाउसेस छन् त्यहाँ ।
कुन क्षेत्रमा र सफलताको कस्तो स्तरमा छन् उनीहरू ?
शुरूमा निर्माण क्षेत्रमा बढी मानिसहरू आबद्ध भए । त्यसपछि त्यो अनुभवलाई व्यवसायमा रूपान्तरण गरे र यो क्षेत्रमा अझै पनि उल्लेख्य छन् । अहिले फूड एन्ड बेभरेजमा पनि धेरै संलग्न छन् । त्यहाँका नेपाली, भारतीय मात्रै नभई मल्टिनेशनल फूड एन्ड बेभरेज कम्पनीमा पनि नेपालीको राम्रो उपस्थिति छ । यस बाहेक अफिस जबमा पनि नेपालीहरू छन् ।
नेपालीलाई जोड्ने संगठनहरू के कति छन् ?
१२० ओटा जति संस्थाहरू छन् । त्यसमा जातीय, क्षेत्रीय, गाउँका समेत संगठन छन् । यो भनेको त्यहाँ पुगेको पहिलो पुस्ता हो । यसले नेपाली खाना, नेपाली सस्ंकृति छोड्दैन पनि ।
एनआरएन अभियानमा कति मानिस छन् ?
त्यो संख्या परिवर्तन भइरहन्छ । प्रत्येक २ वर्षमा सदस्यता नवीकरण गरिरहनु पर्छ । सन् २०१७ मा सदस्यता संख्या झन्डै ४ हजार पुगेको थियो । अहिलेको अधिवेशनमा १ हजार १०० जति भयो ।
हङकङबाट यसपालि अधिवेशनमा कति आए त ?
जम्मा १०० जना आउन पाउने हाम्रो कोटा थियो । तर ७० जना जति मात्रै आएका थिए ।
एनआरएन अभियानलाई कसरी हेरिरहनु भएको छ ?
म एनआरएन हङकङको संस्थापक अध्यक्ष हुँ । सन् २००४ मा त्यहाँ एनआरएन अभियान शुरू गरिएको हो । त्यसपछि म सहभागी भएको यो पहिलो अधिवेशन हो । तीन पटकसम्म आईसीसी सदस्य भएर हङकङको प्रतिनिधित्व गरेँ । एशिया प्यासिफिक क्षेत्रमा डेप्युटी को–अर्डिनेटर भएँ ।
एनआरएनको समग्र अभियानलाई चाहिँ कसरी हेर्नु भएको छ ?
यो अभियान यस्तो समयमा शुरूआत भयो कि जुन समयमा म नेपाललाई लगभग घृणा गर्ने अवस्थामा पुगेको थिएँ । माओवादी द्वन्द्वसँगै सारा चीजहरू भताभुंग अवस्थामा थिए । सुविधा सम्पन्न ठाउँमा बसिरहेको मैले त्यहाँ र यहाँको फरक देखिरहेको थिएँ । यसले मेरो मनमा हीनताबोध उत्पन्न भइसकेको थियो । म मात्र होइन, विदेश जाने जो कोहीको मनमा ‘नेपालमा हामीले साँच्चै दुःख पाएका रहेछौं, हाम्रा बाबु बाजेहरू पनि सुरक्षित छैनन्’ भन्ने सोचको अवस्थामा एनआरएन स्थापना भएको हो ।
धेरैका बुबाआमा यहाँ हुनुहुन्छ । कतिका बच्चा, श्रीमती वा श्रीमान यहाँ छन् । कमाएको पैसाको आधा यता पठाउनु पनि छ । अनि पैसा कहाँ र कस्तो ठाउँमा खर्च भइरहेको छ भन्ने विश्लेषण त गर्छ मान्छेले । त्यही अवस्थामा जब हामीले सन् २००३ मा एनआरएन स्थापना ग¥यौं । त्यसपछि एनआरएनले उत्पादन गरेको ऊर्जा, सिकाएको राष्ट्रियता हाम्रो अगाडि छ । २ वर्षको अवधि अर्थात् एक कार्यकालभित्रमा ६ ओटा क्षेत्रमा हामी बैठक गर्छौं । त्यसपछि विश्व सम्मेलन काठमाडौंमा गर्छौं । राष्ट्रिय संयोजन समिति (एनसीसी)का अधिवेशनहरू हुन्छन् । एउटा मान्छेले २ वर्षको बीचमा विदेशमा र नेपालमा दौडिएर जे देख्न सक्छ, पत्रिका पढेर त्यो देखिन्न । जुन नेटवर्क बन्न सक्छ, त्यो बन्न सक्दैन । विश्व सम्मेलनका बेला त सरकारका सम्पूर्ण निकायहरूसँग भेट्ने, अन्तरक्रिया गर्ने मौका पाउँछौं । नेपालमा विकास निर्माणका काम कहाँ, के कति हुँदै छ भन्ने बाहिर बाटोमा भन्दा नजिकबाट नीति निर्माणका कुरा देख्न, सुन्न पाउँछौं । त्यसले मान्छेको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ । यसरी बुझेको मान्छेले फर्किएर आफ्नो त्यहाँको समुदायमा पनि बुझाउँछ । गएको १५ वर्षयता हेर्यौं भने शायद एनआरएन नभएको भए यति धेरै लगानी भित्रिने थिएन । साथै गएका नेपालीको आउने जाने पनि हुँदैनथ्यो । यस हिसाबले नेपालप्रतिको धारणा सुधार्न एनआरएन अभियानले ठूलो भूमिका निर्वाह गरेको छ । यही अभियानबाटै हामीले एनआरएनलाई नागरिकता दिनुपर्छ भन्यौं । सरकारले एउटा तहको नागरिकता दिने भयो । २०६४ सालमै परिचयपत्र दियो । त्यसपछि पासपोर्ट लिन पनि सहज भयो । नेपालभित्र यति धेरै एड्भोकेसी गर्यौं कि एनआरएन भन्ने हाम्रो इज्जत नै बन्यो ।
नेपालले एनआरएनलाई जे जति दियो, त्यो अनुसार एनआरएनले साँच्चिकै काम गर्यो त ?
८२ देशमा एनसीसी गठन भइसकेको छ । १५ वर्षसम्म हाम्रा साथीहरूले नेपाल आउने, जाने, विश्व घुम्ने–चिन्ने र नेपाललाई चिनाउने हिसाबमा जति योगदान गर्नुभएको छ, त्यति चाहिँ राज्यले आउने ५०० वर्षमा पनि गर्न सक्ने थिएन । अहिले विश्वका ठूलाठूला सबै देशमा ‘नेपाल फेस्टिभल’ हुने गरेका छन्, जहाँ लाखौं मानिसले भ्रमण गर्छन् । नेपालमा नाकाबन्दी हुँदा हामीले सबै देशमा रहेका भारतीय राजदूतावासमा ज्ञापनपत्र दियौं । यो भनेको राज्यले खर्च गरेर पनि नसक्ने कुरा हो । हामी तीज, दशैं, तिहार जस्ता चाड ती देशमा यति उत्साहका साथ मनाउँछौं कि नेपालमै चाहिँ त्यति महŒवका साथ नमनाए जस्तो लाग्छ । कतिपय देशहरूमा नेपाली स्कूल खुलेका छन् । चीनका स्कूलमा नेपाली पढाइ हुन्छ । सरकारले मेरो नेपाली भाषा पढाइदिनुस् भन्ने अवस्था त शायद थिएन । स–सानादेखि ठूल्ठूला काममा एनआरएनले लगानी गरेकै छ ।
एनआरएनले नै सबै लगानी गर्न सक्ने भन्ने हुँदैन र हुनु पनि हुँदैन । नेपालका उद्योगी, व्यवसायीको पूँजीको तुलनामा हामीसँग भएको पूँजी त एकदमै थोरै हो । तर तुलनात्मक रूपमा एनआरएनको पहिलो पुस्ता हामी जुन प्रेरणाका साथ आएर लगानी गरेका छौं, त्यसलाई म सानो परिमाण भन्दिनँ ।
एनआरएनको नेतृत्वमा बसेका केही मानिसले गर्दा यसको छवि बिगारे जस्तो तपाईंलाई लाग्दैन ?
