ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृत्रिम जलाशय बनाउन रू. ५ करोड बजेट

Nov 4, 2019  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराही उपमहानगरपालिकाले एक वडा एक जलाशय निर्माण अभियानअन्तर्गत थप आधा दर्जन कृत्रिम जलाशय निर्माण गर्ने भएको छ । यसअघि उपमहानगरले विभिन्न आठ ओटा वडामा ११ ओटा कृत्रिम जलाशय निर्माण गरिसकेको छ । थप जलाशय निर्माणका लागि प्रदेश नं. ५ र उपमहानगरबाट कुल रू. ५ करोड बजेट विनियोजन भएको छ ।

जलाशयलाई बहुउपयोगी बनाउँदै आर्थिक समृद्धिको अपेक्षा गरेको घोराही उपमहानगरले थप जलाशयका लागि विभिन्न वडाहरूमा उपयुक्त ठाउँको खोजी गरिरहेको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । ‘विगतमा हामीले बनाएका कृत्रिम जलाशयबाट स्थानीय किसानहरूले सिँचाइ सुविधाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको महसूस गरेका छौं,’ उनले भने, ‘भवियमा जिल्लालाई खानेपानीको समस्याबाट टाढा राख्ने, सिँचाइ, पर्यटन एवं पर्यापर्यटनको विकासलगायत बहुउपयोगी बनाउने उद्देश्य छ ।’

चालू आर्थिक वर्षमा उपमहानगरले चारओटा जलाशय निर्माणका लागि डेढ करोड बजेट पनि विनियोजन गरेको छ । निर्माण भइसकेको रामपुर चेपे जलाशयको थप विकासका लागि रू. ८० लाख र पुराना जलाशयको विकासका लागि रू. १० लाख बजेट छुट्याएको छ । जलाशय निर्माणकै लागि प्रदेश नम्बर ५ ले करीब रू. ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
उपमहानगरले विनियोजन गरेको डेढ करोड बजेटबाट वडा नम्बर ४ को अमारेसोता, वडा नम्बर १७ को कर्जाही, वडा नम्बर १२ को हापुर र वडा नम्बर ४ को रोइनीमा जलाशय निर्माण गर्ने योजना छ । त्यस्तै बाँकी प्रदेश सरकारले विनियोजना गरेको बजेटले कहाँ र कति जलाशय निर्माण गर्ने भनेर सम्भावित स्थानको खोजी भइरहेको उपमहानगरले बताएको छ ।

निर्माण भएका जलाशयबाट त्यहाँका किसानहरूले बेमौसमी तरकारी खेती, माछा पालन, नगदे बालीमा सिँचाइ सुविधा पाउने र उनीहरूले राम्रो आम्दानी गरिरहेको मेयर चौधरीको भनाइ छ । त्यस्तै जलाशय हेर्नलायक भएकाले आन्तरिक पर्यटन विकासमा समेत टेवा पुगेको उनले बताए । उपमहानगरपालिकाले यसअघिका ११ ओटा जलाशयमा रू. ४ करोड २५ लाख ३२ हजार लगानी गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)