रौतहट । रौतहटका विभिन्न स्थानमा सञ्चालित सख्खर उद्योगलाई किसानले कम मूल्यमा उखु विक्री गर्न थालेका छन् । जिल्लामा रहेका श्रीराम सुगर मिल्स र बाबा बैजुनाथ सुगर मिल्स समयमै सञ्चालन हुन नसकेपछि किसानले सख्खर उद्योगलाई उखु विक्री गरेका हुन् ।
किसानले प्रतिक्विन्टल उखु २५० देखि ३०० रुपैयाँसम्ममा सख्खर उद्योगलाई विक्री गरेका छन् । सख्खर उद्योगबाट समयमा नै भुक्तानी पाइने आशमा कम मूल्यमा नै भए पनि उखु विक्री गरेको किसानको भनाइ छ । गढीमाई नगरपालिका–४, सुन्दरपुरमा रहेका अधिकांश सख्खर उद्योगले उखु क्रसिङ गर्न थालेका छन् । चाडपर्वको समयमा सख्खरको माग बढी हुने र यसबाट नै परिकार बनाइने भएकाले यसको मूल्य पनि बढेको छ ।
अहिले सख्खरको मूल्य प्रतिक्विन्टल रू. ५ हजारका दरले विक्री भइरहेको उद्योगका सञ्चालकहरू बताउँछन् । १० क्विन्टल उखुबाट १ क्विन्टल सख्खर तयार हुने गरे पनि सख्खरको मूल्यको तुलनामा उखुको मूल्य निकै कम भएको किसानको गुनासो छ । चिनी मिल सञ्चालन नहुँदा बाध्यताले सख्खर उद्योगलाई उखु विक्री गर्नुपरेको उखु किसान संघ, रौतहटका सचिव सफीन्द्रप्रसाद यादवले बताए ।
गहुँ, दलहन, तेलहन लगायतका बाली लगाउन मुख्य समय भएकोले उत्पादन भएको उखुलाई सख्खर उद्योगमा विक्री गर्न थालेको किसानको भनाइ छ । गढीमाई नगरपालिका–४ का किसान नरेन्द्र ठाकुरले ३ बिघामा लगाएको खुटी उखु सख्खर उद्योगमा विक्री गरिसकेका छन् । श्रीराम सुगर मिलले गत वर्ष नै विक्री गरेको उखुको भुक्तानी अहिलेसम्म नदिएको उनले बताए ।
संघका अनुसार श्रीराम सुगर मिल गरुडाले उखु खरीदबापत किसानलाई ४४ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७१÷७२ को १२ करोड र २०७५÷७६ को ३२ करोड रुपैयाँ उखुको भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद राय यादवले बताए । भुक्तानीका विषयमा पटक—पटक छलफल र वार्ता भए पनि मिल प्रशासनले बेवास्ता गर्दै आएको उनले जानकारी दिए ।
अब पनि चिनी मिलले भुक्तानी प्रक्रिया अघि नबढाएमा संघर्षका कार्यक्रम गर्ने उखु उत्पादक संघ रौतहटले चेतावनी दिएको छ । श्रीराम सुगर मिलले विभिन्न कारणले उखुको भुक्तानी गर्न नसकेको अब चाँडै नै गर्ने बताएको छ ।