यो अभियान आफैमा १६ वर्षको भयो । यसका आयामभित्र चिहाएर हेर्नुभयो भने जे भइरहेको छ, ठीक भइरहेको छ । तर अब चाहिँ सुधार गर्ने हो ।
एनआरएनको आलोचना हुने कुराहरूमा नेपाललाई खत्तम भन्ने एउटा समूह छ । दोस्रो, पछिल्लो सम्मेलनमा सहभागी हुन आउनेले विमानस्थलमा गरेको तोडफोड तथा सम्मेलनमा देखिएको भद्रगोल जस्ता कुराले जनमानसमा एनआरएनप्रति नकारात्मक सन्देश गएको छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
नेपालको विरोध गर्ने परिपाटीप्रति हाम्रो पनि एकदमै चित्त दुख्छ । विभिन्न देशमा बसेका तर दशौं वर्षदेखि नेपाल नआएकाहरूले सामाजिक सञ्जालमा तथानाम लेखेको भेटिन्छ । तर कुनै न कुनै चीजको अभावमा यहाँबाट हिँड्नुपरेको पीडा उनीहरूका नकारात्मक तथा प्रतिक्रियात्मक धारणामा व्यक्त भएको पाइन्छ । अमेरिकामा बस्ने अमेरिकीहरूभन्दा बाहिर बस्नेहरूले राष्ट्रपति ट्रम्पका सम्बन्धमा बढी नकारात्मक कुरा गरेको भेटिन्छ । विकासोन्मुख देशको कुरा गर्दा त नेता देखे पिटिदिने, कालो झन्डा देखाउने हुन्छ ।
एनआरएनको नेतृत्वमा पुगेकाहरूले दुबई, कतार जस्ता देशमा रहेका नेपालीलाई समेट्न नसकेको भन्ने कुरा आउँछन् । त्यस्तो असमानता छ ?
गुनासोका रूपमा त धेरै कुरा हुन सक्छन् । आप्mनै खर्चले धान्न नसक्दा कार्यक्रमहरूमा सहभागी हुन सकिँदैन । हालैको विश्व सम्मेलनमा पनि ८० लाखमध्येबाट झन्डै ३ हजार जना सहभागी भएका हुन् । धान्न नसक्नेका लागि एनआरएनले केही गरेन भन्ने भन्दा पनि सबैका लागि हुनेगरी गरेका कामलाई पनि केलाउँदा राम्रो हुन्छ । यही अभियानले नेपाल आउने बाटो खुला भएको छ । दुई पैसा यहाँ लगानी गर्ने अवसर बनेको छ । यसबाट यति ठूल्ठूला प्ल्याटफर्म बनेका छन् कि स–साना कुराहरूमा अल्झिरहनु हुँदैन भन्ने मलाई लाग्छ ।
एनआरएन अभियान अब कसरी अगाडि बढ्छ ?
२००३ मा बनेको आधारले एनआरएन यहाँसम्म आयो । अब हामी चौबाटोमा छौं । नेतृत्वका हिसाबले पुस्ता परिवर्तन भएको छ । समयसँगै अब पुराना विधान, ढाँचाले काम नगर्न सक्छन्, परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
एनआरएन सम्मेलनको अन्त्यतिर १५–१६ करोडको बचत भएको संस्थाको बजेट सबै सकिएर ऋणात्मकतातर्फ गएको कुरा आयो । पछिल्लो नेतृत्वले खासगरी बढी वित्तीय अनुशासनहीनता गरेको हो ?
भ्रष्टाचार गरेर खाने भन्ने खालका कोही पनि साथीहरू नेतृत्वमा हुनुहुन्न । चलिरहेका परियोजनालाई निर्धारित फन्डले चलाउँदै गर्ने र नयाँ फन्ड पनि बनाउँदै जाने भन्ने प्रक्रिया क्रमिक रूपमा गरिरहने भन्ने हामीकहाँ छ । तर गएको कार्यकालभित्र तीनओटा खर्चिला परियोजनाहरू भए, जसलाई निर्धारित बजेटले भ्याएन । त्यसैगरी गएको कार्यसमिति चलिरहेका परियोजनामै व्यस्त हुनाले फन्ड निर्माणमा खास काम गर्न भ्याएन भन्छु म । तर केही न केही कमी कमजोरी त भयो ।
जस्तो लाप्राक (भूकम्प पीडितका लागि बस्ती निर्माण परियोजना)बाट हात झिक्यो, होइन ?
हात झिकेको होइन, प्रतिबद्धता गरे अनुरूप नै ३ महीनाभित्र बस्ती हस्तान्तरण गर्ने कुरा नेतृत्वबाट आएको छ ।
एनआरएनएको संस्थापक अध्यक्ष जस्तो व्यक्तिले यसपालिको अधिवेशन नै बहिष्कार गर्नुभयो, यो अभियानमै छैन जस्तो कुरा गर्नुभयो नि ।
अधिवेशनको उद्घाटनको मञ्चमा हुनुपर्ने नदेखेपछि मैले उहाँलाई तुरुन्तै म्यासेज गरेँ । उहाँले ‘हामीलाई एनआरएनए चाहिन्छ, राजनीतिक दल वा तिनका भातृ संगठन होइन, त्यसैले मैले नआउने निर्णय गरेँ’ भन्ने म्यासेज पठाउनु भयो । उहाँ नआएर राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने एउटा सन्देश दिनुभयो । अर्को कुरा, आम एनआरएनले नबुझेको पनि हुन सक्छन् कि उहाँ संस्थापक अध्यक्ष भएको हिसाबले त्यसै पनि चिन्ता छ । त्यसैगरी गएको ५–६ वर्षदेखि उहाँ काठमाडौंमै बस्नु भएको छ । उहाँको वर्षको झन्डै ७० प्रतिशत समय काठमाडौंमै बित्छ । त्यस हिसाबले पनि उहाँले राजनीतिक हस्तक्षेपका कुरा अरूले भन्दा बढी बुझ्नु पनि भएको होला । तर नआउनु नै पनि त्यति ठीक थिएन भन्ने मलाई लाग्छ ।
हङकङमा अहिले किन आन्दोलन भइरहेको हो ? त्यसले त्यहाँ रहेका नेपालीलाई असर पार्छ कि पार्दैन ?
यो आन्दोलनमा हङकङका युवाको असन्तुष्टि प्रकट भएको छ । विश्वका असाध्यै बढी विकसित महानगरहरूमा केका लागि पढ्ने, केका लागि कमाउने भन्ने नै छैन । पहिलेदेखि नै सुविधा सम्पन्न व्यवस्था छ, काम पाइएन भने सरकारले बेरोजगार भत्ता दिन्छ । घर नभए घर पाइन्छ । तर अहिले जुन रूपमा आर्थिक, सामाजिक हिसाबले युवाहरू सुरक्षित हुनुपर्थ्यो, त्यो नभएको पो हो कि भन्ने कुराले युवाहरू झस्किएका छन् । त्यसैबाट उब्जिएको आन्दोलन हो । तर त्यसले नेपाली समुदायलाई ठाउँ छोडेर हिँड्नुपर्ने अवस्था निम्त्याउँदैन । किनकि नेपाली समुदाय अनुशासित र राजनीतिक रूपमा असाध्यै सचेत छ । त्यसमाथि त्यो आन्दोलनमा नेपालीको सहभागिता पनि हुँदैन । आन्दोलनले त्यहाँको अर्थतन्त्रलाई तल लैजान्छ । त्यसले व्यावसायिक अवसर पनि सृजना गर्न सक्छ । हाम्रो ध्यान त्यता केन्द्रित हुनुपर्छ ।
नेपालमै फर्किएर स्थापित हुने तपाईंको योजना छ कि छैन ?
घर, बच्चाहरू उतै भएको हिसाबले यतै स्थापित त नभइएला । तर पनि यहाँ गरेको लगानी तथा भावनात्मक सम्बन्धका कारण अबको अलि बढी समय नेपालमा बित्न सक्छ । अवकाशपछिको जीवनयापनको हिसाबले त नेपाल उत्तम ठाउँ हो ।
कृष्ण सरको अन्तर्रबार्रता पढ़े, संघर्ष दूख होईन, उज्वल भबिस्यकोलागी अपरिहार्य हो र रहेछ भन्ने कुरा बुझें । ब्यापारले नाफा र अवसर दूबै खोज्दो रहेछ, यो हामीहरुको लागी प्रेरणादायक छ । फ़ेरी फ़ेरी पनि यसरीनै पड़न बुज्न पाईयोस ।